शनिबार, वैशाख १५, २०८१
00:44 | ०५:२९

कानूनी लडाईंमा उत्रिएका चार उपाध्यक्षसंग संरक्षक परिषदले वार्ता पहल गर्ने

एनआरएनए यूके आर्थिक अनियमितता मुद्दा

नेपाली लिङ्क अप्रिल २८, २०२१

लन्डन । संस्थामा आर्थिक अनियमितता भएको भन्दै कानूनी लडाईंमा उत्रिएका एनआरएनए यूकेका चार उपाध्यक्षसंग संरक्षक परिषदले वार्ता पहल गर्ने भएको छ ।

संघकी अध्यक्ष पुनम गुरुङको पहलमा मंगलबार झण्डै ५ घण्टा चलेको भर्चुअल संरक्षक परिषद बैठकले असन्तुष्ट पक्षलाई वार्ताको टेबलमा ल्याएर समस्या समाधानको पहल गर्ने निर्णय गरेको हो ।

एनआरएनए यूकेभित्र आर्थिक अनियमितता विषयको मुद्दा बेलायतको डार्टफोर्ड काउन्टी कोर्टमा विचाराधीन छ ।

संघमा आर्थिक मुद्दा ‘पेचिलो’ बन्दै गएपनि संरक्षकहरुले सहमतिको विकल्प पहिल्याउन वास्ता नगरेको भन्ने आरोप लागिरहंदा बैठक भएको हो ।

बैठकमा अध्यक्ष गुरुङसहित प्रमुख संरक्षक मेजर रि. डमर घले, संरक्षकहरु कुल आचार्य, सूर्य गुरुङ, योगकुमार फगामी, योगेन क्षेत्री, महेन्द्र कंडेल र महासचिव फडिन्द्र भट्टराई सहभागी थिए । बैठकमा संरक्षकहरु महन्त श्रेष्ठ, अशोक श्रेष्ठ र मुछेत्र गुरुङ सहभागी थिएनन् ।

मुद्दा मामिलामा जांदा समुदाय झन् विभाजित हुने र संघको साख पनि गिर्ने भन्दै बैठकमा चिन्ता व्यक्त भएको थियो ।

एनआरएनए केन्द्रमा आगामी कार्यकालका लागि अध्यक्षको दावेदार ठानिएका कुल आचार्यले आफूले विगतदेखि नै सहमति 
हुनुपर्ने धारणा राख्दै आएको बताउंदै सहमतिबाटै अगाडि बढ्न जोड दिएका थिए । अध्यक्ष गुरुङले मुद्दाबारे ‘अपडेट’ गराएकी थिइन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका चारजना उपाध्यक्ष प्रेमगाहा मगर, नारायण कंडेल, मोहन कार्की, रामचन्द्र पोखरेलले सोमबारआयोजित एउटा वहसमा सामाजिक संस्थाभित्र बसेर आर्थिक अनियमितता जस्ता गलत काम गर्ने विरुद्ध अदालत जानु परेको प्रष्टिकरण दिएका थिए ।

उनीहरुले संघमा आर्थिक 
पारदर्शीताको विषय उठाउंदा वास्ता नगरिएपछि आफूहरुले कानूनी बाटो रोज्नु परेको जिकिर समेत गरेका थिए । यस मुद्दामा पूर्व उपाध्यक्ष शेरबहादुर सुनार एवं इंग्ल्याण्ड राज्य परिषदका उपाध्यक्ष लालबहादुर गुरुङ (एलबीजेड) समेत जोडिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू