शुक्रबार, चैत १६, २०८०
06:08 | ११:५३

काभ्रे जिल्लाको पर्यटन प्रवर्द्धन् गर्न फोटोग्राफी प्रतियोगिता गरिंदै

मिलन शर्मा अप्रिल २१, २०२१

लन्डन । काभ्रेपलाञ्चोक जिल्लामा आन्तरिक र अन्तरराष्ट्रियस्तरको पर्यटन प्रवर्द्धन् गर्ने उद्धेश्यले एक फोटोग्राफी प्रतियोगिता गरिने भएको छ । 

अन्तरराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजले आयोजना गर्न लागेको प्रतियोगितामा काभ्रे सेवा समाज सह-आयोजक छ । 

प्रयियोगितामा सहभागिताका लागि आगामी बैशाख ३१ भित्र काभ्रे जिल्लालाई प्रतिनिधित्व गर्ने कुनै पनि फोटो आयोजकलाई पठाउनुपर्नेछ ।

प्रतियोगितामा प्रथम पुरस्कार बीस हजार रुपैयाँ, दोस्रो पुरस्कार पन्ध्र हजार, तेस्रो पुरस्कार दश हजार र पपुलर फोटोलाई पांच हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको नतिजा जेठ ८ गते घोषणा गरिनेछ । 

गत अप्रिल १३ का दिन जुममार्फत सम्पन्न नयाँ वर्ष शुभकामना अदानप्रदान कार्यक्रममा प्रतियोगिता तयारीबारे छलफल गरिएको थियो ।

त्यस अवसरमा अध्यक्ष दीपक खरेलले सन् २०१३ देखि नै विश्वव्यापी रुपमा सम्पूर्ण काभ्रेलीहरुलाई समेट्ने प्रयास भएपनि सन् २०१७ मा मात्र संस्था स्थापना गर्न सफल भएको बताए ।

कार्यक्रममा फोटो प्रतियोगिताका संयोजक तथा निवर्तमान अध्यक्ष कपिल देव थापाले विदेशमा रहेका जिल्लाका साथीभाईबीच संजाल फैलाउनु र परेको बेलामा नेपालमा सहयोग पुर्याउनु नै संस्थाको मुख्य उद्देश्य रहेको बताए ।

काभ्रे सोसाइटी यूकेका अध्यक्ष रविन्द्र शर्माले आफू जन्मेको ठाउँको पर्यटकीय स्थानहरुको प्रचारप्रसार र प्रवर्द्धन् गर्ने उद्धेश्य राखिएको फोटोग्राफी प्रतियोगिताको सफलताको कामना गरे ।

संस्थाका सचिव मोहन विष्टले संचालन गरेको कार्यक्रममा काभ्रे सोसाइटी यूकेका सदस्यहरूको पनि सहभागिता थियो ।

प्रतियोगितासम्बन्धि नियमहरु:

१) फोटो जेपीजी फर्म्याटमा हुनुपर्नेछ ।

२) काभ्रे जिल्लाको कुनैपनि पर्यटकीय स्थलको फोटो समावेश हुनुपर्नेछ ।

३) फोटो स्थान, खिचिएको स्थान, मिति र समयको साथै कुन माध्ययमबाट लिइएको हो त्यसको विवरण तथा त्यस स्थानको छोटो परिचय पनि समावेश गर्नुपर्नेछ ।

४) फोटो यस संस्थाको इमेल ([email protected]) मा बैशाख ३१ गते भित्र पठाउनुपर्नेछ ।

५) जेष्ठ ८ गते विजेता घोषणा गरिनेछ ।

६) प्रथम पुरस्कार रु २० हजार, द्धितीय पुरस्कार रु १५ हजार, तृतीय पुरस्कार रु १० हजार तथा पपुलर फोटोलाई रु ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

७) एक प्रतियोगीको एक मात्र फोटो सहभागी गराइनेछ र प्रतियोगितामा समावेश भएका फोटोहरुको स्वमित्व आयोजककै हुनेछ । उत्कृष्ट ठहरिएका फोटोहरुलाई स्थानीय फोटो प्रदर्शनीमा समेत प्रदर्शन गरिनेछ ।

८) उत्कृष्ट फोटो छनौट प्रक्रिया आयोजकले निर्धारण गरेबमोजिम हुनेछ ।

९) फोटो जस्ताको तस्तै  हुनुपर्नेछ, कुनै पनि माध्ययमले सम्पादन गरेको पाइएमा मान्य हुनेछैन ।

सन् २०१७ मा कपिल देव थापाको अध्यक्षतामा स्थापित अन्तरराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको दोश्रो कार्यसमिति स्पेन निवासी  दीपक खरेलको अध्यक्षतामा सन् २०१९ मा गठन भएको हो ।

काभ्रे सोसाइटी यूकेले पनि नेपालको काभ्रेपलाञ्चोक जिल्ला जन्म भइ हाल बेलयातका विभिन्न शहरहरु बसोवास गर्ने काभ्रेलीहरुलाई  एक ठाउँमा संगठित गर्दै काभ्रे सोसाइटी गठन गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू