शुक्रबार, वैशाख १४, २०८१
20:02 | ००:४७

क्षेत्री समाज बेलायतद्वारा तीनवटा अक्सिजन कन्सन्ट्रेटर किन्न सहयोग

नेपाली लिङ्क मे १७, २०२१

लन्डन– पछिल्लो समय कोरोना महामारीबाट नराम्रोसंग प्रभावित नेपाललाई क्षेत्री समाज यूकेले पनि सहयोग गर्ने भएको छ । समाजका अध्यक्ष यज्ञ क्षेत्रीको अध्यक्षतामा आइतबार साँझ बसेको आपतकालीन बैठकले सो निर्णय गरेको हो ।

प्रमुख संरक्षक, निवर्तमान अध्यक्ष, कार्यसमिति सदस्य तथा सल्लाहकारलगायतको उपस्थिति रहेको उक्त भर्चुअल बैठकले तत्कालका लागि करिब तीन लाख ५० हजार रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।

उक्त रकम एनआरएनए यूके र नेपाली दूतावास लण्डनसंग सहकार्य गरेर अक्सिजन कन्सन्ट्रेटर मेशिन खरिद गर्न प्रयोग गरिनेछ । एकदेखि दुई हप्ताभित्र सहयोग सामग्री नेपाल पठाउनुपर्ने बैठकका सहभागीले सुझाएका थिए ।

सो रकम सोमबार नै एनआरएनए यूकेलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष यज्ञ क्षेत्रीले जानकारी दिए ।

एनआरएनए यूकेले शनिबार लन्डनस्थित नेपाली राजदूत लोकदर्शन रेग्मी समेतको रोहबरमा भएको आपतकालिन बैठकमा कम्तीमा एक सय थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने घोषणा गरेको थियो ।

उक्त बैठकमा बरिष्ठ समाजसेवी एवम् क्षेत्री समाज यूकेका प्रमुख संरक्षक ध्रुब केसीले समाजको तर्फबाट एक थान अक्सिजन कन्सन्ट्रेटर मेशिन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

तर, समाजको बैठकले थप दुई थान अक्सिजन कन्सन्ट्रेटर मेसिन थपेर कम्तिमा तीन थानसम्म सहयोग गर्ने निर्णय गरेको थियो । हालको बजार मूल्य अनुसार एक थान अक्सिजन कन्सन्ट्रेटर मेसिनको कम्तीमा ७ सय पाउण्ड पर्ने बताइएको छ ।

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण विशेषगरी स्वास्थ्य क्षेत्र निकै प्रभावित बनेको छ । हाल देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको छ भने कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार नाघेको छ ।

अक्सिजनको अभावमा उपचार पाउन नसकेका कारण विभिन्न मुलुकमा बस्ने नेपालीहरुले उल्लेखनीय सहयोग पुरयाउंदै आएको छ । यसको समन्वयका लागि गैरआवासीय नेपाली संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू