बिहीबार, वैशाख १३, २०८१
11:55 | १६:४०

दु:खमा साथ दिइरहने बेलायतका समाजसेवी मोडल

नेपाली लिङ्क मे १३, २०२१


लण्डन । बेलायत निवासी कुमुद पन्त फिल्म र मोडलिङमा जति सक्रिय छन्, समाजसेवामा पनि उनको क्रियाशिलता उत्तिकै छ । धन दौलत धेरै भएर होइन, मन ठुलो भएर उनी आफ्नो हैसियतले भ्याएसम्म आर्थिक सहयोग गरिरहन्छन् ।  

विगत एक बर्षमा उनले करिब ४ लाख रुपैयाँ नेपाल पठाइसकेछन्। 

‘विपत्तिका बेला मानवीय सेवा गर्नु मेरो कर्तब्य हो जस्तो लाग्छ’ आफ्नो जन्मदिनकै दिन बिहीबार कुमुदले सुनाए ।  आगामी दिनमा पनि गरिब, दुःखी र असहायहरुलाई सक्दो सहयोग गर्ने उनको प्रण छ ।  

अहिले संचारकर्मी रबि लामिछानेको नेतृत्वमा संचालन भइरहेको जनमैत्री अस्पतालको सहयोगार्थ पन्तले २० हजार एकसय चालिस रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराए । 

हाम्रो टिम नेपाललाई निरन्तर साथ सहयोग गर्ने उनले हालै १० हजार प्रदान गरे । 

पन्तले तेरहथुम जिल्लाको फेदापे गाउँपालिका सिम्ले ३ मा आगलागी पछि २२ घर जलेर नष्ट हुँदा पीडितका लागि १०,२८५ सहयोग गरे ।  

त्यस्तै अछाम कमलबजारस्थित कालिका आधारभुत विद्यालयका लागि स्कुल सामग्री किन्न पनि कुमुदले १० हजार रुपैयाँ  सहयोग गरेका थिए ।  

घरबिहीन हुम्लाकी उषा थापालाई बर्दियामा घर बनाउने अभियानमा उनले २० हजार आर्थिक सहयोग गरे ।  

उता, बेलायतमा लामो समयदेखि बस्दै आएका कलाकार, मोडल तथा निर्देशक पन्तले बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा पर्न सफल नेपालकी सपना रोका मगरको मनोबल उच्च बनाउन तथा उनको शिक्षालाई निरन्तरता दिन प्रोत्साहन गर्दै २५ हजार ५ सय रुपैंया सहयोग गरे ।  

 दैलेखकी ६ बर्षीया छाला रोगी बालिकालाई निःशुल्क उपचार भए पनि अन्य खर्च गर्न मद्दत मिलोस् भनेर १५ हजार ५२० रुपैयाँ प्रदान गरे । यी त पछिल्ला केही उदाहरण मात्र हुन् ।

आमाका साथ कुमुद

विगत दुई दशक भन्दा बढी समयदेखि बेलायत बस्दै आएका              तेरौटे–९, दाङका कुमुद पन्त व्यावसायिक फिल्मी कलाकार हुन् । जन्मभूमि, जन्मजन्म, चुनौती, सरस्वती, रगत, गोठालो लगायतका नेपाली चलचित्रमा अभिनय गरेको अनुभव लिएर बेलायत आएपछि उनी सन् २००४ मा ‘साउथ इष्ट लन्डन मोडल फेस टु फेस’ प्रतिस्पर्धामा उत्कृष्ट भएका थिए । 

तीन दर्जनभन्दा बढी टेलिफिल्म, म्यूजिक भिडियो र विज्ञापनमा काम गरेका कुमुदले युके बोर्डर, मिस यु अलरेडी, ब्रेकिङ दि ब्याङ्क, डेस्परेट माइण्ड अफ हुलिगन, टप डग, होलिडे, अमर अकबर एण्ड टोनी, चेजिङ रोबर्ट बार्कर, दी एनोमली, इनिमी अफ इङ्गल्याण्ड, द होलिगन फ्याक्ट्री, दि ह्वाइट रुम, टु डेज इन द स्मोक लगायत बेलायतमा निर्मित तीन दर्जन फिल्ममा अभिनय गरिसकेको बताए । 

उनले बलिउडका भूतनाथ रिटर्नस्, वेलकम टु कराँची, जबतक है जानका साथै हलिउड फिल्म ‘एभरेष्ट’ मा पनि अभिनयको मौका पाए ।

कुमुद पछिल्लो समय हिन्दी फिल्मका गीतमा म्यूजिक भिडियो बनाउन जुटेका छन् । उनले हालैमात्र चोले फिल्मको दोश्रो गीत ‘ओ मेरी महेबुबा’ र  तेस्रो गीत ‘आ जाने जा’ मा म्यूजिक भिडियो बनाइ सार्वजनिक गरेका थिए । 

भविष्यमा नेपाली कला संस्कृति र चलचित्रलाई बेलायतमा पनि प्रवर्धन गर्ने उनको सोच छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू