शुक्रबार, वैशाख ७, २०८१
16:08 | २०:५३

सभापतिको अनुपस्थितिमा अधिवेशन तोकिएपछि बेलायत कांग्रेसभित्र कलह

नेपाली लिङ्क मे १४, २०२१

लन्डन । सभापति नेपालमा कोभिडसंग लडिरहंदा यता अधिवेशन तोकिएपछि नेपाली जनसम्पर्क समिति बेलायतभित्र आन्तरिक कलह चुलिएको छ ।

समितिका सभापति युवराज गुरुङले आफू कोरोना संक्रमणका कारण नेपालमा आइसोलेसन बसेका बेला बेलायतमा कार्यवाहक सभापति महेशकुमार दाहाल समूहले आगामी जुलाईमा अधिवेशन गर्ने घोषणा गरेको भन्दै आपत्ति जनाएका छन् ।

आफू नेपालमै भएका बेला जुलाई १७ तारिख शनिबार अधिवेशन गर्ने निर्णय गरिनु षड्यन्त्रपूर्ण र विधान विपरित भएको दावी सभापति गुरुङको छ ।

उनले उक्त निर्णय मान्य नभएको बताउंदै नेपाली कांग्रेसले क्रियाशिल सदस्यता वितरण गर्न मात्र अधिकार दिएको तर अधिवेशनको मिति पछि पार्टीले तोके बमोजिम हुने जनाए ।

नेपाली जनसम्पर्क समिति बेलायतका उपसभापति युवराज सिंहले सभापति नेपालमा बिरामी भएर अनुपस्थित भएको मौकामा अधिवेशन तोकिनु बिडम्बना भएको बताउंदै यसले समितिभित्र विवाद उत्पन्न गरेको जनाए ।

सिंहले यस्तो मनोमानी ढंगले निर्णय गर्दा संगठनको गरिमा खस्कने उल्लेख गर्दै ति कुनै पनि निर्णय वैधानिक नभएको जिकिर गरे । उपसभापति सिंहले आफ्ना सभापति गुरुङ र उनको परिवारको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

कार्यवाहक सभापति महेशकुमार दाहालले भने प्रजातान्त्रिक अभ्यास अन्तर्गत नै निर्णय भएको तर सभापति गुरुङले असहमति जनाएपछि अधिवेशनबारे पछि टुंगो लगाइने बताए । 

उता, पूर्व सभापति बिनोद मोक्तानले कार्यवहाक सभापति दाहाल समूहले क्रियाशिल सदस्यता छानवीन समितिको संयोजक बस्न गरेको आग्रह अस्वीकार गरेको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू