शुक्रबार, चैत १६, २०८०
22:48 | ०४:३३

इंग्ल्याण्डमा अर्को साताबाट ‘भ्याक्सिन पासपोर्ट’

नेपाली लिङ्क मे ११, २०२१

लन्डन– इंग्ल्याण्डमा अन्ततः कोरोना खोपसंग सम्बन्धित ‘भ्याक्सिन पासपोर्ट’ एप्लिकेशन कार्यान्वयन हुने भएको छ । आउँदो सोमबार मे १७ बाट इंग्ल्याण्डको नेशनल हेल्थ सर्भिस (एनएचएस) को एप्लिकेशनबाट ‘भ्याक्सिन पासपोर्ट’ उपलब्ध हुने सरकारले बताएको हो ।

तर, कोरोना विरुद्ध खोपको दुवै डोज लगाइसकेकाहरुका लागि मात्र उक्त सुविधा प्राप्त हुनेछ । मोबाइल एप्लिकेशन तथा कागजी भर्सनमा समेत ‘भ्याक्सिन पासपोर्ट’ उपलब्ध हुने बताइएको छ ।

कागजी भर्सनका लागि ११९ मा डायल गर्नुपर्ने छ । मोबाइल एप्लिकेशनमा मात्र भ्याक्सिन पासपोर्ट उपलब्ध गराउँदा बेलायतमा अझैसम्म पुरानो मोडेलको फोन प्रयोगकर्ताको संख्या अत्यधिक रहेकाले प्रभावकारी नहुने भन्दै चर्को विवाद उब्जिएको थियो ।

बेलायतमा पुरानो मोडेलका मोबाइल (जसमा आधुनिक सुविधायूक्त एप्लिकेशनहरु प्रयोग गर्न मिल्दैन) प्रयोगकर्ता अत्यधिक रहेको अध्ययनले देखाएको छ ।

मे १७ बाट विदेश यात्रा सम्बन्धि नियम समेत खुकुलो गरिने हुँदा ‘भ्याक्सिन पासपोर्ट’ को सहयोगले दुवै डोज खोप लागिसकेका व्यक्तिहरुको पहिचान गर्न सहज हुनेछ ।

धेरै मुलुकहरुमा भ्याक्सिन पासपोर्टको व्यवस्था लागू नभएकाले यात्रा गर्दा अन्य विभिन्न नियमको पालना गर्नुपर्ने सरकारले जनाएको छ ।

आउँदो सोमबारवाट इंग्ल्याण्डमा जारी लकडाउन खुकुलो गरिने प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारमात्र स्पष्ट पारेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू