बेलायतमा कोरोनाबाट मृतक संख्या थप २७



लन्डन– बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप २७ जनाको ज्यान गएको छ । योसंगै बेलायतमा कुल मृतक संख्या एक लाख २७ हजार ५७० पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा २ हजार १४४ जना संक्रमित थपिएका छन् । थपिएकासहित बेलायतमा कोरोना संक्रमितको कुल संख्या ४४ लाख २५ हजार ९४० पुगेको छ ।
बेलायतमा सक्रिय संक्रमितको संख्या ६० हजार ४५७ छ भने ४२ लाख ३७ हजार ९१३ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।
हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या १८१ छ । त्यस्तै, १०८ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या एक हजार २८५ छ ।
५ करोड ६ लाख बढी खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि ५ करोड ६ लाख ८२ हजार ५६७ डोज वितरण भएको छ । तीन करोड ४७ लाख ९५ हजार ७४ जनाले खोपको पहिलो र एक करोड ५८ लाख ८७ हजार ४९३ जनाले दोस्रो डोज लिएका छन् ।
वर्ल्डओमिटरका अनुसार, कोरोनाभाइरस महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ३२ लाख ४४ हजार नाघेको छ ।
कोभिड संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९२ हजार, ब्राजिलमा ४ लाख ११ हजार, भारतमा २ लाख २६ हजार, मेक्सिकोमा २ लाख १७ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २२ हजार, रसियामा १ लाख ११ हजार र फ्रान्समा एक लाख ५ हजार बढीको मृत्यु भएको छ ।