मंगलबार, चैत ६, २०८०
09:32 | १५:१७

नेपाली सेनाका अधिकृतलाई बेलायतमा अर्को सफलता

नेपाली लिङ्क अप्रिल ३०, २०२१

लन्डन- यतिखेर प्रशिक्षणका लागि बेलायतमा रहेका नेपाली सेनाका एक अधिकृतले अर्को सफलता प्राप्त गरेका छन् । 

२१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमाण्डर्स ब्याटल कोर्स (पिसिबिसी) २००३ मा ‘टप इन्टरनेशल स्टुडेन्ट’ घोषित भएका हुन् । 

गत १८ जनवरी २०२१ देखि ३० अप्रिल २०२१ सम्म भएको तीन महिने उक्त कोर्समा आयरल्याण्ड, कोसोभो, हंगेरी, स्कटल्याण्ड र नेपालबाट सैनिक अधिकृतहरु सहभागी थिए । 

चुनौतिपूर्ण प्लाटुन कमाण्डिङ कोर्स गरेर ‘इन्फेन्ट्री स्किल’ देखाउन नेपाली सैनिक अधिकृतहरु विगतमा पनि सफल भएकाले यसले नेपालको छवि विश्वमा राम्रो बनेको थापाले बताए । 

आउंदो जुलाई अन्त्यमा नेपाल फर्कनु अघि थापाले अब कमाण्डो कोर्स गर्ने छन् । बेलायतको रोयल मरिनले सञ्चालन गर्ने अल आर्मी कमाण्डोले उक्त कोर्स गराउने थापाले बताए ।

सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा

यसअघि बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिमका क्रममा थापाले उत्कृष्ट क्षमता प्रदर्शन गरेबापत ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्ड पाएका थिए । २० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो ।

४४ साताको उक्त प्रशिक्षणमा विश्वका विभिन्न मुलुकका ३३ क्याडेट सामेल थिए । 

यसबाहेक थापाले प्लाटुन कमान्डर पास समेत पाएका थिए । ब्रिटिस अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्सट्रक्टर पास’ नेपाललाई पहिलोपटक दिइएको हो । थापा कुनै पनि बेला रोयल मिलिट्री एकेडेमीस्यान्डहर्स्टस आएर ब्रिटिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् ।

थापा बेलायती सेनाको एउटा मात्र कोटामा छानिएर तालिममा आउन सफल भएका हुन् ।

दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती भएका धादिङ त्रिपुरा सुन्दरी नगरपालिका निवासी थापाले बेलायतमा लिएको विभिन्न कोर्सले आफ्नो क्षमता अभिवृद्धि, बेलायती सेनाको कार्यशैली र रणनीति बुझ्ने अवसर एवं विभिन्न देशका उच्च दर्जाका सैनिकहरुसंगको अन्तरक्रियाले अन्तर्राष्ट्रिय सम्बन्धबारे धेरै ज्ञान हासिल गर्न पाएको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू