मंगलबार, चैत ६, २०८०
11:38 | १७:२३

एनआरएनएद्वारा लाप्राक नमुना बस्ती हस्तान्तरण

नेपाली लिङ्क अप्रिल २२, २०२१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गोरखाको लाप्राकमा निर्मित नमुना बस्ती अधिकारिक रुपमा हस्तान्तरण गरिएको छ ।

शुक्रबार गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक समारोहबीच लाप्राक नमुना बस्तीका घरहरु लालपूर्जासहित धार्चे गाउंपलिकाका लाभग्राहीहरुलाई हस्तान्तरण गरे । उनीहरुले दाताहरुको नाम भएको शिलापत्रको अनावरण समेत गरे ।

२०७३ साल बैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नेपाल सरकार सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघबीच त्रिपक्षिय सम्झौता सम्पन्न भइ नमुना बस्ती निर्माण कार्य शुरु भएको थियो ।

विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउंपालिका वडा नम्बर ४ मा  गैरआवासीय नेपाली संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा निजी आवास निर्माण सम्पन्न भएको हो ।

हस्तान्तरण समारोहमा धार्चे गाउपालिका वडा नं. ४ का अध्यक्ष राजु गुरुङले सहभागीहरुको सम्मानमा स्वागत मन्तव्य दिए ।


प्रमुख अतिथि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नमुना बस्ती हस्तान्तरण गर्न पाएकोमा नेपाल सरकारको तर्फबाट संघ तथा सहयोग गर्ने सम्पूर्ण गैरआवासीय नेपाली तथा संघसंस्थाहरुप्रति आभार प्रकट गरे । उनले पूर्वाधार विकासका लागि प्राधिकरणले प्रति घर चार लाख अथवा २३ करोड रकम उपलब्ध गराउने बताए ।

संघका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परिश्रमबाट यो बस्ती निर्माण भइ हस्तान्तरण गर्न पाउंदा अत्यन्त खुशी लागेको बताउंदै निर्माण गर्न भन्दा त्यसको सम्भार गर्न अझ कठिन र महत्वपूर्ण रहेको औंल्याए ।

उनले बस्ती निर्माणमा सहयोग गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय, गैरआवासीय नेपालीहरु, केयर नेपाल, नेपाली सेना, लाभग्राहीहरु र गाउंपालिका तथा बडा कार्यालय लगायत अन्य संघसंस्थालाई धन्यवाद दिए ।

यसैगरी उनले प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घले, संरक्षक तथा निवर्तमान अध्यक्ष भवन भट्ट र सल्लाहकार जमुना गुरुङलाई विशेष धन्यवाद दिए ।

संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले झण्डै ५७, ६६,०४, ८३६.४९ रुपैंयाको लागतमा निर्माण भएको सो बस्तीका लागि आर्थिक सहयोग गर्ने विश्वभर छरिएका गैरआवासीय नेपालीहरु, संघसंस्थाहरु लगायत नेपाल सरकार, स्थानीय सरकार, सम्पूर्ण दाता एवं अन्य रुपमा सहयोग गर्ने सहयोगी सबैप्रति आभार तथा धन्यवाद व्यक्त गरे ।

तीन नम्बर गणका गणपति सहायक रथी कुमारबाबु थापाले नेपाली सेना यस पुनर्निमाण कार्यमा सहभागी हुने अवसर पाएकोमा गौरवान्वित भएको बताउँदै नेपाली सेना राष्ट्रिय निर्माणका विभिन्न काममा सहभागी रहँदै आएको जानकारी गराए ।

कार्यक्रममा धार्चे गाउंपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङले धन्यवाद मन्तव्य दिनुका साथै सहभागीहरुलाई मायाको चिनो दिएका थिए । जग्गाधनीपूर्जा सहित नमूना बस्तीका घरहरु हस्तान्तरण गरेकोमा उनले नेपाल सरकार र गैरअवासीय नेपाली संघप्रति धन्यवाद प्रकट गरे ।

कार्यक्रममा माननीय हरिराज अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिहरु, गाउंपालिकाका उपाध्यक्ष पुल माया गुरुङ, सल्लाहकार एसी शेर्पा, उपाध्यक्षहरु डा. बद्री केसी र रवीना थापा, सचिव गौरीराज जोशी, युवा संयोजक हिमाल गुरुङ, एसिया प्रशान्तका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने, अमेरिकाजका क्षेत्रीय उपसंयोजक रामचन्द्र पोखरेल, युरोपका क्षेत्रीय उपसंयोजक कृष्ण तिमिल्सिना, आइसीसी सदस्य चिन्तामणि सापकोटा, तमुधिं यूके प्रतिनिधि कृष्ण गुरुङ लगायत विभिन्न मुलुकबाट आएका गैरआवासीय नेपालीहरु, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधि, लाभग्राहीहरु लगायत स्थानीय जनताको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू