बिहीबार, वैशाख १३, २०८१
17:15 | २२:००

पूर्व गोर्खाकी छोरी रेबेका बनिन् बेलायतकी सोलिसिटर

नेपाली लिङ्क मे ६, २०२१

लन्डन । पछिल्लो समय बेलायतमा विभिन्न क्षेत्रमा नेपालीहरुले उल्लेखनीय सफलताहरु हासिल गर्दै गएका छन् । बेलायतमा नेपालीहरुले हासिल गरेका त्यस्तै नयाँ उचाइका सफलता र प्रगतिको पछिल्लो उदाहरण बनेकी छन्– सुश्री रेबेका राई ।

खोटाङको बुईपा पुर्ख्यौली घर भएकी भूतपूर्व ब्रिटिश गोर्खा सैनिककी छोरी रेबेका बेलायतको सोलिसिटर हुन सफल भएकी छन् । 

गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट (जिटिआर) मा २० वर्ष सैनिक सेवा गरेर अवकाशप्राप्त भीम राईकी एक्ली छोरी रेबेका गतहप्ता बेलायती सोलिसिटर्स रेगुलेसन अथोरिटी (एसआरए) बाट सोलिसिटरको मान्यता प्राप्त गर्न सफल भएकी हुन् ।

रेबेकाले बेलायतको प्रतिष्ठित क्विनमेरी युनिभर्सिटी लण्डनबाट सन् २०१५ मा अंग्रेजी कानुनमा प्रथम श्रेणीमा डिग्री हासिल गरेकी थिइन् । त्यसपछि उनले सन् २०१६ मा ‘सिल्भरडेल सोलिसिटर्स’ म्यानचेस्टरमा ‘प्यारा लिगल’ को तालिम लिएकी हुन् ।

सन् २०१७ मा ‘बिपिपी ल स्कूल’ लिभरपुलबाट ‘लिगल प्राक्टिस कोर्स’ (एलपिसी) गरेकी उनले अर्को वर्ष सन् २०१८ मा ‘एभरशेड सोलिसिटर्स’ बर्मिङहममा ‘प्यारा लिगल’ को तालिम लिएकी थिइन् । लिभरपुलबाट बिजनेस स्टडिजमा मास्टर्स गर्दै गरेकी रेबेकाले सन् २०१९ देखि ‘बाराट एन्ड को’ ल फर्म रेडिङबाट दुई बर्षे ट्रेनी सोलिसिटरको अनुभव लिएकी छन् ।

रेबेकाको जन्म १० जुलाइ १९९४ मा बेलायती सैनिक अस्पताल, हङकङमा भएको थियो । रेबेका सन् १९९५ मा हङकङ छाडेदेखि ५ वर्ष काठमाडौँमा बिताएर सन् २००० मा बेलायत आएकी थिइन् । अध्ययनको क्रममा बेलायतको विभिन्न शहरमा बसाई सरेकी उनी अहिले अक्सफोर्डसायरको बानबुरी गाउँमा बस्दै आएकी छिन् । 

रेबेकाको परिवारमा बाबु भीम, आमा तारा र दाजु जेशन छन् । डा. जेशन राई लिभरपुल युनिभर्सिटिबाट सन् २०१३ मा चिकित्सक बनेका हुन् र अहिले अक्सफोर्ड युनिभर्सिटी अस्पतालमा ६ वर्षे ‘कोलोरेक्टल सर्जन’ को तालिममा सहभागी छन् ।

‘बाओर एन्ड बेली सोलिसिटर्स’ बानबुरीमा कार्यरत छोरी सोलिसिटर्स र छोरा अक्सफोर्ड युनिभर्सिटीबाट सर्जन हुनै लाग्दा पूर्व गोर्खा सैनिक भीम राई हर्षले गौरवान्वित भएका छन् ।

‘म अति अविकसित राष्ट्रको एउटा अनकन्टार गाउँमा जन्मेको मानिस हुँ । मैले जिन्दगीमा प्रतिष्ठित स्कूल वा कलेजको अनुहार देख्ने अवसर कहिले पनि पाइन । त्यसैले मसँग विश्व विजय हासिल गर्ने असंख्य सपनाहरु केही पनि छैनन् । मैले जे आशा एवम् अपेक्षा गरेको थिएँ, आज त्यो सबै पूरा भएको छ । अब म मरेर गए भने पनि सायद बेलायतमा मेरा छोराछोरी भोकले मर्दैनन् होला भन्ने झिनो आशा राखेको छु’, राईले भने

परिवारका साथमा रेबेका

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू