बेलायतका नेपालीले मन खोलेर सघाए दाङका आगलागी पीडितलाई


लन्डन । बेलायतवासी नेपालीले दाङका आगलागी पीडितहरुलाई स्वतस्फूर्त ३ हजार ३ सय पाउण्ड संकलन गरि हस्तान्तरण गरेका छन् ।
दाङको बंगलाचुली गाउंपालिका-३ का खोपीराम डांगी, खेतुलाल डांगी र वबीराम डांगी तथा लेखतापा गाउंस्थित एक दलित परिवार र सोही गाउंका एक पौडेल परिवारको घर जलेर पूर्ण रुपमा नष्ट भएपछि बेलायतका नेपालीले पीडितलाई ५ लाख ४० हजार रुपैयां सहयोग गरेका हुन् ।
खोपीराम डांगीलाई एकलाख २५ हजार रुपैयां, खेतुलाल डांगीलाई एक लाख २५ हजार रुपैयां, वबीराम डांगीलाई एक लाख २५ हजार रुपैयां, मवीर डांगीलाई ४० हजार रुपैयां, लेखतापस्थित एक दलित परिवारलाई एक लाख १० हजार रुपैयां र लेखतापकै पौडेल परिवारलाई १५ हजार रुपैयां हस्तान्तरण गरिएको चन्दा संकलन अभियानका एकजना संयोजक मोहनलाल ओलीले जनाए ।
नेपलिज सेफ एसोसिएसन यूकेका उपाध्यक्ष मोहनलाल ओली र सोही संस्थाका प्रवक्ता राजु बोहोराको संयोजनमा चन्दा संकलन गरिएको थियो । ओली र बोहोरा एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषदको कार्यसमिति सदस्य पनि हुन् ।
उक्त परोपकारी कार्यमा एड्ली नेपलिज फेमिली बर्मिङघम यूकेका समाजसेवीहरु शिवलाल पौड्याल, कुलबहादुर बिक, केशव बिक र पदम शाही पनि जोडिन आइपुगेका थिए ।
आगलागी पीडितको आर्थिक अवस्था कमजोर भएकाले थोरै भएपनि सहयोग गरिएको राजु बोहोराले बताए । संयोजक ओली र बोहोराले सम्पूर्ण दाताहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् । ‘अप्ठेरो परिस्थितिमा दाताहरुले जुन सहयोग दर्शाउनु भयो, हामी ज्यादै कृतज्ञ छौं’- मोहनलाल ओलीले भने ।
विदेशमा रहेपनि दुःख आपत परेका बेला नेपाल र नेपालीलाई सहयोग गर्नु आफूहरुको दायित्व भएको ओलीले बताए ।

मोहन ओली (बायां) र राजु बोहोरा
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५