शुक्रबार, चैत १६, २०८०
06:14 | ११:५९

बेलायती अर्थमन्त्रीमार्फत् नेपाललाई सहायता जुटाउन काउन्सिलर डा शर्माको पहल

नेपाली लिङ्क मे १६, २०२१

फाइल तस्विर: अर्थमन्त्री ऋषि सुनाकसंगै काउन्सिलर डा जगन्नाथ शर्मा

लन्डन । कोभिड महामारीको दोस्रो लहरबाट संकटग्रस्त बनेको नेपालका लागि बेलायती सहयोग जुटाउन यहाँस्थित विभिन्न नेपाली संस्था र अभियन्ताहरुले पहल शुरु गरेका छन् ।  

बेलायतको नर्थ योर्कशायरस्थित कोलबर्न टाउन काउन्सिलका पूर्व मेयर एवम् काउन्सिलर डा जगन्नाथ शर्माले पनि बेलायती मन्त्री, सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुसमक्ष सहयोगको पहल गरिदिन याचना गरेका छन् ।  

काउन्सिलर डा शर्माले बेलायत सरकारका अर्थमन्त्री ऋषि सुनाक समेतलाई नेपालको वर्तमान अवस्थाबारे अवगत गराउँदै बेलायत सरकारबाट तत्काल आपतकालिन सहायता प्रबन्ध गरिदिन अपिल गरेका छन् ।  

मन्त्री सुनाकसंगै योर्कशायर क्षेत्रको प्रतिनिधित्व गर्ने अन्य दुई सांसद र स्थानीय सबै मेयर तथा काउन्सिलरहरुलाई एक पत्र पठाएर डा शर्माले नेपालमा मानवीय सहयोग अत्यावश्यक बनेकोतर्फ ध्यानाकर्षण गराएका छन् ।  

बेलायत र नेपालबीच रहंदै आएको २ सय वर्ष बढीको कूटनीतिक सम्बन्ध र बेलायती सेनामा कार्यरत गोर्खाहरुको माध्यमबाट बनेको दुई देशबीचको असाधारण मैत्री सम्बन्धको स्मरण गराउँदै उनले नेपाल अहिले सांच्चिकै सहयोगको आवश्यकतामा रहेको उल्लेख गरेका छन् ।   

केही वर्षअघि महाभूकम्पका बेला बेलायतले उद्धार तथा राहतको लागि गोर्खा सैनिकहरुलाई नेपाल पठाएको प्रसंग जोड्दै काउन्सिलर डा शर्माले कोरोना महामारीका कारण सिर्जित स्वास्थ्य संकटसँग जुध्नका लागि पनि बेलायतले गोर्खाहरुलाई पठाएर आपतकालिन अस्पताल निर्माणमा खटाउन सक्ने सुझाव दिएका छन् ।  

अहिले बेलायती राजनीतिमा प्रभावशालीमध्येका एक मानिने अर्थमन्त्री ऋषि सुनाकको माध्यमबाट बेलायत सरकारको सहायता जुटाउने आफ्नो पहल सार्थक बन्नेमा काउन्सिलर डा शर्मा आशावादी छन् ।  

‘मेरो आफ्नै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद मात्र नभएर उहाँ मेरै पार्टीको नेता पनि भएकाले हामीबीच पहिलेदेखि नै सम्पर्क भइरहन्थ्यो’, मन्त्री ऋषि सुनाकबाट सकारात्मक जवाफको प्रतिक्षारत काउन्सिलर शर्मा भन्छन्, ‘अफ्टेरो परेको बेला हाम्रो मातृभूमिको सहयोगका लागि अपिल गरेको छु । सकारात्मक रेस्पोन्सको आशा छ ।’

डा शर्माले आफ्नो अपिल पत्र पाउने एक सांसद र स्थानीय जनप्रतिनिधिहरुले भने सकारात्मक जवाफ पठाइसकेको जानकारी दिए । ‘सरकारी सहायताको प्रबन्ध गर्न उहाँहरुले भूमिका खेल्ने वचन दिइसक्नुभएको छ । अब हाम्रो कोशिश् सक्दो चाँडो यहाँको सरकारी स्तरबाटै हाम्रो अपिलको सम्बोधन गराउनेतर्फ हुनेछ’, उनले भने ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू