शुक्रबार, वैशाख १४, २०८१
17:33 | २२:१८

युवा अर्थविद् डा बास्तोला एनआरएनए यूके महासचिवमा उम्मेदवार

नेपाली लिङ्क मे २, २०२१

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को आसन्न निर्वाचनमा डा मुकुन्द बास्तोलाले महासचिव पदमा उम्मेदवारी दिने भएका छन् ।

बेलायतस्थित विभिन्न नेपाली संघसंस्थामा महत्वपूर्ण र कार्यकारी जिम्मेवारीको अनुभव लिइसकेका युवा अर्थविद् बास्तोला एनआरएनए यूकेमा महासचिव उम्मेदवारका रुपमा मैदानमा उत्रिएका छन् ।

‘एनआरएनए अभियानमा सन् २००८ देखिकै सक्रियता र अन्य कयौं नेपाली संघसंस्थामा महत्वपूर्ण पदहरुमा रहेर काम गर्दाको अनुभवकै हौसलाले अब म एनआरएनए यूकेभित्रको कार्यकारी भूमिकामा रहेर काम गर्न उत्साहित छु’, डा बास्तोलाले नेपाली लिंकलाई भने ।

बेलायतको सबैभन्दा पुरानो यती नेपाली एशोसिएसनको वर्तमान कार्यसमितिमा महासचिव छन् डा बास्तोला । बेलायतस्थित नेपाली व्यवसायीहरुको समूह एनसिआइ ग्रुप यूकेमा पनि उनी महासचिवकै भूमिकामा छन् ।

युरोपियन नेपाली अनुसन्धान परिषदका अध्यक्ष डा बास्तोला जेन्ट्स यूके, एनआरएनए यूकेसहितका कयौं नेपाली संघसंस्थामा सल्लाहकार छन् ।

एनआरएनए यूकेको राज्य समन्वय विभागमा संस्थापक सदस्यसचिव रहेका उनले यूकेका विभिन्न राज्यमा राज्य समन्वय परिषदको स्थापनाका क्रममा महत्वपूर्ण भूमिका निभाउने अवसर पाएका थिए । हालै मात्रै डा बास्तोलाले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहितको सहभागितामा गैरआवासीय नेपालीको नागरिकता निरन्तरतासम्बन्धि एक अन्तरक्रिया संयोजन गरेका थिए ।

‘पहिला बाहिरबाट, अब संस्थाभित्रै रहेर योगदान’

‘एनआरएनए अभियानमा मेरो संलग्नता र सहभागिता पहिलेदेखि नै निरन्तर हो । पहिला अभियानकै वरिपरि रहेर काम गरें, अब संस्थाभित्रै बसेर थप योगदान गर्छु भन्ने संकल्प छ’, डा बास्तोला भन्छन्, ‘एनआरएनए यूकेका राज्य समन्वय परिषदहरु गठनका क्रममा उक्त विभागको सचिवको रुपमा काम गर्दा संस्थालाई नजिकबाट बुझ्ने मौका पाएं । त्यसपछि झन् यो अभियानमा थप बढी सक्रियतासाथ काम गर्न प्रेरित भएको हुं ।’

एनआरएनएसहित विभिन्न सामाजिक संघसंस्थाहरुमा क्रियाशिल रहंदै आएका बास्तोला पेशाका हिसाबले अर्थविद् हुन् । उनले बेलायतको कार्डिफ विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

डा बास्तोला अहिले प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी जोन्सन ग्रुप यूकेमा आर्थिक परामर्शदाताको रुपमा कार्यरत छन् । उनी बेलायतस्थित विभिन्न विश्वविद्यालयहरुमा खोज तथा अनुसन्धानको कार्यमा पनि सक्रिय छन् ।

नेपाल सरकारका विभिन्न निकायससंग पनि निरन्तर सम्पर्क र समन्वयमा रहेर काम गर्दै आएको डा बास्तोला बताउँछन् । ‘लाखौं गैरआवासीय नेपालीहरुको महाअभियानमा आफ्नो क्षेत्रबाट केही अर्थपूर्ण योगदान गर्न सक्छु भन्ने आत्मविश्वास ममा छ । शिक्षा तथा अनुसन्धानको क्षेत्रसंग जोडिएको मेरो पृष्ठभूमि, अहिले आबद्ध रहेका पेशा र यसबाट बनेको नेटवर्क समेतलाई सदुपयोग गर्दै एनआरएनए अभियानमा आम समुदायलाई महशुस हुने गरी काम गर्ने मेरो योजना छ’, उनले भने ।

आम गैरआवासीय नेपालीका चासो र सरोकारका मुद्धाहरु अगाडि बढाइरहेको एनआरएनए अभियानमा युवा, बुद्धिजिवीसहित सबै तह र तप्काको सहभागिता अपरिहार्य रहेको डा बास्तोलाको भनाइ छ । ‘मेरो उम्मेदवारीले पनि त्यहि सन्देश प्रवाह गरोस् भन्ने मेरो चाहना छ’, उनले सुनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू