शुक्रबार, वैशाख १४, २०८१
20:26 | ०१:११

नेपालमा सहायता उपलब्ध गराइदिन बेलायत सरकारसमक्ष अनुरोध

'बेलायत सहयोगको गृहकार्यमा'

नेपाली लिङ्क मे १३, २०२१

लन्डन । नेपालमा कोरोना भाइरसले विकराल रुप लिइरहंदा स्वास्थ्य सहायता उपलब्ध गराइदिन बेलायत सरकारसमक्ष अनुरोध भएको छ । 

लन्डन बरो अफ बार्नेटका उपमेयर काउन्सिलर लक्ष्य गुरुङले आफ्नो क्षेत्रका सांसद डा. म्याथ्यू अफोर्डलाई एक पत्र लेख्दै ब्रिटिश सरकारसंग सहयोगका लागि पहल गरिदिन आग्रह गरेका हुन् । 

ब्रिटिश सरकारले छिमेकी भारतमा गरेजस्तैस्वास्थ्य सामग्री सहयोगका लागि आग्रह गर्दै उपमेयर गुरुङले भारतमा बढिरहेको नयां भेरियन्टका कारण खुल्ला सीमा रहेको नेपाल पनि नराम्ररी प्रभावित भएकोबारे ध्यानाकर्षण गराएका छन् । 

गुरुङले कोभिड महामारीका कारण नेपालमा अस्पताल भरिएका र अक्सिजन अभावले बिरामी मरिरहेकातर्फ पनि सांसदको ध्यान आकृष्ट गरेका छन् ।

छिमेकी भारतमा संक्रमण बढेपछि बेलायतले भारतलाई सहयोग पठाएको र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले समेत कठिन अवस्थामा उसलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि गुरुङको पत्रमा उल्लेख छ ।   

कोभिड संक्रमण तीव्र फैलिएपछि बेलायत सरकारले नेपाल र भारतलाई रेड लिष्टमा राखेको स्मरण गराउंदै गुरुङले नेपालले पनि महामारी नियन्त्रणको प्रयासमा सबै अन्तरराष्ट्रिय उडानमा प्रतिवन्ध लगाइ पूर्ण निषेधाज्ञा जारी गरेको अवगत गराएका छन् । 

प्रतिउत्तरमा सांसद अफोर्डका वरिष्ठ अनुसन्धानकर्ता जर्ज बोसले सांसद अफोर्ड नेपालको अवस्थासंग परिचित रहेको र विदेश मन्त्रालयसमक्ष संसदीय प्रश्न सोध्ने आश्वासन दिएका बताएका छन् । 

गुरुङले बुधबार टेलिफोनमार्फत बेलायत सरकार नेपाललाई सहयोग गर्न गृहकार्यमा जुटिरहेको जानकारी पाएका छन्। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू