शुक्रबार, वैशाख ७, २०८१
21:25 | ०२:१०

बेलायतको रेड लिष्टमा नेपाल पनि

नेपाली लिङ्क मे ७, २०२१

लन्डन । अन्तत: बेलायतको यात्रा प्रतिबन्धको ‘रेड लिष्ट’ मा नेपाल पनि थपिएको छ  ।

नेपालमा कोरोना संक्रमण तीव्र भइरहंदा बेलायतले आज शुक्रबार नेपालसहित टर्की र माल्दिभ्सलाई रेड लिष्टमा समावेश गरेको बेलायती यातायातमन्त्री ग्रान्ट श्याप्सले जानकारी दिएका हुन् ।

यसअघि भारत, कतार र टर्की रेडलिष्टमा परेपछि नेपालसंगको हवाई सम्पर्क पनि विच्छेद जस्तै भएको छ ।

रेड लिष्टमा परेका मुलुकबाट बेलायत आउन प्रतिवन्ध रहनेछ । बेलायती नागरिक वा यहाँ स्थायी रुपमा बसोबास गर्नेहरुले भने कडा शर्तहरुसहित यात्रा गर्न छुट पाउनेछन्  ती यात्रुले अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्नेछ र यसको खर्च १७५० पाउण्ड लाग्छ ।

त्यस अवधिमा दुई पटक पिसिआर टेस्ट गराउनु पर्नेछ । तर, नतिजा नेगेटिभ आएपनि १० दिनको पूरै अवधि होटेल क्वारेन्टिनमै बिताउनुपर्नेछ ।

लन्डन ग्रीनफोर्डस्थित केटिएम ट्राभल एण्ड टुर्सका सुनिल थापाले नेपालको अन्तरराष्ट्रिय उडान प्रतिवन्ध हटेपछि नेपालबाट बेलायत आउन निकै सकस र खर्चिलो हुने बताए ।

त्यस्तै, यसअघि रेड लिष्टमा रहेका विभिन्न १२ मुलुकलाई भने अब ग्रीन लिष्टमा सारिएको छ ।  

अर्को सोमबारदेखि लागू हुने गरी पोर्चुगल, इजरायल, सिंगापुर, अष्ट्रेलिया, न्यूजिल्यान्ड, ब्रुनाइ, आइसल्यान्ड, जिब्रलटार, फकल्यान्ड आइल्यान्ड, फारोइ आइल्यान्ड, साउथ जर्जिया एण्ड स्यान्डविच आइल्यान्ड र सेन्ट हेलेना, ट्रिष्टान डि कुन्हा एण्ड एस्सेनसन आइल्याण्डलाई ‘ग्रीन लिष्ट’ मा राखिएको छ ।  

ग्रीन लिष्टमा पर्ने मुलुकबाट आउने यात्रुहरुलाई क्वारेन्टिन् बस्न पर्नेछैन् ।

आउँदो मे १७ तारिखबाट हाल जारी लकडाउन सहज गरिने र उक्त मितिबाट यात्रा प्रतिबन्ध सम्बन्धि नयाँ नियम लागू गरिने मन्त्री श्याप्सले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू