शुक्रबार, वैशाख ७, २०८१
18:14 | २२:५९

लकडाउन हट्दै जाँदा तंग्रिन थाल्यो बेलायती अर्थतन्त्र

नेपाली लिङ्क मे १२, २०२१

लन्डन । कोभिड महामारी र लामो समयदेखिको लकडाउनका कारण थला परेको बेलायती अर्थतन्त्र बिस्तारै तंग्रिन थालेको छ ।  

सन् २०२१ को पहिलो तीन महिनाको अवधिमा १ दशमलव ५ प्रतिशतले खुम्चिएको अर्थतन्त्र मार्चपछि भने फेरि उकालो लाग्न थालेको छ ।  

लकडाउनका कारण बन्द स्कुलहरु सुचारु हुनु र रिटेल स्पेन्डिङ बढ्नु जस्ता आधारले मार्च महिनामा बेलायतले २ दशमलव १ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको छ । गत वर्षको अगस्ट महिनायता बेलायतको अर्थतन्त्रले एक महिनाकै अवधिमा हासिल गरेको यो नै सबभन्दा ठूलो आर्थिक वृद्धि हो ।

‘इन्स्टिच्युट अफ डिरेक्टर्स’ का प्रमुख अर्थशास्त्री तेज पारिखका अनुसार बेलायतको अर्थतन्त्र यो वर्ष ‘बाउन्स ब्याक’ गर्दैछ ।

‘महामारी र लकडाउनका साथै युरोपसंगको फेरिएको सम्बन्ध र व्यवस्थाका कारण पनि यस वर्षको पहिलो त्रैमासिक अवधिमा आर्थिक गतिविधिहरु सेलाएका थिए’, उनले भने, ‘संक्रमण घट्दै जाँदा लकडाउन क्रमश: हटेर आर्थिक क्रियाकलापहरु सुचारु भएपछि अब छिट्टै अवस्था परिवर्तन हुनेछ ।’

बेलायत सरकारका अर्थमन्त्री ऋषि सुनाकले पनि बेलायत कोभिड महामारीपछिको ‘रिकभरी’ का लागि अब तम्तयार रहेको बताएका छन्   

बैंक अफ इंग्ल्याण्डले यो वर्ष लकडाउन अन्त्यसंगै बेलायतले पछिल्लो ७० वर्षकै सबैभन्दा उच्च आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू