शुक्रबार, वैशाख १४, २०८१
12:36 | १७:२१

बिसीसी यूकेमा प्रिन्स फिलिपको श्रद्धाञ्जली कार्यक्रम

पूर्ण गुरुङ अप्रिल १९, २०२१

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले स्वर्गीय ‘डुक अफ एडिनबरा’ प्रिन्स फिलिपप्रति दीप प्रज्ज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । 

गत शनिबार अल्डरसटस्थित बिसीसी यूकेको गुम्बा परिसरभित्र प्रिन्स फिलिपको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै २ सय १६ बत्ती बालि श्रद्धाञ्जली अर्पण गरिएको हो । सो अवसरमा गुम्बाका धर्म गुरु टुल्कु रिन्पोछे जिग्मे र खेन्पो कुन्ख्यापले प्रिन्स फिलिपको सुखवती भुवनमा बास होस् भनी बौद्ध परम्परानुसार मलम पाठ पढेका थिए । 

गत शनिबार दिउँसो साढे १२ बजे औपचारिक कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यसअवसरमा बिसीसी यूकेका अध्यक्ष धर्म तामाङले आफूले प्रिन्स फिलिपसंग २ पटक प्रत्यक्ष रुपमा भेट्ने मौका पाएको स्मरण गरे ।

त्यस्तै, बिसीसी यूकेका संस्थापक अध्यक्ष ले. रि. काजी शेर्पाले प्रिन्स फिलिपको दिंवगत आत्माको चीर शान्तिको कामना गरे । 

बिसीसी यूके आमा समूह अध्यक्ष उर्मिला गुरुङको संयोजकत्वमा भएको दीप प्रज्ज्वलन कार्यक्रममा सल्लाहकार मेजर खुशीमान गुरुङले धर्म गुरु रिन्पोछे र खेन्पो लगायत सबै सहभागी भक्तजनहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम आमा समूह सचिव शारदा गुरुङले सञ्चालन गरेकी थिइन् । 

९९ वर्षको उमेरमा गत ९ अप्रिलका दिन स्वर्गारोहण भएका प्रिन्स फिलिपको सोही दिन शनिबार अन्त्येष्टि गरिएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू