मंगलबार, चैत ६, २०८०
06:09 | ११:५४

यूकेबाट नेपाललाई सहयोग जुटाउने पहलमा एनआरएनए यूके, दूतावास र काउन्सिलरहरु

नेपाली लिङ्क मे १३, २०२१

लन्डन । कोभिड महामारीको दोस्रो छालबाट अति प्रभावित नेपालका लागि सहयोग जुटाउन एनआरएनए यूकेले आफ्नो पहल अघि बढाएको छ ।  

संघको तर्फबाट सहयोग अभियानको संयोजन गर्ने जिम्मा पाएलगत्तै अध्यक्ष पुनम गुरुङले सरोकारवालाहरुसँगको छलफल अघि बढाएकी हुन् ।  

बुधबार साँझ एनआरएनए यूकेकै संयोजनमा लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूकेको संरक्षक परिषद र बेलायतका विभिन्न स्थानीय तहमा निर्वाचित नेपाली मुलका मेयर, उपमेयर, काउन्सिलरसहितका प्रतिनिधिहरुबीच छलफल भएको छ ।  

त्यसअवसरमा नेपालमा कोरोना संक्रमण तीव्र बन्दै गर्दा देखिएको त्रासदीपूर्ण अवस्थामा बेलायतको नेपाली समुदायबाट के कस्तो सहयोग पुर्याउन सकिन्छ भन्नेबारे  व्यापक छलफल भएको एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए ।

छलफलमा एनआरएनए यूके, लन्डनस्थित नेपाली दूतावास, बेलायतको स्थानीय तहमा निर्वाचित नेपाली मुलका जनप्रतिनिधि र बेलायतस्थित सबै सामाजिक संघसंस्था समेतको समन्वयमा नेपालका लागि यथासक्य सहयोगको पहल अघि बढाउने सहमति गरिएको छ ।  

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपालि राजदूत  लोकदर्शन रेग्मीले नेपाल सरकारको निर्देशनअनुसार खोपसहितका अन्य अत्यावश्यक सहयोगका लागि बेलायत सरकारसँग सहयोग माग गरिएको जानकारी गराए ।  

‘नेपाल र ब्रिटेनको ऐतिहासिक सम्बन्ध, गोर्खाहरुको योगदान जस्ता विशिष्ट योगदानहरुको आधारमा बेलायतसमक्ष बिशेष सहयोग माग गरिएको छ’ उनले भने, ‘हाम्रो आग्रहमा बेलायतको उच्च सरकारी तहबाट सकारात्मक ‘रेस्पोन्स’ प्राप्त भएको छ।’

बेलायतको सरकारी स्तरमा नेपालको आवाजको सुनुवाई गराउन यहाँका स्थानीय तहमा निर्वाचित नेपाली मूलका जनप्रतिनिधिले समेत विशेष भूमिका खेल्न सक्ने भन्दै उनले सहयोगको पहल गर्न आग्रह गरे ।  

संकटको बेला बेलायतको नेपाली समुदायबाट आईसीयू भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, टेस्ट किट जस्ता अत्यावश्यक स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई उपलब्ध गराउन सके प्रभावकारी हुने राजदूत रेग्मीले बताए । उनले स्वास्थ्य सामग्री तथा खोपका लागि विशेष सहयोगको पहल गर्न एनआरएनए यूकेलाई आग्रह गरे ।

अभिभावक संस्थाको रुपमा एनआरएनए यूकेलाई बेलायतस्थित अन्य सामाजिक संघसंस्थाहरुसंग समेत समन्वय गर्दै स्वास्थ्य सामग्रीहरु जुटाउन आग्रह गर्दै उनले भने, ‘संकलित सबै  सहयोग सामग्री नेपालको सम्बन्धित स्थानमा पुर्‍याउने जिम्मेवारी लिन दूतावास तयार छ ।’

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले संकटको घडीमा एनआरएनप्रति राखिएको र समुदायको विश्वासले आफूहरुमा उर्जा थपिएको भन्दै सबै संघसंस्थाहरुसंगको सहकार्यमा यथासक्य योगदानको कोशिश् गर्ने बताइन् ।  

बेलायतका विभिन्न क्षेत्रमानवनिर्वाचित काउन्सिलरहरुलाई बधाई ज्ञापन गर्दै उनले मातृभूमि नेपालमा आइपरेको अप्ठ्यारोमा सबै मिलेर के कस्तो योगदान गर्न सकिन्छ भनेर छलफलको आयोजना गरिएको जनाइन् ।  

सबैको सल्लाह र सुझावलाई मनन् गर्दै संयोजनकारी भूमिका निभाउन एनआरएनए यूके तत्पर रहेको अध्यक्ष गुरुङको भनाइ थियो ।  

कार्यक्रममा एनआरएनए यूके पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक मे. रि. डम्मर घले, संरक्षक सुर्य गुरुङ, संरक्षक तथा आईसीसी सल्लाहकार कुल आचार्य र निर्वतमान अध्यक्ष योगकुमार फगामीले दूतावास र एनआरएन मिलेर नेपालको  सहयोगमा जुट्नुपर्ने धारणा राखेका थिए 

बेलायतका विभिन्न क्षेत्रमा निर्वाचित काउन्सिलरहरुले आफ्नो तहबाट सरकारी निकायका व्यक्तिहरुसंग नेपाललाई सहयोग दिलाउन प्रस्तावहरु राख्न शुरु गरेको बताए ।

कार्यक्रममा काउन्सिलरहरु जीव बेल्वासे, नेम थापा, डा. जगन्नाथ शर्मा, प्रवेश केसी, नविन सेवा, दिनेश खड्का, डेपुटी मेयर लक्ष गुरुङ र नवनिर्वाचित मेयर विष्णु बहादुर गुरुङले आआफ्नो धारणा राखेका थिए 

एनआरएनए यूकेका महासचिव फडिन्द्र भट्टराईले संचालन गरेको कार्यक्रममा लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालको समेत सहभागिता थियो । 

आगामी दिनमा चरणबद्ध रुपमा छलफलहरु गर्दै सहयोग अभियान अघि बढाउने सहमति भएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू