मंगलबार, वैशाख ४, २०८१
16:05 | २०:५०

बेलायतमा कोरोनाबाट एकसातामा १६८ को मृत्यु

२४ घन्टामा २२ जनाको मृत्यु

नेपाली लिङ्क अप्रिल २१, २०२१

लन्डन । बेलायतमा २४ घन्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

पछिल्लो एक सातामा बेलायतमा कोरोनाका कारण १६८ जनाले ज्यान गुमाएका छन् । अघिल्लो साताको तुलनामा यो साता मृतक संख्यामा २८.२ प्रतिशतले कमी आएको स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ ।

योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ३२७ पुगेको छ । तर, मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या एक लाख ५० हजार ८४१ पुगेको छ ।

यसैगरी बेलायतमा बितेको २४ घन्टामा दुई हजार ३ सय ९६ संक्रमित थपिएका छन् । यससंगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ९५ हजार ७०३ पुगेको छ ।

एकसातामा १७ हजार २३९ जना नयाँ संक्रमित थपिएका छन् । एकसाताभित्र  संक्रमित संख्यामा पनि ९.४ प्रतिशतले ह्रास आएको छ ।

बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख १ हजार ६४२ छ भने ४१ लाख ६६ हजार ७३४ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि कमी आएको छ । हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ३०० मा झरेको छ ।

त्यस्तै, पछिल्लो तथ्यांक अनुसार १९२ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या दुई हजार ४ छ ।

४ करोड ३९ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड ३९ लाख १५ हजार ५५९ डोज खोप वितरण भएको छ ।

तीन करोड ३१ लाख ३९ हजार ७४२ जनाले खोपको पहिलो र एक करोड ७ लाख ७५ हजार ८१७ जनाले दोस्रो डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू