बिहीबार, वैशाख १३, २०८१
04:38 | ०९:२३

बेलायतमा एक करोड बढीले लगाए कोरोना खोपको दोस्रो डोज

२४ घन्टामा ४ जनाको मृत्यु

नेपाली लिङ्क अप्रिल २०, २०२१

लन्डन । बेलायतमा कोरोना विरुद्ध खोपको दोस्रो डोज लगाउनेको संख्या एक करोड नाघेको छ । बेलायतको जनसंख्याको १९ प्रतिशत वयस्कहरुले कोरोना विरुद्ध खोपको दुवै डोज लागाएका छन् ।

सोमबार सार्वजनिक तथ्यांकमा दोस्रो डोज लगाउनेको संख्या एक करोड एक लाख ५२ हजार ३९ पुगेको छ । गत वर्ष डिसेम्बर ८ बाट शुरु भएको खोप हालसम्म चार करोड ३० लाख ८४ हजार ४८७ डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड २९ लाख ३२ हजार ४४८ जनाले पहिलो डोज लगाएका छन् ।

बेलायतमा २४ घन्टामा ४ जनाको मात्र कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अघिल्लो दिन १० जनाको मृत्यु भएको थियो । एकसातामा १७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अघिल्लो हप्ताको तुलनामा मृतक संख्यामा २६.९ प्रतिशतले ह्रास आएको सरकारी तथ्यांकले देखाएको छ । योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार २७४ पुगेको छ ।

यसैगरी बेलायतमा बितेको २४ घन्टामा दुई हजार ९ सय ६३ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

यससंगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ९० हजार ७८३ पुगेको छ । एकसातामा १७ हजार २८२ जना नयाँ संक्रमित थपिएका छन् । एकसाताभित्र संक्रमित संख्यामा पनि १०.० प्रतिशतले ह्रास आएको छ ।

बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३७४ छ भने ४१ लाख ५६ हजार १३५ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्या पनि कम छ । हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ३३२ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू