मंगलबार, चैत ६, २०८०
09:08 | १४:५३

‘ब्रिटिश आर्ट पुरस्कार’ को मनोनयनमा परिन् नेपाली चित्रकार

अनलाइन भोटको लागि अपिल

नेपाली लिङ्क अप्रिल २१, २०२१

‘पोर्ट्रेट आर्टिस्ट’ सरिता महर्जन

लन्डन । बेलायतस्थित एक नेपाली चित्रकार यहाँको चित्रकलासम्बन्धि एक राष्ट्रिय पुरस्कारको लागि मनोनयनमा परेकी छन् । 

बेलायतको वेष्ट मिडल्याण्डमा बस्दै आएकी ‘पोर्ट्रेट आर्टिस्ट’ सरिता महर्जन ‘द भाइकिङ क्रुजेज् ब्रिटिश आर्ट प्राइज २०२१’ का लागि मनोनयनमा परेकी हुन् । 

‘आर्टिस्ट्स एण्ड इलुस्ट्रेटर्स’ नामक चित्रकलासम्बन्धि लोकप्रिय बेलायती म्यागेजिनले यो पुरस्कार दिन लागेको हो । पुरस्कारका लागि बेलायतभरबाट अनलाइनमार्फत आवेदन गर्ने सयौं चित्रकारहरुबाट छनौट भएका ५० जनामा सरिता परेकी हुन् । 

महामारीका कारण सिर्जित अनिश्चितता र निराशा झल्काउने सरिताको चित्रमार्फत् उनी यो पुरस्कारको लागि मनोनित भएकी हुन् । उनीसंगै मनोनित सबै ५० चित्रकारले तयार पारेका चित्रकलाको मुल्यांकनपछि निर्णायकहरुले पहिलो, दोस्रो र तेस्रो स्थानका विजेता घोषणा गर्नेछन्   

त्यस्तै, अनलाइन भोटिङमार्फत् सबैभन्दा बढी मत पाउनेले ‘पिपल्स् च्वाइस् अवार्ड’ हात पार्नेछन् । 

विजेताले नगद २ हजार पाउण्डसहित कुल १० हजार पाउण्ड बराबरका विभिन्न पुरस्कार पाउनेछन् । जसमा ७ हजार पाउण्डको रिभर क्रुज र आर्टिस्ट्स एण्ड इलुस्ट्रेटर्स म्यागेजिनमा फिचरदेखि बेलायतका राष्ट्रिय स्तरका प्रदर्शनीहरुमा चित्रकला प्रदर्शन गर्ने अवसरसम्म समावेश छन् । 

पुरस्कारका लागि मनोनित हुने सबै कलाकारका चित्र यही वर्ष आयोजना हुने लन्डन ग्यालरीमा पनि राखिनेछन् । 

पुरस्कारका लागि मनोनित सरिताको चित्र

ललितपुर ग्वार्को घर भएकी सरिता पछिल्लो डेढ दशकदेखि ‘पोर्ट्रेट आर्टिस्ट’ का रुपमा सक्रिय छन् । बेलायतको युनिभर्सिटी अफ वुल्भरह्याम्पटनबाट फाइन आर्टमा मास्टर्स गरेकी उनले १० वर्षअघि बेलायत आउनुअघि काठमाडौं युनिभर्सिटीबाट फाइन आर्टमै ब्याचेलर डिग्री हासिल गरेकी थिइन् । 

सरिता अहिले फुलटाइम रुपमा चित्रकलामा सक्रिय छन् । उनी बेलायतसहित अमेरिका, अष्ट्रेलिया र नेपालसम्म पनि आफ्ना ग्राहकहरु कमाउन सफल छन् । बेलायतमा अहिलेसम्म दर्जनौं संख्याका क्षेत्रीय तथा राष्ट्रिय स्तरका चित्रकला प्रदर्शनीमा पनि उनले आफ्ना चित्रहरु प्रदर्शन गरिसकेकी छन् । 

उनले बेलायतमै यसअघि पनि चित्रकलाकै माध्यमबाट कयौं सम्मान र पुरस्कार जितिसकेकी छन् । 

बेलायतको राष्ट्रिय स्तरको पुरस्कारका लागि मनोनयनमा परेपछि यसले आफ्नो करियरमा थप एक्सपोजर मिल्ने अपेक्षा सरिताको छ । ‘यो पुरस्कार जित्न सके यसले मलाई यहाँको नेश्नल लेभलकै एक्सपोजर दिलाउनेछ भन्ने लागेको छ’, उनले नेपाली लिंकसँग भनिन् ।  

भोटको लागि अपिल

‘ब्रिटिश आर्ट प्राइज २०२१’ का लागि मनोनित हुँदा उत्साहित छन् सरिता । 

बेलायतको राष्ट्रिय स्तरकै पुरस्कारमा भएको मनोनयनलाई उनले आफ्नो कामबाट नेपाललाई चिनाउने अवसरका रुपमा लिएकी छन् ।

‘म मेरो काममार्फत् मेरो देश नेपाललाई चिनाउन अझै बढि समर्पित भएर लागेकी छु । तपाईंहरुको माया र साथको आशा गरिरहेकी छु’ , पिपल्स्  च्वाइस् अवार्डका लागि सम्पूर्ण नेपालीमाझ भोटिङको अपिल गर्दै सरिताले भनेकी छन्, ‘एक नेपाली कलाकारलाई उसको सपना हासिल गर्नमा सघाउन एक मिनेट समय दिएर भोट गरिदिनुहुन म आग्रह गर्दछु ।’

भोटिङका लागि मे महिनाको २७ तारिखसम्मको समय रहेको उनले जानकारी दिइन् ।  

सरितालाई भोट गर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू