शनिबार, वैशाख १५, २०८१
04:13 | ०८:५८

बेलायती सहयोग जुटाउन लागे अभियन्ता श्रेष्ठ

नेपाली लिङ्क मे १५, २०२१

लन्डन । नेपालमा बढ्दै गएको कोरोना महामारीविरुद्धको लडाईंमा बेलायतका नेपाली र संघसंस्था एकजुट भएका छन् । यहांबाट अत्यावश्यक सहयोग नेपाल पठाउन बेलायत सरकारसमक्ष अनुरोध जारी छ ।

लन्डनस्थित दूतावासमात्र होइन्, नेपाली संघसंस्था र व्यक्तिगत तवरले पनि मेडिकल सामग्री व्यवस्थाका लागि क्रियाशील छन् । यसै सिलसिलामा बेलायतस्थित बेजिङस्टक मल्टिकल्चरल फोरमका अध्यक्ष शिवजी श्रेष्ठले सो संस्था मार्फत मेडिकल सामग्री पठाउन पहल गरेका छन् । २७ देशका सांस्कृतिक समुदाय समेटिएको उक्त संस्थाले ५ वर्ष अघि नेपालमा भूकम्प आएको बेला पनि सहयोग गरेको थियो ।

अभियन्ता श्रेष्ठले सत्तारुढ पार्टीका सांसद पूर्वमन्त्री एवं बेलायती संसदका महिला तथा समानता छनौट समिति सभापति मारिया मिलरलाई एक पत्र लेख्दै नेपालमा बढ्दो विकराल स्थितिमा बेलायत सरकारका तर्फबाट हुन सक्ने मेडिकल सामग्री सहयोगका लागि पहल गरिदिन अनुरोध गरेका छन् । उक्त पत्रको तत्कालै जवाफ पठाउंदै मारियाले आगामी शुक्रबार मिटिङका लागि निम्तो दिएको श्रेष्ठले बताए ।

सांसद मारिया मिलर अध्यक्ष रहेको रिफरेन्स समितिमा सांसदद्वारा मनोनित सदस्य श्रेष्ठले सोही समितिमा सदस्य रहेका ह्याम्पसायर हस्पिटल फाउन्डेसन् ट्रष्टका सीइओसंग पनि यस बारेमा पनि आफ्ना कुरा राखेका छन् ।

त्यसैगरी श्रेष्ठको अनुरोधमा श्रेष्ठ सम्वद्ध बेलायतको प्रतिपक्षी लेबोर पार्टीका स्थानीय काउन्सिल लिडर एन्डी म्याकोर्मिकले काउन्सिल र पार्टी सदस्यहरुलाई पनि नेपालमा बढ्दै गएको कोरोना पीडित बिरामीलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर जस्ता सामाग्री सहयोगका लागि पहल गरेका छन् ।

आफ्नो पहलको सकारात्मक प्रतिक्रियाबाट उत्साहित र आशावादी रहेको श्रेष्ठले बताए । उनले संसारभर रहेका नेपालीहरुले आफू रहेको देशका सरकार र अन्य सहयोगी संस्थालाई आफ्नो सम्बन्ध सदुपयोग गर्दै नेपालमा मेडिकल सामग्री पठाउने कार्यमा लागिपर्न पनि अनुरोध समेत गरेका छन् ।

विशेष गरी बेलायती सांसदहरु मार्फत बेलायत सरकारलाई ध्यानाकर्षण गराउन सके त्यसले सकारात्मक परिणाम ल्याउन सक्ने उनले बताए ।

श्रेष्ठले यस अघि पनि आफ्नो जन्मथलो ओखलढुंगा जिल्ला अस्पतालमा भक्त श्रेष्ठसंग मिलेर अक्सिजन कन्सन्ट्रेटर मेसिन पठाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू