बिहीबार, वैशाख १३, २०८१
04:47 | ०९:३२

लन्डनका होम केयर व्यवसायी म्यूजिक भिडियो प्रोडक्सनतिर

नेपाली लिङ्क अप्रिल २९, २०२१

लन्डन । लन्डनमा शिक्षापछि स्वास्थ्य सम्बन्धि व्यवसायमा सफलता चुमिरहेका फत्त थापा म्यूजिक भिडियो प्रोडक्सनतिर लागेका छन् ।

होम इन्स्टेडका सञ्चालक थापाको निर्माणमा पहिलो म्यूजिक भिडियो यही ३ मेमा सार्वजनिक हुंदैछ । ‘सामिप्यता’ बोलको गीतमा उनले भिडियो निर्माण गरेका हुन् ।

‘नेपाली संगीतप्रतिको रुचीका कारण म यो प्रोजेक्टमा जोडिएं’, थापाले नेपाली लिंकसंग भने, ‘अहिले नेपाली संगीत उद्योगमा आमुल सुधार भएको छ । हामी अब हिन्दी गीतमा निर्भर हुनु पर्ने अवस्था नरहेपछि मैले नेपाली संगीत उद्योगलाई केही योगदान गर्न प्रेरित भएको हुं ।’

गुल्मीबाट आएर बेलायतमा स्थापित व्यवसायी थापाले भविष्यमा पनि म्यूजिक भिडियो निर्माणलाई निरन्तरता दिने बताएका छन् ।

प्रथम खड्काले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा प्रथम आफैं र नेहा गुरुङले अभिनय गरेका छन् । नेहा नयां अनुहार हुन् ।

प्रेमगीत ‘सामिप्यता’ सुभास पुरी र रबिसा अधिकारीले गाएका हुन् भने संगीत दीपक आइडीको छ । कमल सिंजाली मगरले एरेन्ज गरेका छन् । ‘वास्तवमा भिडियो ज्यादै आकर्षक बनेको छ’, थापाले भने, ‘मलाई आशा छ, दर्शक श्रोताले पनि रुचाइदिनु हुनेछ ।’

गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार थापाको ‘होम इन्स्टेड’ साउथ इष्ट लन्डनमा प्रतिष्ठित मानिन्छ । उक्त होमले स्थानीय काउन्सिल र अन्य विभिन्न संस्थाबाट अवार्डहरु पाइसकेको छ । उसले केही महिनाअघिमात्र ‘फाइभ स्टार इम्प्लोयर अवार्ड २०२०’ पाएको थियो ।

इंग्ल्याण्डको हेल्थ रेगुलेटर केयर क्वालिटी कमिसन (सिक्यूसी) बाट ‘आउटस्ट्याण्डिङ’ रेटिङ पाउने उक्त होम केयर ग्रीनवीच एण्ड बेक्स्लीमा एउटामात्र हो । इंग्ल्याण्डमा ३ प्रतिशत केयर प्रोभाइडरले मात्र यो ‘रेटिङ’ पाउंछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू