शनिबार, वैशाख ८, २०८१
06:37 | ११:२२

बेलायतको स्थानीय निर्वाचनका नेपाली उम्मेदवारहरु अन्तिम तयारीमा

नेपाली लिङ्क मे ३, २०२१

लन्डन । बेलायतमा यही ६ मे का दिन हुन गइरहेको स्थानीय निर्वाचनमा प्रतिष्पर्धा गरेका नेपालीमुलका उम्मेदवारहरुले सहयोगका लागि अन्तिम अपिल गरेका छन् ।

बेलायतमा नेपालीको सबैभन्दा बढी जनघनत्व भएको रसमोर बरो काउन्सिलबाट काउन्सिलर पदका लागि मैदानमा उत्रिएका जीव बेल्वासे र नेम थापाले आफ्नो जित सुनिश्चित गरिदिन अपिल गरेका हुन् । उनीहरु अहिले पनि मतदातासमक्ष विभिन्न माध्यमबाट मत दिन अपिल गरिरहेका छन् ।

कोभिड १९ महामारीका कारण यसपटक घर घरमै गएर मतदातासंग प्रत्यक्ष मत माग्न सम्भव थिएन । पोस्टल भोटको समयसीमा भने सकिइसकेको छ ।

रसमोर बरो काउन्सिल अन्तर्गत अल्डरसटको 
वेलिङ्टन र फार्नबोरोको चेरीउड वार्डबाट क्रमशः जीव बेल्वासे र नेम थापाले उम्मेदवारी दिएका हुन् । उनीहरु दुवै सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट प्रतिष्पर्धामा छन् ।

एकजना प्रभावशाली नेता बेल्वासे बेलायती र नेपाली समुदायमा यसअघि पनि गरेको निरन्तर सहयोगले निर्वाचन आफ्नो पक्षमा आउने आत्मविश्वास व्यक्त गर्छन् ।

वेलिङ्टनबाट टिकट पाएका बेल्वासे विगत दुई दशकदेखि निरन्तर अल्डरसटमा छन् । ग्रेटर रसमोर नेपलिज कम्युनिटीको अध्यक्ष भइसकेका उनले समुदायका लागि बाहिर बसेर धेरै योगदान गरेपनि अब काउन्सिलर भएरै सेवा गर्न चाहेको बताए ।

‘मलाई नेपाली समुदाय र अग्रजहरुले सहयोग एवं उर्जा प्रदान गर्नु भएको छ । उहांहरुप्रति निकै आभारी छु’, बेल्वासेले नेपालीलिंकसंग भने ।

बेल्वासेको पहलमा नेपाली वृद्धवृद्धालाई कोभिड खोप दिलाइएको थियो । उनकै पहलमा हालैमात्र बेलायती सांसद र काउन्सिल लिडरले भूतपूर्व गोर्खा मुद्दा समाधान गर्न र उनीहरुलाई ब्रिटिश राहदानी लिन सहज प्रक्रिया र शुल्क मिनाहका लागि प्रधानमन्त्री समेतलाई पत्र लेखेका थिए ।

नेपालीहरुले पाउनुपर्ने सुविधा दिलाउन, बेलायती समुदायसंग नेपाली समुदायको घुलमिल गराउन, नगर विकास र जातीय पहिचानलाई अझ स्थापित गराउने मुख्य एजेन्डा बोकेका छन् बेल्वासेले ।

उता, रसमोरको फार्नबोरो चेरीउड वार्डबाट काउन्सिलरमा उठेका नेम थापाको पनि आफूलाई जिताइदिन आग्रह छ ।

रसमोर बरोमा रहेका नेपालीमध्ये २० प्रतिशतभन्दा बढी चेरीउडमा छन् । नेपालीको जनघनत्व भएको ठाउंमा एकजना नेपाली पनि काउन्सिलर नबनेकाले त्यसको प्रतिनिधित्व गर्न, दोश्रो पुस्ताका नेपालीलाई राजनीतिमा प्रेरित गर्न, कतिपय मानिसहरु गरिवी मुनी रहेको उक्त वार्डमा उद्यमशीलता, स्वरोजगार र सीपयुक्त जनशक्ति सृजनामा पहल गर्न र नेपालीको हकहितका लागि आफ्नो उम्मेदवारी रहेको थापाले बताएका छन् ।

ग्रेटर रसमोर नेपलिज कम्युनिटीका उपाध्यक्ष एवं नेपाल मगर संघ यूकेका पूर्व अध्यक्ष थापाले बेलायती र नेपाली समुदायका लागि विगत देखि नै काम गरेकाले मतदाताले पत्याउने विश्वास व्यक्त गर्छन् । तर, विगतमा उक्त क्षेत्रमा लेबरको पकड भएकाले चुनौति भने रहेको थापा बताउंछन् ।

रसमोर बरोमा १३ वडा छन् र प्रत्येक वडामा तीनजना काउन्सिलर हुनेछन् ।

यसपटक इंग्ल्याण्डमा १४३ काउन्सिल (करिब ५ हजार सिटका लागि), स्कटिस संसदमा १२९ सिट, वेल्सको संसदमा ६० सिट, लन्डन एसेम्लीमा २५ सिट, १३ मेयर र ३९ पुलिस एण्ड क्राइम कमिश्नरका लागि निर्वाचन हुंदैछ । ती चुनावहरुमा चार करोड ८० लाख मानिसहरुले मतदान गर्न पाउने छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू