मंगलबार, चैत ६, २०८०
03:17 | ०९:०२

बेलायतमा लकडाउन खुल्दा नेपाली व्यवसायी उत्साहित, तर छैनन् ढुक्क

नेपाली लिङ्क मे १७, २०२१

लन्डन । लामो समयसम्म टेकअवे सर्भिसमा सिमित रहेका नेपाली रेष्टुरेन्ट व्यवसायीहरु सरकारको नयां नियमसंगै आशावादी र उत्साहित भएका छन् । अब रेष्टुरेन्ट व्यवसायले गति लिने आशामा छन् नेपाली व्यवसायी ।

सरकारले आज १७ मेदेखि तेश्रो चरणमा लकडाउन खुकुलो गर्दै रेष्टुरेन्ट, बार र पबमा इन्डोर (भित्रै बसेर खान पाइने) सर्भिसमा अनुमति दिएको छ ।

लन्डन नर्थ ह्यारोस्थित सरस रेष्टुरेन्टकी 
सञ्चालिका सरस्वती केसी लामो समयपछि 
ग्राहकलाई स्वागत गर्न आतुर छिन् ।

बिगत लामो समयदेखि टेकअवेमा मात्र सिमित रहेका कारण लकडाउन खुल्ने दिनको व्यग्र प्रतीक्षामा रहेको बताउंदै उनी भन्छिन्- ‘पहिला पनि लकडाउन खुलेपछि तत्कालै महामारी फैलिएर बन्द गर्नुपर्ने स्थिति आयो । यसपाली पनि इन्डियन भेरिएन्टको हल्ला छ, ढुक्क हुने अवस्था त छैन् तर पनि इन्डोर सेवा सञ्चालन गर्न पाएकोमा खुशी छौं ।’

पहिलो दिन नै सानो पार्टी समेत बुक भएको उनले बताइन् ।

लन्डन क्रिस्टल प्यालेसस्थित याक एण्ड यति रेष्टुरेन्ट पनि महिनौँको लकडाउनपछि आफ्ना ग्राहकहरुलाई स्वागत गर्न उत्साहित छ ।

रेष्टुरेन्टका डाइरेक्टर एवम् एनआरएनए आइसीसी मानार्थ परिषद सदस्य विनोद ज्ञवाली भन्छन्, ‘अहिलेसम्म टेकवे सेवा मात्रै दियौँ । वर्षौंदेखिका रेगुलर ग्राहकहरु पनि रेष्टुरेन्टमै बसेर खानको लागि आतुर छन् । कतिपयले टेलिफोन गरी बुकिङ समेत गरिसकेका छन् ।’

लकडाउनमा सहजतासंगै रेष्टुरेन्ट सुचारु हुन लागेपनि अतिरिक्त सुरक्षा सतर्कता भने अपनाइएको ज्ञवाली बताउंछन् । ‘सामाजिक दूरी कायम गर्नका लागि २५ प्रतिशत टेबल हटाएका छौं । ‘टप टेबल क्लथ’ नराख्ने, मास्क लगाएरै ग्राहकलाई सर्भ गर्ने, टेबलमा बस्दाको समयबाहेक ग्राहकले  पनि मास्क लगाउनुपर्ने, सबै ग्राहकलाई एनएचएसको ट्र्याक एन्ड ट्र्यास एपमा स्क्यान गर्नुपर्ने जस्ता सबै सतर्कता अपनाइनेछ’ उनले भने ।  

लामो लकडाउनका बेला रेष्टुरेन्टमा बसेर खान नपाएका ग्राहकहरु रेष्टुरेन्ट खुलेपछि ‘सिट इन’ मा आउन लालायित हुनेछन् भन्ने ज्ञवालीको आँकलन छ । ‘अझै पनि महामारी नियन्त्रणमा आउन बांकी छ, इन्डियन भेरियन्ट्को जोखिम बेलायतमै पनि बढेको छ’, उनी भन्छन्, ‘बिजनेसमा आशावादी छौं तर निश्चिन्त हुन सकिने अवस्था छैन ।’

बेलायतको डोरसेटस्थित नेपाली व्यवस्थापनको एसियन रेष्टुरेन्ट ‘द २९०२९’ का संचालक उत्सव विष्ट, खीमलाल खरेल र माधव पोखरेल पनि ग्राहकको स्वागतका लागि पूर्ण रुपमा तयार छन् । लामो समयपछि थन्क्याएर राखेका टेबल कुर्सीहरू तयारी अवस्थामा राखेर उनीहरु पनि ग्राहकको स्वागतमा प्रतिक्षारत  छन्  ।

एभरेस्ट इनका संचालक यादव भण्डारी आफूहरु उच्च सुरक्षा मापदण्डसहित पूर्ण तयारीमा रहेको बताउँछन् । सरकारको निर्देशिका अनुसार, हरेक टेबलबीच सामाजिक दुरी, सिमित बुकिङ, विभिन्न ठाउँमा स्यानिटाइजिङ स्टेशन, एनएचएस ट्र्याक एन्ड ट्रेस, ‘वान टच’ मेनु निर्धारण गरिएको भण्डारीले बताए ।

 

उता, लन्डन रइसलिपस्थित गोर्खाज प्राइड नेपलिज एण्ड इण्डियन रेष्टुरेन्टका निर्देशक जनक रोका ‘इन्डोर’ खुले पनि त्यति उत्साहित छैनन् । सरकारको सामाजिक दुरी र अन्य नियम धेरै झन्झटिलो भएकाले लकडाउन पूर्ण नखोलेसम्म ब्यापार सोचेजस्तो नहुने उनको बुझाइ छ ।

अहिले ७० प्रतिशत ब्यापार टेकअवेबाट भएको बताउँदै उनले आफूहरु टेकअवे र होम डेलिभरीमै केन्द्रित हुने जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू