शनिबार, वैशाख ८, २०८१
15:13 | १९:५८

साउथ वेष्ट इंग्ल्याण्डमा चलाइंदै एनआरएनए सदस्यता अभियान

नेपाली लिङ्क मे १३, २०२१

लन्डन । इंग्ल्याण्डको साउथ वेष्ट क्षेत्रमा बस्ने नेपालीहरुले गैरआवासीय नेपाली अभियानमा सक्रियता बढाउने लक्ष्यसहित सदस्यता अभियान शुरु गरेका छन् ।  

प्लेमाउथ, एक्जिटर, ब्रिस्टोलसहितका शहर र आसपासका नेपालीहरुको लागि एनआरएनए यूकेको सदस्यता दिलाउन स्थानीय स्तरमा अभियान नै चलाइएको छ ।  

साउथ वेष्ट नेपाली समाजका अध्यक्ष दीपक ढकाल र वरिष्ठ उपाध्यक्ष किसन जिसी लगायतका अगुवाहरुको विशेष सक्रियतामा एनआरएनए सदस्यता अभियान शुरु भएको समाजका प्रवक्ता समेत रहेका एनआरएनए इंग्ल्याण्ड परिषद सदस्य राजु बोहोराले जानकारी दिए ।  

साउथ वेष्ट क्षेत्रबाट एनआरएनए यूकेमा यस वर्ष ५ सय जना सदस्य बनाउने लक्ष्य राखिएको बोहोराले जनाए ।  

सदस्यता अभियानमा स्थानीय नेपालीहरुलाई प्रोत्साहन गरिरहेको र आवश्यकताअनुसार अनलाइन फारम भर्न समेत सहयोग उपलब्ध गराइएको साउथ वेष्ट नेपाली समाज अध्यक्ष दीपक ढकालले बताए ।  

‘विगतका वर्षहरुमा यस क्षेत्रबाट गैरआवासीय नेपाली संघमा हाम्रो उपस्थिति शून्यजस्तै रह्यो । नेपालबाहिर बस्ने सबै नेपालीहरुको साझा संस्थामा यसपटक हाम्रो पनि सहभागिता जनाउने कोशिश गर्दैछौँ’, अध्यक्ष ढकालले भने ।  

अहिलेलाई सदस्यता अभियानमै केन्द्रित रहेको जनाउँदै उनले आसन्न निर्वाचनमा साउथ वेष्ट क्षेत्रको प्रतिनिधित्व गर्दै उम्मेद्वारी दिने सम्बन्धमा पनि आफूहरुबीच छलफल चलिरहेको सुनाए ।  

साउथ वेष्ट इंग्ल्याण्डमा झन्डै तीन हजार नेपालीको बसोबास रहेको स्थानीय नेपालीहरु बताउंछन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू