शुक्रबार, वैशाख ७, २०८१
04:33 | ०९:१८

बस्नेत र राणालाई वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठान पुरस्कार

नेपाली लिङ्क अप्रिल २०, २०२१

लण्डन । ‘वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठान’ ले हरेक वर्ष प्रदान गर्दै आएका ‘वसुन्धराश्री’ र ‘मानश्री’ पुरस्कार यस वर्ष क्रमशः वरिष्ठ गायक कुमार बस्नेत र चर्चित गायिका श्रीमती मीरा राणालाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानका सदस्यसचिव कृसु क्षेत्रीले एक वक्तव्य जारी गर्दै प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा २०७८ साल वैशाख ६ गते बसेको विशेष बैठकले बस्नेत र रानालाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएका छन् ।

मौलिक र उत्कृष्ट नेपाली लोकगीतको संकलन, गायन र संरक्षणद्वारा नेपाली संगीतलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली गीत, नेपाली भाषा र नेपाली जातिको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गरेको भन्दै वरिष्ठ गायक बस्नेतलाई वसुन्धराश्री पुरस्कार २०७८ प्रदान गर्ने निर्णय गरिएको हो ।

पुरस्कारको साथमा नगद ७५ हजार रुपैँयासहित सम्मानपत्र अर्पण हुनेछ । 

त्यसैगरी, प्रज्ञा प्रतिष्ठानको उक्त विशेष बैठकले आधुनिक नेपाली गीत र संगीतको सिर्जना र गायनद्वारा नेपाली संगीतलाई स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली संगीतमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्ने चर्चित गायिका मीरा राणालाई वि. सं. २०७८ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। 

पुरस्कारको साथमा नगद ५० हजार रुपैँयासहित सम्मानपत्र अर्पण हुनेछ ।

वि.सं. २००० साल आषाढ १७ गते काठमाडौँमा जन्मिएका वरिष्ठ लोकगायक कुमार बस्नेतले १७ वर्षको उमेरदेखि मौलिक नेपाली लोकगीतहरुको संकलन र गायन प्रारम्भ गरी हालसम्म नेपाली गीतिभण्डारमा तीन सयभन्दा बढी गीत समर्पण गरेका छन् । बस्नेतका लोक कोसेली, नयाँ कोसेली, मादल घनघन, कुमार दाइ र बेस्ट अफ कुमार बस्नेतजस्ता लोकप्रिय सांगीतिक कृतिहरु सार्वजनिक भएका छन् ।

त्यस्तै वि.सं. २००८ साल आश्विनमा काठमाडौँमा जन्मिएकी राणाले १४ वर्षको उमेरदेखि नेपाली संगीत क्षेत्रमा प्रवेश गरी सयौँ गीत नेपाली संगीत भण्डारमा समर्पण गरेकी छन् । राणाका लेकै फुल्यो लालीगुराँस, सदाबहार लोकगीत, मीरा राणका गीतहरु, दुर्गाभजन र कृष्ण भजनजस्ता लोकप्रिय सांगीतिक कृतिहरु सार्वजनिक भएका छन् ।

यसअघि वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानले वसुन्धराश्री पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे (वि.सं.२०५७), वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट (वि.सं. २०५८), वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (वि.सं. २०५९), वरिष्ठ समालोचक यदुनाथ खनाल (वि.सं. २०६०), वरिष्ठ आख्यानकार मदनमणि दीक्षित (वि.सं. २०६१), वरिष्ठ उपन्यासकार डायमनशमशेर राणा (वि.सं. २०६२), वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई (वि.सं. २०६३), वरिष्ठ कवि मोहन कोइराला (वि.सं. २०६४), वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी (वि.सं. २०६५), वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान(वि.सं.२०६६), वरिष्ठ कवि वैरागी काइँला (वि.सं. २०६७), वरिष्ठ कवि धर्मराज थापा (वि.सं. २०६८), वरिष्ठ समालोचक प्रा. डा. वासुदेव त्रिपाठी (वि.सं. २०६९), वरिष्ठ चित्रकार शशी शाह (वि.सं. २०७०), वरिष्ठ कलाकार हरिप्रसाद रिमाल (वि.सं. २०७१), वरिष्ठ संगीतकार अम्वर गुरुङ (वि.सं. २०७२), वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री (वि.सं. २०७३), वरिष्ठ समालोचक प्रा. डा. तारानाथ शर्मा (वि.सं. २०७४), वरिष्ठ गायक प्रेमध्वज प्रधान (वि.सं. २०७५) र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ (२०७६) र वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम (२०७७) लाई प्रदान गरेको छ ।

त्यसैगरी, प्रज्ञाप्रतिष्ठानले यसअघि मानश्री पुरस्कार कवि तथा गीतकार दिनेश अधिकारी (वि.सं. २०५७), साहित्यकार विनय रावल (वि.सं २०५८), नाटककार अशेष मल्ल (वि.सं २०५९), गजलकार ज्ञानुवाकर पौडेल (वि.सं. २०६०), साहित्यकार मञ्जुल (वि.सं. २०६१), कथाकार मधुवन पौडेल (वि.सं. २०६२), कवि विष्णुविभु घिमिरे (वि.सं. २०६३), कवि कृष्णभूषण बल (वि.सं. २०६४), कथाकार भुवन ढुंगाना (वि.सं. २०६५), कथाकार सनत रेग्मी (वि.सं. २०६६), कवि विजय बजिमय (वि.सं. २०६७), समालोचक डा.रामदयाल राकेश (वि.सं. २०६८), कथाकार डा. वेञ्जु शर्मा (वि.सं. २०६९), चित्रकार किरण मानन्धर (वि.सं. २०७०), कलाकार नीर शाह (वि.सं. २०७१), गायक दीप श्रेष्ठ (वि.सं. २०७२), साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ (वि.सं. २०७३), साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपाली (वि.सं. २०७४)  गायक भक्तराज आचार्य (वि.सं. २०७५), कलाकार हरिवंश आचार्य (२०७६) र साहित्यकार सरुभक्त (२०७७ ) लाई प्रदान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू