शनिबार, वैशाख ८, २०८१
09:24 | १४:०९

बेलायत एमालेमा यसरी भयो घुसपैठ

राजेन्द्र पुडासैनी अप्रिल ३०, २०२१

लन्डन । नेकपा एमालेको भातृ संस्थाका रुपमा जुलाई २०१७ मा बेलायतमा प्रवासी नेपाली मञ्च यूकेको चौथो अधिवेशनले म राजेन्द्र पुडासैनीको नेतृत्वमा सर्वसम्मत कमिटी निर्वाचित भयो । बेलायतका राजनीतिक संगठनमध्ये क्रियाशिल र प्रभावकारी संगठनका रुपमा थियो यो ।

सन् २०१८ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकता भएपछि प्रवास कमिटी झनै शक्तिशाली बनेको थियो । प्रवासी नेपाली मञ्चमा को अध्यक्ष बन्ने भन्ने निकै होडवाजी थियो । उक्त होडवाजीका बीचमा खड्गप्रसाद ओलीले आफ्नो गुटका भक्त गुरुङलाई अध्यक्ष बनाउन प्रयास गरेका थिए ।

तर, पार्टी स्थायी कमिटीले विधि र प्रक्रिया अनुसार नै तत्कालिन प्रवासी नेपाली मञ्च यूके अध्यक्ष राजेन्द्र पुडासैनीलाई नै जिम्मेवारी दियो भने माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्च यूके अध्यक्ष सुरेश गौतमलाई सचिवको जिम्मेवारी दियो ।

एकतापछि दुवै संगठनको नाम समेत परिवर्तन गर्दै प्रवासी नेपाली एकता मञ्च यूके राखिएको थियो । प्रवासमा दुई पार्टी एकताले यहाँको समुदायको हित र नेपालीका सुःख दुःखमा संगठन नेपाली समुदायसँग जोडिरहेको थियो । गैरआवासीय नेपालीका हक अधिकार नेपालमा स्थापित गराउने र सम्पत्ति माथिका अधिकारबारे पार्टीमार्फत सरकारलाई बुझाउन अन्तरक्रिया गरिरहेका थियौं । बेलायतस्थित नेपाली दूतावासमा नेपालीहरुको पीर मर्कामा सहयोग गर्ने काम जारी राखिएको थियो ।

तर, नेकपाभित्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीका कारण सरकारमा समस्या आएपछि असमझदारीहरु देखा पर्न थाले । पार्टीलाई विधि, प्रक्रिया र छलफलका माध्यमबाट लोकतान्त्रिक ढंगले चलाउन पार्टीका नेताहरुले पटक पटक गरेको अनुरोधलाई ओलीले वेवास्ता गर्दै अपारदर्शी ढंगले अध्यांरो कोठाबाट निर्णय गर्ने जस्ता अलोकतान्त्रिक र गैरप्रजातान्त्रिक व्यवहार गरिरहे । यसको प्रभाव प्रवासका संगठनहरुमा पनि परयो ।

नेकपाको आधिकारिक संगठन रहेपनि प्रधानमन्त्री खड्गप्रसाद ओलीकै निर्देशनमा भक्त गुरुङको संयोजकत्वमा प्रवास समूह गठन गरि गतिविधि गर्न थालियो । उक्त समूहले गैरकम्युनिष्ट र लोभी व्यक्तिहरु भेला पारि नेपालमा सरकारबाट काम गराइ दिने आश्वासन दिंदै विभिन्न प्रलोभनमा पारि नेकपाको प्रवास समूहसँग हुवहु नाम मिल्ने गरि प्रवासी नेपाली एकता मञ्च यूकेको नाममा समानान्तर कमिटी सञ्चालन गरयो ।

त्यो कमिटीमा राखिएका मानिसहरु खुलेर संगठनमा लागेका छैनन् । ओलीको निर्देशनमा बनेका कमिटीमा पनि २-४ जना मानिस बाहेक अन्य कमिटीका सदस्यहरुले ओलीको संसद विघटनलगायत अपारदर्शी कामको विरोध गरिरहेका छन् ।

सर्वोच्च अदालतको पछिल्लो निर्णयबाट दुई कम्युनिष्ट पूर्ववत अवस्थामा फर्किएपछि नेकपा (एमाले) को प्रवासी नेपाली मञ्च फर्कियो भने जनप्रगतिशील मञ्च यूके पनि आफ्नो पुरानो संगठनमै फर्कियो । ओली निकट साथीहरुले भने प्रवासी नेपाली एकता मञ्च यूकेकै नाममा समानान्तर कमिटी चलाइरहेका छन् । उनीहरु अझै अन्योलकै अवस्थामा छन् । एमाले एक हुने हो भने यी दुई संगठन पनि एक हुनु पर्ने देखिन्छ ।

ओलीको निर्देशनमा बनेको समानान्तर कमिटीमा पार्टीको सदस्यता नै नभएका, कम्युनिष्ट विरोधी, गैरकम्युनिष्टहरुलाई समेत कमिटीमा राखिएको छ । यद्यपि, बेलायतस्थित नेपाली समुदाय उनीहरुको गुटवन्दीबारे राम्रो जानकार छन् ।

ओलीको निर्देशनमा समानान्तर कमिटीमा लागेका मानिसहरु मुल संगठनमा निस्क्रिय भएकाले मैले अध्यक्षका नाताले कमिटी पुनर्गठन गरेको छु । पार्टी एकताका लागि मेरो पहल जारी छ । म सबैलाई समेटेर लैजाने प्रयत्नमा रहंदा भक्त गुरुङ नेतृत्वको समानान्तर कमिटीले ओलीको निर्देशनमा मात्रै काम गरिरहेको छ । विधि र प्रक्रिया अनुसार वैधानिक रुपमा एमाले सञ्चालन हुनुपर्छ भन्ने मेरो मान्यता छ ।

हामीले खड्ग ओलीले प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने बेलायतमा कानून रहेको भनेर संसारभर झुट बोल्दा त्यसलाई डटेर प्रतिवाद गरयौं । जसको प्रभाव नेपाली राजनीतिमा परेको देखिन्छ । जुन सम्मानित सर्वोच्च अदालतले पनि ओलीलाई गलत सावित गरिदिइसकेको छ ।

यहाँ भएको भए तत्काल राजीनामा दिनु पर्दथ्यो । तर, ओली नैतिकता नदेखाएर कुर्सीमै टांस्सिइरहेका छन् । उल्टो नेकपा एमालेलाई यहाँसम्म ल्याउन रगत र पसिना बगाउनेलाई कारवाही गर्ने धम्की दिइरहेको सञ्चार माध्यमबाट थाहा पाइरहेका छौं ।

कतिपय साथीहरु पार्टीभित्र चलेको दुई लाइन सघर्षका कारण कतै पनि खुलेका छैनन् । हाम्रो संगठनमा आवद्ध साथीहरु पार्टीका संगठित सदस्यहरु मात्र छन् । तर, ओली निकट संगठनका साथीहरुले भिन्न पार्टीमा रहेका व्यक्तिहरुलाई समेटिएर ठूलो कमिटी देखाउने नाममा सरकारबाट फाइदा दिलाइ दिने भन्दै बाटो बाटोमा हिंडेका व्यक्तिहरु पनि कम्युनिष्ट पार्टीका सदस्यका रुपमा राखेका छन् । त्यो अत्यन्तै आश्चर्यजनक विषय हो ।

(लेखक पुडासैनी प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष हुन् । उनी खनाल नेपाल समूहतिर छन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू