बिहीबार, वैशाख १३, २०८१
07:36 | १२:२१

नेपालीसंग नजिक अल्डरसटका सांसद डोकेर्टी बेलायतको ‘भेट्रान मिनिस्टर’ नियुक्त

नेपाली लिङ्क अप्रिल २१, २०२१

लन्डन । बेलायतमा नेपालीहरुको सबैभन्दा बाक्लो बसोबास रहेको अल्डरसट क्षेत्रका सांसद लियो डोकेर्टी बेलायत सरकारका ‘भेट्रान मिनिस्टर’ बनेका छन् ।

स्थानीय नेपाली समुदाय र गोर्खाहरुसंग समेत नजिक सत्तारुढ कञ्जरभेटिभ पार्टीका सांसद डोकेर्टीलाई बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘मिनिस्टर फर डिफेन्स पिपल एण्ड भेट्रान’ मा नियुक्त गरेका छन् ।

रक्षा मन्त्रालयअन्तर्गत रहने सहायकमन्त्री स्तरको सो भूमिकामा रहेका मन्त्री जोनी मर्करले राजीनामा गरेसंगै प्रधानमन्त्रीले डोकेर्टीलाई नियुक्त गरेका हुन् ।

‘भेट्रान मिनिस्टर’का रुपमा भेट्रानहरुको कल्याणका लागि सरकारी स्तरबाट उपयुक्त नीति निर्माण र कार्यान्वयन गर्नु उनको प्रमुख जिम्मेवारी रहनेछ ।

सन् २०१७ को जुनदेखि अल्डरसटका सांसद रहँदै आएका डोकेर्टी आफै पनि पूर्व सैनिक हुन् । उनले युद्धग्रस्त अफगानिस्तान र इराकमा खटिएर समेत सेवा गरेका थिए ।

बेलायत सरकारका रक्षामन्त्री बेन वालेसले नवनियुक्त ‘भेट्रान मिनिस्टर’ डोकर्टीलाई आफ्नो टीममा स्वागत गर्न पाउँदा आफू खुशी र उत्साहित रहेको जनाएका छन् ।

डाकेर्टीले सेना र राजनीति दुवैमा गतिलो अनुभव हासिल गरिसकेको उल्लेख गर्दै मन्त्री वालेसले उनले भेट्रानहरुको पक्षमा महत्वपूर्ण नतिजा निकाल्ने गरी काम गर्ने आशा व्यक्त गरेका छन् ।

गोर्खा र नेपालीसंग नजिक

नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसटका सांसद डोकेर्टी स्थानीय भूपू गोर्खा र नेपाली समुदायसंग पनि निकै नजिक छन् ।

‘भेट्रान मिनिस्टर’ का रुपमा उहाँको नियुक्तिले भूतपूर्व गोर्खाहरुको मागहरुको सुनुवाइका लागि थप अनुकुल वातावरण निर्माण हुने आशा हामीलाई पलाएको छ’, गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले नेपाली लिंकसंग भने ।

कञ्जरभेटिभ पार्टीबाटै अल्डरसटका काउन्सिलर उम्मेदवार जीव बेल्वासेले भेट्रान मिनिस्टर नियुक्त डोकेर्टीलाई नेपाली समुदायका असल मित्रका रुपमा लिन्छन् ।

‘डोकेर्टीसंग हाम्रो नेपाली समुदायको निकै गहिरो सम्बन्ध छ । यहाँको नेपाली समुदायका हरेक अगुवासंग उहाँको व्यक्तिगत स्तरमै चिनाजान र सम्पर्क छ’, ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष समेत रहेका बेल्वासेले भने, ‘बेलायत सरकारको भेट्रान मिनिस्टरमा उहाँको नियुक्ति भूतपूर्व गोर्खा र सिंगो नेपाली समुदायका लागि निकै खुशीको कुरा हो ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू