मंगलबार, चैत ६, २०८०
04:59 | १०:४४

भण्डारीको भाग्य: राजदरबार हुंदै लन्डन दूतावासको ‘रोयल सुइट’ सम्म

नरेन्द्र बस्नेत जुलाइ २, २०२१

लन्डन । दोलखाको तत्कालिन भस्मेश्वर गाविस ९ मा जन्मिएका शिव भण्डारीले नेपालको राजदरबार हुंदै लन्डन दूतावासको रोयल सुइटसम्म पुग्छु भन्ने कल्पना समेत कहिल्यै गरेका थिएनन् ।

तर, भाग्यमा विश्वास गर्ने भण्डारीको सपना साकार भयो । राजपरिवारसंग लामो समय बिताएर सबैको ‘
प्यारो’ सदस्य बनेका भण्डारी अचेल लन्डन बस्छन् । नेपालमा राजसंस्था अन्त्य भएपनि राजपरिवारसंग बिताएका अविष्मरणीय क्षण उनको स्मृतिमा ताजै छन् ।

बेखर्ची भएपछि २० रुपैयां मागेर काठमाडौं पसेका भण्डारी राजदरवार हुंदै लन्डनको 
रोयल सुइटसम्म आइपुगेको कहानी निकै रोचक छ । जीवनमा थुप्रै संघर्ष भोगेका भण्डारीको कथा मर्मस्पर्शी पनि छन् ।

वि.स. २०३८ सालमा पढ्न भनेर दोलखाबाट काठमाण्डौं पुगे उनी । कक्षा ४ मा पढ्दा पढ्दै आमाको निधन भएपछि उनको अध्ययन मात्र होइन्, जीवन यात्रामा समेत ठूलो धक्का पुग्यो । त्यसपछि उनी गाउं फर्किए, ८ दिनको फरकमा हजुरमुमाको पनि निधन भयो । आमाको निधन भएपछि सानै उमेरमा उनले पारिवारिक बोझ बोक्नुपरयो । पिता घर व्यवहारमा भन्दा सामाजिक काममै रमाउने स्वभाव भएकाले उनको समय घरबाहिर नै बित्ने गर्दथ्यो । आफू मात्र नभएर भाइबहिनीको समेत जिम्मेवारी लिनुपर्ने वाध्यताले थप 
दवाबमा परे उनी ।

आफ्नै बारीको रुख काट्दा गाउंलेको उजुरी परेपछि बाबुलाई कारवाही गर्न आएका वन विभागका रेन्जर उनका लागि भगवान नै सावित भए । रेन्जरले एउटा छोरो म लान्छु भनेपछि शिवलाई रेन्जरले लिएर गए अनि एउटा वृक्षारोपण सम्बन्धि स्वीस कम्पनीमा नोकरी समेत लगाइदिए । काम शुरु भयो, मासिक तलब आउन थालेपछि आफू निकै धनी भएको महशुस गर्न थाले उनले । पछि उक्त स्वीस कम्पनीले वृक्षारोपण सम्बन्धि योजना सरकारलाई बुझायो, त्यसपछि उनलाई दाङमा खटाइयो ।

तर, उनले दाङ नजाने मनस्थिति बनाए, साथमा केही रकम पनि जम्मा भएकाले तातोपानी खासाको व्यवसाय गर्छु भनेर नोकरीबाट राजीनामा दिए । केही समय व्यापार गरेपछि राम्रै कमाइ भयो । काठमाण्डौंको सिफलमा २० हजारमा एक रोपनी जग्गा किन्ने तयारीमा रहंदा एक्कासी देवढुंगा भन्ने ठाउंमा गस्तीको फेला परेर उनलाई तातोपानी भन्सार लगियो । भएभरका सम्पूर्ण सामान पनि गुमाए, साथमा भएको पैसा पनि सके र कुटाइसमेत खाए ।

काठमाण्डौंमा जग्गा किन्ने सपना त चकनाचुर भयो नै बेखर्चीसमेत बन्न पुगे उनी । साथमा एक पैसो पनि नभएपछि साथीसंग बीस रुपैयां मागेर काठमाण्डौं लागे । आफ्नो चिनजानको कोहि नभएपनि मीत दिदी नायिका मौसमी मल्ललाई चिनेकाले काठमाण्डौं न्यूरोडमा रहेको उनको मौसमी पार्लरमा पुगे । काम नपाउन्जेल बस् भन्ने आश्वासन पाएपछि उनी जागिरको खोजीमा 
भौंतारिन थाले ।

धाइआमाले छिराएकी थिइन् दरबार
वि.स. २०४२ सालतिरको कुरो हो, काम खोज्ने सिलसिलामा उनी भौतारिंदै कमलादी गणेशस्थानमा पुगेका बेला दरबारबाट धाइआमा पनि गणेश मन्दिरमा पूजा गर्न आएकी रहिछन् । उनले गएर धाइआमालाई भेटे र काम लगाइदिन आग्रह गरे । यत्तिकैमा धाइआमाले पहिला जात सोधिन् । ब्राम्हण भनेपछि ब्रतबन्ध गरेको छ छैन्, जनै छ छैन् सबै कुराको नीतिखोजी गरिन् । ब्राम्हणको छोरो जनै लगाएकाले उनले भण्डारीलाई संगै दरबार लिएर गइन् ।

यहींबाट शुरु भयो उनको जीवनको टर्निङ पोइन्ट । उनलाई याद छ जयनेपाल हल हुंदै दरबारको दक्षिण गेटबाट राजदरबार प्रवेश गरेको । त्यसपछि धाइआमाले उनलाई सरसफाई गराएर कपडाको समेत व्यवस्था गरिदिइन् । धाइआमाले रानी ऐश्वर्यलाई जानकारी गराइन् र रानीले हेरौं त भनेपछि उनले शिवलाई रानी समक्ष लिएर गइन् । रानीसमक्ष हाजिर भए भण्डारी, रानीले भन्दा पनि राजकुमार निराजनले उनलाई देख्नेबित्तिकै राखौं भनेर जोड दिए । त्यसपछि राजदरबारमा उनको जागिर पक्का भयो ।

उता उनको घरपरिवार भने छोराको अत्तोपत्तो नहुंदा चिन्तित छन् । अहिलेको जस्तो मोबाइल फोनको सुविधा थिएन् । उनले आफ्नो बारेमा कसैलाई बताउन पनि पाएनन् । तर दरबारभित्र काम पाएकोमा उनी दंग थिए । दरबारमा बोलिने भाषा, अनुशासन र बोलीचालीका लागि उनलाई तत्कालिन राजा वीरेन्द्रका एडीसी जर्नेल ताराबहादुर बस्नेतले तालिम गराए । उनले दुई दिन आर्मी तालिम समेत गरे ।

दरबारमा बस्दै गर्दा तत्कालिन राजा स्व. वीरेन्द्रसंग पनि उत्तिकै निकट भए । दरवारभित्र पूजाका लागि फूल टिप्ने कामदेखि कुलपूजा गर्ने ठाउंसम्म पुग्थे उनी । नेपालीलिंकसंगको भेटमा उनले पुराना दिन स्मरण गरे, ‘मौसुफ वीरेन्द्रले कहिल्यै पनि मलाई तिमी भनेर बोलाइ बक्सेन । त्यसो त राजकुमारहरु दीपेन्द्र, निराजन, पारस, श्रुति, लगायत सबै अत्यन्त सरल र मिलनसार होइबक्सन्थ्यो । म करिब ५ महिनासम्म राजपरिवारकै सदस्य जस्तो भएर बसें ।’

भण्डारी सानो कद्का थिए, दरबारमा सबैले सानोबाजे भनेर बोलाउने गर्थे । यत्तिकैमा दीपेन्द्र अध्ययनका लागि बेलायत आउने तरखरमा थिए । उनले सानो बाजेलाई पनि मसंगै लिएर जान्छु भने । दीपेन्द्रले भनेपछि कसैले रोक्ने कुरै भएन । लन्डन जाने हो ? भनेर सानो बाजेलाई राजारानीले सोधे । उनले लगत्तै भने, ‘जान्छु मौसुफ ।’ त्यसपछि उनको लन्डनयात्रा पनि प्रारम्भ भयो । लन्डन आउन कागजी प्रक्रिया अघि बढ्न थाल्यो । लन्डन जानुभन्दा अघि एकपटक घर गएर आउ के के सामान किनमेल गर्ने हो लिष्ट बनाएर किन्न जाउ भनेर राजा रानीले भने । यो बेलासम्म घरमा भने छोरो कहां छ कसैलाई पत्तो थिएन ।

किनमेलदेखि टिकट लगायत सम्पूर्ण व्यवस्था दरबारबाटै मिल्यो, भण्डारी घरतिर लागे । त्यतिबेला चरिकोटसम्ममात्र गाडी जाने भएकाले त्यहांबाट चार जना भरिया लिएर फूलपातीको अघिल्लो दिन घर पुगे उनी । उता बुबा भने छोरो जिउंदो छैन् भनेर जुठो बार्ने तयारी गरिरहेका रहेछन् । एक्कासी छोरो देखेपछि बुबा बेहोश नै भए, निकै समय बोली समेत फुटेन ।

दशैंको बेला आफूले माया मारिसकेको छोरो घर पुग्दा हर्षको सिमा नै रहेन । केहिदिन गाउंमै बसे र तिहारको बेला काठमाण्डौं फर्किए । उनी आउंदा लन्डन आउन उनको सम्पूर्ण कागजात तयार भइसकेको थियो ।

२२ डिसेम्बर १९८९ मा राजकुमार दीपेन्द्र र बेलायतका लागि तत्कालिन राजदूत भरतकेशर जबराकासाथ दिल्ली हुंदै थाई एयरलाइन्सबाट गेटवीक एअरपोर्ट उत्रिए उनी । जीवनमा पहिलोपल्ट प्लेन चढेको त्यो पनि अन्तरराष्ट्रिय स्तरको, काठमाडौंबाट दिल्ली पुग्दा त बिरामी नै परेछन् भण्डारी । तर, दिल्लीबाट चाहिं दीपेन्द्रले औषधि खान दिएपछि मस्त निदाएर दीपेन्द्रले लन्डन आइपुग्यो भनेपछिमात्र मेसो पाएका रहेछन् ।

त्यसपछि एअरपोर्टबाट सिधै नेपाली दूतावास लन्डन पुगे जहां राजपरिवारका लागि दुई कोठाको छुट्टै रोयल सुइटको व्यवस्था थियो । दीपेन्द्र भने इटन कलेजमा अध्ययन गर्ने भएकाले उतै बस्थे । राजा वीरेन्द्र इटनमा पढ्दा जुन कोठामा बसेका थिए दीपेन्द्र पनि त्यहीं बस्थे । पछि पारस र निराजन पढ्न आउंदा पनि सोही कोठामा बसेर अध्ययन गरेका सम्झन्छन् शिव भण्डारी । दीपेन्द्रको पढाई ६ महिना बांकी रहंदा अमेरिकाबाट पारस शाह पनि त्यहीं आए र ४ वर्षसम्म बसेर पढे । पारस गएपछि निराजन पनि त्यही कोठामा बसेर अध्ययन गरे । उनीचाहिं लगभग ९ महिना मात्र पढेपछि नेपाल फर्किए ।

निराजन एकाएक हराएपछि खैलाबैला

निराजन फर्किनुको ठूलो रहस्य छ जुन रहस्यकाबारे भण्डारीलाई मात्र जानकारी थियो । तर, उनले आफूलाई नुनको सोझो सावित गराए ।

सन् १९९८ तिर इटन कलेजबाट निराजन हराउंदाको क्षण अविस्मरणीय भएको उनले सम्झिए । कलेजबाट निराजन हराएपछि निकै ठूलो हाहाकार मच्चियो, थुप्रै मानिसलाई गिरफ्तार गरियो । पछि स्याटलाइटको सहायताले नजिकै सेराटन होटलमा निराजन लुकेर बसेको फेला पारिएको भण्डारीले बताए ।

उनलाई भने निराजन कहां छन् भन्नेबारे जानकारी रहेछ । तर, उनले कसैलाई पनि भनेनन् । राजा वीरेन्द्रले समेत उनलाई फोन गरेर सोधे तर उनले रहस्य खोलेनन् । आखिर निराजनले पछि सबैका अगाडि बताइदिए, ‘सानोबाजेलाई मेरो घट्ना सबै थाहा थियो ।’ सानोबाजेको इमान्दारीताका कारण निराजनले त्यो बेला विशेष धन्यवाद समेत दिएका थिए रे ।

सानोबाजे करिब ९ वर्षसम्म लन्डन दूतावासको रोयल सुइटमा नै बसे । सन् १९९४ मा नेपाल गएर छाउनीमा कार्यरत कर्णेल डा. शिवराज घिमिरेकी बहिनी शारदासंग विवाह गरेपछि आफू लन्डन आएको उनले बताए । करिब ९ महिनापछि श्रीमतीलाई पनि लन्डनमा नै ल्याए । उनकी एक छोरीको जन्म दूतावासमै भयो । छोरीको नाम रानी ऐश्वर्यले नै ‘गौरी’ राखिदिइन्, पछि छोराहरु गौरव र सौरवको पनि रानीले नामाकरण गरिदिएकी थिइन् ।

राजदूतहरु भरतकेशर सिंह, सूर्यप्रसाद श्रेष्ठ र सिंह बहादुर बस्न्यातको कार्यकालमा उनी लण्डनस्थित नेपाली दूतावासमा थिए । प्राय छुट्टीमा राजकुमार दीपेन्द्रसंग संगै हिंड्ने गर्थे उनी । दीपेन्द्रलाई नेपाली दालभात र हड्डी भएको मासु एकदमै मन पर्दथ्यो । त्यसैले कहिलेकाहीं खाना लिएर दीपेन्द्रको कोठामा पुग्थे उनी । अनि प्रत्येक शुक्रबार सांझ चाहिं दीपेन्द्र दूतावासको गाडीमा सानोबाजेलाई हालेर अल्डरसटस्थित आर्मी क्याम्पको रोदीघर जान्थे । त्यहां गएर रातभरी नै खाने पिउने र नाचगानमा रमाउने गर्थे । ‘दीपेन्द्रले ‘पानको पात’ बोलको गीत निकै मजाले गाइबक्सिन्थ्यो’- सानोबाजे सम्झछन् ।

तर, पारस शाहसंग चाहिं खासै आउटिंग नगएको उनी बताउंछन् । पारस प्राय एक्लै बाहिर हिंड्ने गर्थे तर जति पैसा मागेपनि दिने एकदम इमान्दार भएको भण्डारीले स्मरण गरे । आफ्नो जन्मदिनमा पारसले उनलाई ५ सय पाउन्डको कोट किनिदिएका रहेछन् ।

राजपरिवारका सबै सदस्यहरुसंग पारिवारिक सम्बन्ध भएको उनी बताउंछन् । राजालाई पैसामा मात्र देख्ने करोडौं नेपालीमध्ये आफू प्रत्यक्ष रुपमा दिनहुं 
राजारानीको सामुन्ने हुन पाउंदा ज्यादै भाग्यमानी ठान्छन् उनी ।

रानी ऐश्वर्य अलि कडा स्वभावकी थिइन् तर राजा वीरेन्द्र भने जतिबेला पनि हांसेर बोल्ने अत्यन्त मिजासिलो स्वभावको भएको उनको अनुभव छ । पूर्व राजा ज्ञानेन्द्रसंग अझै पनि राम्रो सम्बन्ध रहेको र नेपाल गएका बेला नागार्जुनमा नियमित भेट्न गइरहने उनले बताए । भण्डारीको बुझाइमा ज्ञानेन्द्र चांडै रिसाउने तर तुरुन्तै ठिक हुने स्वभावका छन् । ज्ञानेन्द्र उनलाई औधी माया गर्छन् ।

तर, दरबार हत्याकाण्डले भने जीवनमा ठूलो चोट पुरयायो । ‘घट्ना सुनेपछि म झन्डै बेहोस नै भएं, सपना हो कि विपना भन्ने समेत पत्तो भएन’, भण्डारीले त्यो ह्दयविदारक हत्याकाण्ड सम्झिए, ‘दरबार हत्याकाण्डको खबर थाहा पाएपछि मैले कपाल काटेर ५ दिनसम्म नुन समेत खाइन ।’

त्यो घट्ना आफ्नो जीवनकै सबैभन्दा ठूलो पीडादायक र कहिल्यै बिर्सनै नसक्ने घट्ना भएको उनी बताउंछन् । दरबार काण्ड सम्झंदा मुटु काप्ने उनको अनुभव छ । ‘तर, जीवनमा जे कस्तो भएपनि सहेर सहर्ष स्वीकार्न बाध्य हुनुपर्ने रहेछ’, उनले दुःखेसो पोखे ।

नेपाली दूतावास लन्डनमा उनले चिने भोगेका राजदूतहरुमध्ये निवर्तमान राजदूत डा. दुर्गाबहादुर सुवेदी निकै उत्कृष्ट रहेको भण्डारी बताउंछन् । ‘पहिला सुवेदीज्यू हुंदा दूतावास गइन्थ्यो, उहांले पनि बोलाउनुहुन्थ्यो । अहिले त नयां राजदूत आउनुभएको छ रे, उहांसंग सम्पर्क भएको छैन्’- उनले भने । हालसम्म लन्डनमा ६ जना नेपाली राजदूतसंग संगत गरे का भण्डारी सुवेदी जति असल राजदूत फेरी आउन गार्है हुने जिकिर गर्छन् ।

दूतावासका तत्कालिन मिलिट्री अट्याचीमा छत्रमान गुरुङप्रति उनी निकै सकारात्मक छन् । ‘हामीलाई चाहिने बोली व्यवहार त हो । छत्रमान ज्यादै मिजासिला हुनुहुन्थ्यो’, उनले सम्झिए ।

सन् २००३ मा लन्डनको ग्रीनफोर्डमा घर किनेर अहिले उनी श्रीमती दुई छोरा र एक छोरीकासाथ बस्दै आएका छन् । छोरी चार्टर्ड एकाउन्टेन्ट, जेठो छोरा इन्जिनियर छन् भने कान्छो छोरा पाइलट पढ्ने तयारीमा छन् । जीवनमा जे भोगियो त्यसबाट सन्तुष्ट रहेको बताउंछन् उनी । प्रस्तुतिः नरेन्द्र बस्नेत

अल्डरसटस्थित आर्मी क्याम्पको रोदीघरमा  दीपेन्द्रले गाएको ‘पानको पात’ बोलको गीत-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू