शनिबार, वैशाख ८, २०८१
01:43 | ०६:२८

नयाँ भेरियन्टसहितको संक्रमण तीव्र, थप १६८ को मृत्यु  

रासस मे १२, २०२१

टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा शुक्रबार कोभिड १९ बिरामीको उपचार गर्दै चिकित्सक । तस्वीर- रोशन सापकोटा, रासस

काठमाडौं–पछिल्लो २४ घण्टामा नौ हजार ३०५ जना नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी एक लाख एक हजार ६३४ पुगेका छन् । पहिलो पटक संक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको हो ।

मन्त्रालयका अनुसार २० हजार ३६२ जनाको पिसिआर र ४२४ जनाको एण्टिजेन परीक्षणमा नौ हजार ३०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसमध्ये पिसिआरबाट नौ हजार २३८ र एन्टिजेन विधिको परीक्षणका क्रममा ६७ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

सबैभन्दा बढी काठमाडौँमा तीन हजार २५० जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा २४ घण्टामा कूल तीन हजार ९२४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी बढी सङ्क्रमण पुष्टि भएका जिल्लामध्ये रूपन्देहीमा ७७१, कैलालीमा ३३९, मोरङमा ३३६, झापामा ३००, बाँकेमा २८७, दाङमा २७७, कास्कीमा २३५ जना कोरोना सङ्क्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।

नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कका आधारमा कोभिड १९ सङ्क्रमणबाट गत २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार २५२ पुगेको छ ।

यस अवधिमा चार हजार ४४४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म तीन लाख १६ हजार ४६८ जना सङ्क्रमण मुक्त भएका छन् । यो कुल सङ्क्रमितको ७४.९ प्रतिशत हो ।

सक्रिय सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्लामा सर्वाधिक सङ्ख्या छ । हालसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख २२ हजार ४१६ पुगेको छ ।

सक्रिय कोभिड १९ सङ्क्रमितमध्ये एक लाख एक हजार ६३४ जना आइसोलेसनमा छन् । जसमध्ये एक हजार २४१ को आइसीयूमा उपचार भइरहेको छ । भेन्टिलेटरमा राखेर २८५ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू