बिहीबार, १९ मार्च, २०२६
23:12 | ०४:५७

नयां प्रणालीका कारण दूतावासबाट प्रदान गरिने राहदानी सेवा केही साता बन्द

नेपाली लिङ्क मार्च १९, २०२६

लन्डन । राहदानी विभागले राहदानी खरिदका लागि नयां आपूर्तिकर्तासंग सम्झौता गरी नयां प्रणालीमार्फत राहदानी जारी गर्न राहदानी प्रणाली, राहदानी पुस्तिका लगायतको आवश्यक तयारी गरिसकेकाले राहदानी सेवा केही समय प्रभावित हुने भएको छ ।

जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा तीनहप्तासम्म बन्द हुन सक्ने राहदानी विभागले जनाएको हो ।

अबको दुई महिनाभित्र हालको प्रणालीबाट नयां प्रणालीमा परिवर्तन हुने र उक्त अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म राहदानी सेवा केही साता बन्द हुनेछ । यसबाट लन्डनस्थित नेपाली दूतावासबाट समेत राहदानी लिन केही समय कुर्नुपर्ने भएको छ ।

नयां प्रणाली कार्यान्वयन भएपश्चात प्रणाली स्थिरीकरण हुन एकदेखि ३ महिनासम्म लाग्ने भएकाले उक्त अन्तरिम अवधिमा जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिंदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने राहदानी विभागले जनाएको छ ।

विभागले परिवर्तित अवस्थालाई मध्यनजर गर्दै आगामी ६ महिना (२०८३ असोज महिनासम्म) सम्म राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीहरूले अन्तरिम अवस्था सुरु हुनु अघि नै नियमअनुसार सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन अनुरोध गरेको छ ।

राहदानी विभागको सूचना:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू