मंगलबार, चैत ६, २०८०
03:33 | ०९:१८

ब्रिटिश सहयोगका लागि एनआरएनए सल्लाहकार आचार्यले बुझाए सांसदलाई ज्ञापन

नेपाली लिङ्क मे १५, २०२१

लन्डन । नेपालमा कोरोना भाइरसका कारण स्वास्थ्य संकट बढिरहंदा बेलायती सहयोगका लागि संस्थागत तथा व्यक्तिगत पहल जारी छन् ।

यसैक्रममा एनआरएनएका केन्द्रिय  सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले नेपालबारे बेलायतको सर्वदलीय संसदीय समिति (एपीपीजी अन नेपाल) का अध्यक्ष सांसद वीरेन्द्र शर्मालाई एक ज्ञापनपत्र बुझाउंदै ब्रिटिश सहयोगका लागि यस मुद्दालाई समितिमार्फत संसदमा राखिदिन अनुरोध गरेका छन् ।

शनिबार बिहान एकपत्र हस्तान्तरण गर्दै व्यवसायी तथा समाजसेवी आचार्यले नेपाल अहिले ज्यादै संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको, अस्पताल शैयया, अक्सिजन, भेन्टिलेटर, परीक्षण किट जस्ता सामग्रीको  चरम अभाव भएको एवं लाखौं जनताले खोपको पहिलो मात्रा समेत लगाउन नपाएको स्मरण गराए 

नेपालको अवस्था अहिले ज्यादै जटिल भएको उल्लेख गर्दै पत्रमा नेपालले अन्तर्राष्ट्रिय समुदायसंग सहयोगका लागि अपिल गरिरहेको अवगत गराइएको छ । तीन करोड जनसंख्या भएको गरिब मुलुकमा दैनिक  मृत्युदर २०० बढी र हालसम्म संक्रमित संख्या ४ लाख तीस हजार नाघिसकेको पनि पत्रमा उल्लेख छ ।

पत्रमा उनले भारतमा कोभिड १९ का केसहरु अप्रत्यासितरुपमा बढेको र खुल्ला सीमा भएका कारण नेपालपनि त्यसबाट नराम्ररी प्रभावित भएको स्मरण गराउंदै नेपाल सरकारले ‘इण्डियन बबल’ बाहेक हाल सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाएको बताएका छन् । संक्रामक र खतरनाक मानिएको इण्डियन भेरियन्टका भारत र नेपाललाई बेलायतले ‘रेड लिष्ट’ मा राखी यात्रा प्रतिवन्ध गरिसकेको पनि पत्रमा उल्लेख छ । 

भारत र नेपालमा स्वास्थ्य संकट खेपिरहंदा ब्रिटिश सरकारले भारतलाई यसअघि नै अत्यावश्यक औषधि, खोप र स्वास्थ्य सामग्री सहयोग स्वरुप पठाइसकेको छ ।

पत्र बुझे पछि बोल्दै वरिष्ठ ब्रिटिश संसद वीरेन्द्र शर्माले नेपाल र ब्रिटेनबीच रहेको मित्रता विश्वमै सबैभन्दा लामो समय देखि जारी मित्रता भएको बताए।  उनले कोभिड १९ कुनै स्थानीय समस्यामात्र नभएर एउटा विश्वव्यापी समस्या भएको बताए ।  उनले ब्रिटिश सरकारले आफ्नो पुरानो र भर पर्दो मित्रलाई सघाउनु पर्छ भन्दै यो विषय ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसन तथा ब्रिटिश सरकारसमक्ष उठाउने वाचा पनि गरे ।   

एनआरएनएका केन्द्रिय सल्लाहकार आचार्यले ब्रिटिश अर्थमंत्री ऋषि सुनकलाई पनि एक छुट्टै पत्र पठाउंदै कोभिड -१९ संग जुध्न नेपाल र नेपाली जनतालाई सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू