बिहीबार, वैशाख १३, २०८१
05:35 | १०:२०

फार्नबरो चेरिवुडको काउन्सिलरमा नेम थापा विजयी

नेपाली लिङ्क मे ७, २०२१

लन्डन । बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेको रश्मोर बरोमा नेपाली समुदायबाट अर्का एक काउन्सिलर निर्वाचित भएका छन् ।    

रश्मोर बरोको फार्नबरो चेरिवुड वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार नेम थापा ८ सय ९८ मत प्राप्त गर्दै विजयी बने । उनका निकटतम प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले ८०६ मत प्राप्त गरे ।  

केही बेर अघिमात्रै रश्मोर बरोकै अल्डरसट वेलिङटन वडामा कन्जरभेटिभ पार्टीबाटै जीव बेल्वासे काउन्सिलर निर्वाचित भएको घोषणा भएको थियो ।  

करिब २७ सय जम्मा मतदाता रहेको फार्नबरो चेरिवुड वडामा १७ सय १७ मत खसेका थिए । 

उक्त वडामा यसअघि भने लेबर पार्टीको वर्चश्व थियो । नेपालीहरुको बाक्लो बस्ती रहेको यो वडामा पहिलोपटक नेपाली समुदायबाट काउन्सिलर निर्वाचित हुन पाउंदा थापा गौरवान्वित छन् । 

‘धेरै नेपालीहरुको बसोबास रहेपनि यसअघि हाम्रो समुदायबाट यहाँको स्थानीय निकायमा प्रतिनिधित्व हुन सकेको थिएन’, निर्वाचित भएलगत्तै थापाले नेपाली लिंकसँग भने, ‘दोश्रो पुस्ताका नेपालीलाई बेलायतको राजनीतिमा प्रेरित गर्ने, उद्यमशीलता, स्वरोजगार र सीपयुक्त जनशक्ति सृजनामा पहल गर्ने  र नेपालीको हकहित र प्रतिनिधित्वका लागि पहल गर्ने मेरो प्रमुख कोशिश् रहनेछ ।’

काउन्सिलर निर्वाचित थापा बेलायतको नेपाली समुदायमा एक सक्रिय अभियन्ता हुन् । ग्रेटर रश्मोर नेपाली कम्युनिटीमा हाल उनी उपाध्यक्ष छन् ।  

मगर संघ यूकेका पूर्व अध्यक्ष समेत रहेका थापा अन्य विभिन्न नेपाली संघसंस्थामा पनि आबद्ध रहंदै आएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू