मंगलबार, चैत ६, २०८०
10:45 | १६:३०

बेलायतमा इन्डियन भेरिएन्टले चारको मृत्यु, लकडाउन रोडम्याप प्रभावित हुन सक्ने 

नेपाली लिङ्क मे १४, २०२१


लन्डन । बेलायतमा लामो समयदेखि जारी लकडाउन खुल्न दुई दिन मात्र बाँकी रहंदा पछिल्लो समय निकै खतरनाक सावित भएको इन्डियन कोभिड भेरिएन्टका कारण ४ जनाको मृत्यु भएको छ ।

यो निकै खतरनाक र तीव्र गतिमा फैलिने भएकाले आगामी जुन २१ बाट पूर्ण रुपमा खोल्न लागिएको लकडाउन रोडम्यापमा असर पर्न सक्ने भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले चेतावनी समेत दिएका छन् ।

खोपले इन्डियन भेरिएन्बाट सुरक्षित हुने कुनै प्रमाण नदेखिएकाले यो निकै जटिल समस्या हुने जोन्सनले बताएका छन् ।

यसैबीच, पछिल्लो २४ घन्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६६८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार १९३ जनामा संक्रमण पुष्टि भएको छ । नयाँसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ४६ हजार ८२४ पुगेको छ ।

५ करोड ५४ लाख बढी डोज खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ५४ लाख ३४ हजार ९६५ डोज खोप वितरण भएको छ ।

जसमध्ये ३ करोड ६१ लाख १५ हजार ९५५ जनाले पहिलो र एक करोड ९३ लाख १९ हजार १० जनाले दोस्रो डोज लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू