मंगलबार, चैत ६, २०८०
10:12 | १५:५७

एनआरएनए यूके अध्यक्षको दौडः ‘क्लाइमेक्स’मा दीपक मैदानमा

नेपाली लिङ्क अप्रिल २२, २०२१

लन्डन । एनआरएनए यूके नयां नेतृत्वका लागि अध्यक्ष आकांक्षीहरु मैदानमा उत्रने क्रम शुरु भइरहंदा अर्का सशक्त दावेदारको इन्ट्री भएको छ । एनआरएनए इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष दीपक श्रेष्ठ आगामी निर्वाचनमा एनआरएनए यूके अध्यक्षको उम्मेदवारी दिने निचोडमा पुगेका छन् ।

एक दशकदेखि एनआरएनए अभियानमा सक्रिय श्रेष्ठले यसअघि एनआरएनए यूकेकै कार्यसमितिमा पनि सदस्य र कोषाध्यक्षका रुपमा काम गरिसकेका छन् ।

बुद्ध फाउण्डेसन यूकेका संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठले एनआरएनएसहित सामाजिक संघसंस्थामा आफ्नो लामो सांगठनिक अनुभव, बेलायती समुदायका अग्रजको उत्कट चाहना र प्रोत्साहनसंगै संघमा आमुल सुधारको उद्धेश्य लिएर अध्यक्षमा उम्मेदवारी दिने सोच बनाएको बताए ।

एनआरएनए इंग्ल्याण्ड राज्य परिषदमा सफल नेतृत्वपछि श्रेष्ठलाई एनआरएनए यूके हांक्ने आत्मविश्वास बढेको धेरैको विश्वास छ । कतिपयले इंग्ल्याण्ड राज्य परिषदका गतिविधिले एनआरएनए यूकेलाई नै छायांमा पारिदिएको ठान्दथे ।

केही वर्षअघि मुछेत्र गुरुङ नेतृत्वको एनआरएनए यूके कार्यसमितिमा कोषाध्यक्षका रुपमा निभाएको सशक्त भूमिकाबाट दीपक धेरैको मन जित्न सफल भएका थिए । त्यतिबेलैदेखि उनलाई एनआरएनए वृत्तमा भावी अध्यक्षको लागि सम्भावित पात्रका रुपमा लिन थालिएको थियो ।

‘नेतृत्व सम्हाल्ने सहि समय यही हो भन्ने लाग्यो । जब जब संघ विवादको घेरावन्दीमा पर्छ, आफ्नो ट्रयाकबाहिर निस्कन्छ त्यो बेला एउटा इमान्दार सामाजिक कार्यकर्ता भएको नाताले चिन्ता बढ्ने रहेछ’, श्रेष्ठले भने, ‘एनआरएन हामी सबैको साझा प्लेटफर्म हो । यसलाई अग्रगामी परिवर्तन गरि लैजाने दायित्व हामीमा आएको छ ।’ एनआरएनए यूकेमा अहिले आर्थिक अनियमितता र मुद्दा मामिलाका कुराले घटिरहेको साखप्रति श्रेष्ठको संकेत थियो ।

बेलायतको नेपाली समुदायका निर्विवाद अभियन्ता श्रेष्ठले जति काम गरे, अरुको भन्दा पृथक थियो । बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष श्रेष्ठले लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाउने परम्परा शुरु गरेर निकै प्रशंसा बटुले । भारतले बुद्ध आफ्नो देशमा जन्मिएको भ्रम छरिरहंदा दीपकको मन बेचैन हुन्थ्यो । अन्तर्राष्ट्रिय स्तरमा भारतीय भ्रम निराकरण गर्ने एउटै माध्यम उनले ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाउने सोच निकाले ।

त्यसपछि बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूके, नेपाल पर्यटन बोर्ड बेलायत आदि संस्थाको सहकार्यमा लन्डनको मुटुमा बुद्ध जयन्ती मनाउन थालियो ।

बुद्ध फाउण्डेसन यूकेले कपिलवस्तुमा वुद्ध वृद्धाश्रम पनि निर्माण गरिरहेको छ ।

श्रेष्ठ एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषदको अध्यक्ष भएपछि यसले धेरै उल्लेखनीय कार्य गरेको छ । २१ मार्चमा सम्पन्न बेलायतको राष्ट्रिय जनगणनामा नेपाली पहिचान स्थापित गर्न परिषदले अभियान नै शुरु गरेर बेलायतमा एउटा बेग्लै माहोल सृजना गरिदिएको थियो ।

परिषदले शनिबार लन्डन वुलवीच–ब्राइटन च्यारिटी साइकल यात्रा गर्यो । उक्त इभेन्टमार्फत संकलित रकममध्ये हेल्प नेपाल नेटवर्कद्वारा धुलिखेलमा सञ्चालित बालगृहलाई ४ लाख रुपैयां र बुद्ध फाउण्डेशन यूकेद्वारा कपिलवस्तुमा निर्माणाधिन बुद्ध वृद्धाश्रमका लागि एकलाख ९२ हजार रुपैयां हस्तान्तरण गरिसकिएको छ ।

परिषदले ‘नेपालमा गैरआवासीय नेपालीहरुको सम्पतिको अधिकार र नागरिकता निरन्तता’ बारे एक अन्तरक्रिया गरि अल्डरसट सुझावपत्र जारी गरेको थियो । गैरआवासीय नेपाली संघले लामो समयदेखि उठाउंदै आएको नागरिकता निरन्तरता र सम्पतिको अधिकारका सम्बन्धमा सहभागीहरुबाट प्राप्त सुझावका आधारमा गैरआवासीय नेपाली कानून र गैरआवासीय नेपाली नागरिकतामा हुनुपर्ने व्यवस्था सम्वन्धमा कार्यक्रममा जोड दिइएको थियो ।

परिषदले बेलायतमा कोभिड १९ महामारी बढिरहंदा एनआरएनए यूकेसंग मिलेर नेपाली समुदायमा विभिन्न सहयोगहरु सञ्चालन गरेको थियो । एनआरएनए यूके कोभिड सहायता अभियानका लागि आवश्यक कोष संकलनको नेतृत्व पनि श्रेष्ठले नै गरेका थिए ।

हंसिलो स्वभाव, च्यारिटीमा सधैं अग्रस्थान, विवादरहित स्वच्छ छवि एवं संस्था र जिम्मेवारीप्रति सधैं लगनशील, इमान्दार भएका कारण पनि दीपक नेपाली समुदायमा प्रिय बने । अर्कालाई होच्याएर, मन दुखाएर वा खुट्टा तानेर आफू माथि चढ्ने उनको मनसाय कहिल्यै देखिएन ।

यसपटकको एनआरएनए यूके नेतृत्व दौडमा पनि दीपकलाई यहाँस्थित नेपाली संघसंस्थाको बलियो साथ मिलेको छ । ‘बेलायतका मुख्य मुख्य संघसंस्थासंग मैले शुरुदेखि नै छलफल र सल्लाह गर्दै आएको छु । सबैको साथ र सहभागिता जुटाउँदै एनआरएनए यूकेलाई बेलायतका सबै नेपालीको साझा र सांच्चिकै अभिभावक संस्था बनाउने संकल्पसहित म अघि बढेको छु’, उनले भने ।

व्यवसाय र समाजसेवा दुवैमा अगाडि


बेलायतका सफल युवा नेपाली व्यवसायीका रुपमा स्थापित छन् श्रेष्ठ । सन् २००७ मा बेलायत आएदेखि नै उनले व्यवसायिक र सामाजिक जीवनलाई संगसंगै अघि बढाउँदै ल्याएका छन् ।

श्रेष्ठको बेलायतमा क्यास एण्ड क्यारी, पब र प्रोपर्टी व्यवसाय छ भने नेपालमा बेलुन नेपाल प्रा. लि., लुम्बिनी क्रसर प्रा. लि., हिमालयन ग्लोवल इन्भेष्टमेन्ट प्रा. लि. मार्फत विभिन्न व्यवसाय चालु छन् ।

बेलुन प्रालि नेपाल, काठमाडौंले नेपालमा पहिलोपटक पर्यटकीय नगरी पोखरामा ‘हट एयर’ बेलुन सेवा शुरु गरि पोखराको मनोरम दृश्यावलोकन गर्ने व्यवस्था गरेको छ ।

उक्त साहसिक खेलले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

श्रेष्ठ चलचित्र निर्माता पनि हुन् । उनको समेत लगानी रहेको नेपाली चलचित्र ‘निरफुल’ प्रदर्शनको तयारीमा छ ।

चाँडै एक औपचारिक कार्यक्रममार्फत् आफ्नो उम्मेदवारी घोषणा र प्रतिबद्धतापत्र सार्वजनिक गर्ने श्रेष्ठले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू