बिहीबार, वैशाख १३, २०८१
02:56 | ०७:४१

बेलायतमा लकडाउन नखुल्दै संक्रमणको अर्को छालको चेतावनी

नेपाली लिङ्क अप्रिल २२, २०२१

फोटो बीबीसी

लन्डन । बेलायतमा कोभिड संक्रमण नियन्त्रणको प्रयासमा लागू लकडाउन अहिले हट्ने क्रममा छ । सरकारले चरणबद्ध रुपमा लकडाउन खुकुलो पार्दै गइरहंदा संक्रमण फेरि बढेर अर्को छाल सामना गर्नुपर्ने अवस्था आउन सक्ने चिन्ता शुरु भएको छ । 

बेलायत सरकारका वैज्ञानिक सल्लाहकारमध्ये एक प्रा एडम फिनले अबका केही महिनाभित्रै बेलायतमा संक्रमण पुनः एकपटक उत्कर्षमा पुग्न सक्ने चेतावनी दिएका छन् । भ्याक्सिनेसन र इम्युनाइजेसनसम्बन्धि सरकारको जोइन्ट कमिटीका सदस्य समेत रहेका उनले बेलायत अझै पनि जोखिममुक्त नरहेको भन्दै लकडाउन खुलाउने मितिमा पुनर्विचार आवश्यक पर्नसक्ने बताएका छन् । 

धेरै वयस्कहरुले कोभिड खोप पाइनसकेको अवस्थामा लकडाउन खुकुलो भएपछि संक्रमण फेरि बढ्दै जाने सम्भावना प्रा फिनले औंल्याएका छन् । 

प्रधानमन्त्री बोरिस जोन्सनले भने सरकारले लकडाउन खोल्नका लागि यसअघि तय गरेको मितिबाट पछि हट्नुपर्ने अवस्था आइनसकेको बताएका छन् । 

‘अहिलेसम्म पनि हामीले लक्ष्य राखेको समयमै लकडाउन खोल्न सक्ने अवस्था छ’, प्रधानमन्त्री जोन्सनले भने, ‘तर सरकारका वैज्ञानिक सल्लाहकारहरुले यही वर्ष फेरि एकपटक संक्रमण उत्कर्ष बिन्दुमा पुग्न सक्ने आँकलन गरेका छन् ।

बेलायतमा हालसम्म कुल जनसंख्याको झण्डै २० प्रतिशत अर्थात् एक करोड बढी वयस्कले कोभिड खोपका दुवै डोज पाइसकेका छन् । 

लकडाउन खुकुलो पार्दा संक्रमण बढ्न थाल्ने स्वभाविक आँकलन बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरुको छ । तर संक्रमण कहिलेसम्म फेरि उत्कर्ष बिन्दुमा पुग्छ र यो अघिल्ला दुई छालहरुजत्तिकै खतरनाक हुन्छ वा हुन्न भन्नेबारे भने अहिले नै अनुमान गर्न नसकिने उनीहरु बताउँछन् । 

कोभिड खोप वितरणका कारण पहिलेकै तुलनामा संक्रमण उच्च नहोला कि भन्ने आशा उनीहरुको छ । तर खोप वितरण प्रभावकारी र तीव्र रुपमा हुन नसके भने जोखिम उच्च रहनेतर्फ उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । 

लकडाउन खुलेपछि पनि सर्वसाधारणले आवश्यक सावधानी र सतर्कता अपनाउन छाडे संक्रमणको अर्को छाल झन् चाँडै सामना गर्नुपर्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू