बिहीबार, वैशाख १३, २०८१
23:27 | ०४:१२

बेलायतबाट सहयोग पठाउन जुटे दूतावाससहित विभिन्न संघसंस्था

नेपाली लिङ्क मे १४, २०२१

लन्डन । नेपालमा कोरोना भाइरसको दोश्रो लहरले विकराल रुप लिइरहंदा बेलायत र स्वीस सरकार नेपाललाई सहायता पठाउन अन्तिम गृहकार्य गरिरहेको सम्बन्धित देशका राजदूतले जानकारी दिएका छन् ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाल सरकारको निर्देशनअनुसार खोपसहितका अन्य अत्यावश्यक सहयोगका लागि बेलायत सरकारसंग सहयोग माग गरिएको जानकारी दिए ।

‘नेपाल र ब्रिटेनको ऐतिहासिक सम्बन्ध, गोर्खाहरुको योगदान जस्ता विशिष्ट योगदानहरुको आधारमा बेलायतसमक्ष विशेष सहयोग माग गरिएको छ’ उनले भने, ‘हाम्रो आग्रहमा बेलायतको उच्च सरकारी तहबाट सकारात्मक ‘रेस्पोन्स’ प्राप्त भएको छ, हामी छिट्टै सहायता जानेमा विश्वस्त छौं ।’

दूतावासले विशेष गरि अक्सिजन कन्सन्ट्रेटर मेसिन लगायत स्वास्थ्य सामग्रीमा सहयोग गरिदिन अनुरोध गरेको छ ।

स्वीस सहयोग एक साताभित्र 

स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणी भट्टराईले स्वीस सरकारले एक साताभित्र स्वास्थ्य सामग्री पठाउने तयारी गरेको जनाए ।

मंगलबार विदेश मामिला सम्बन्धी संघीय विभाग (एफडिएफए स्वीट्जरल्याण्ड) को एसिया प्यासिफिक डिभिजनका प्रमुखसंगको भेटमा सो प्रतिवद्धता आएको उनले जानकारी दिए ।

राजदूत भट्टराईले काठमाडौंस्थित स्वीस दूतावासले स्वीस मेडिकल सामग्री पारवहनका लागि नेपालको परराष्ट्र मन्त्रालयका युरोप अमेरिका डिभिजनसंग समन्वय गरिरहेको पनि बताएका छन् ।

उनले विश्व स्वास्थ्य संगठन र जेनेभास्थित अन्तर्राष्ट्रिय रेडक्रस महासंघसंग पनि अत्यावश्यक मेडिकल सप्लाइजका लागि पहल भइरहेको बताए ।

संघसंस्थाको पहल जारी 

लन्डन बरो अफ बार्नेटका उपमेयर काउन्सिलर लक्ष्य गुरुङले आफ्नो क्षेत्रका सांसद डा. म्याथ्यू अफोर्डलाई एक पत्र लेख्दै ब्रिटिश सरकारसंग सहयोगका लागि पहल गरिदिन आग्रह गरेपछि सोको गृहकार्य भइरहेको जवाफ पाएको बताए ।

एनआरएनए यूकेले बुधबार सांझ लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूकेको संरक्षक परिषद र बेलायतका विभिन्न स्थानीय तहमा निर्वाचित नेपाली मुलका मेयर, उपमेयर, काउन्सिलरसहितका प्रतिनिधिहरुबीच छलफल गरि सहायता पठाउन पहल शुरु गरेको छ ।

यसअघि कोभिड–१९ विरुद्ध नेपालको लडाईंमा युरोपेली संघ (ईयू) ले २० लाख युरो बराबरको मानवीय सहायता दिने प्रतिवद्धता व्यक्त गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू