शुक्रबार, वैशाख १४, २०८१
18:06 | २२:५१

एनआरएनए यूके अध्यक्षमा उम्मेदवारी दिने प्रेम गाहामगरको घोषणा

नेपाली लिङ्क अप्रिल १९, २०२१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके उपाध्यक्ष प्रेम गाहामगरले आउंदो २०२१-२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । 

दुई कार्यकाल उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका उनले सोमबार एक विज्ञप्ति जारी गरी सो घोषणा गरेका हुन् ।  

उपाध्यक्ष गाहामगरले छिट्टै ‘भर्चुएल’ पत्रकार सम्मेलन गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने योजना बनाएको बताए ।

आफूलाई आइसीसी सदस्य दयानिधि सापकोटा, उपाध्यक्षहरु रामचन्द्र पोखरेल, मोहन कार्की र नारायण कंडेलले पनि अध्यक्ष उम्मेदवारका रुपमा प्रस्ताव गरेको उनको विज्ञप्तिमा दाबी छ ।  

त्यस्तै यसअघि अध्यक्षमा पराजित शेरबहादुर सुनार र एनआरएनए यूके अन्तर्गत इङ्गल्याण्ड राज्य परिषदका उपाध्यक्ष एलबीजेड गुरुङले पनि गाहामगरलाई समर्थन गरेका बताइएको छ । 

एनआरएनए युकेलाई आर्थिक रुपमा स्वच्छ र पारदर्शी बनाउन कार्यसमितिभित्र लडिरहेका गाहामगरले नयाँ सदस्यता आवेदनका लागि बेलायतबासी नेपालीलाई आव्हान गरेका छन् । सामाजिक संजालदेखि इमेल, टेलिफोन र मोबाइल म्यासेज गरेर संस्थाको सदस्य बनि आफ्नो एजेण्डालाई सहयोग गर्न उनले आग्रह गरेका छन् । बेलायतभर एकैपटक सदस्यता ‘ड्राइभ’ गर्न विभिन्न ठाउँमा स्वयंसेवकहरु पनि खटाइसकेको उनले बताए ।

गुल्मी जिल्लामा जन्मेका गाहामगर लामो समयदेखि सुल्झन नसकेको भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न यतिबेला लागि परेका छन् । एनआरएनए युके गोर्खा विभागको प्रमुख संयोजक समेत रहेका गाहा मगरले गत महिनामात्रै बेलायतस्थित प्रमुख गोर्खा संघसंस्थाहरुलाई एकै ठाउँमा बोलाएर छलफल तथा अन्तरक्रिया गराए । ति निष्कर्षहरुलाई बेलायतस्थित नेपाली दुतावासमार्फत नेपाल सरकारलाई र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई पठाइसकेका छन् ।

पद मा रहुँ वा नरहूँ न्याय र समानताका लागि हाम्रा भेट्रानहरुले गएको तीन दशकदेखि राख्दै आएका मागहरु पुरा नभएसम्म मैले विश्राम लिने छैन्,’ उनले भने ।

नेपालमा राष्ट्रिय बक्सिङ खेलाडी रहिसकेका गाहामगरले सन् १९९६ मा ब्रिटिश गोर्खामा प्रवेश गरेका थिए । त्यस लगत्तै सन् १९९७ मा उनले ब्रिटिश सेनाको तर्फबाट विभिन्न मुलुकमा भएका बक्सिङ प्रतियोगितामा भाग लिएका थिए। 

सामाजिक सेवामा सधैं दत्तचित्त गाहा मगरले एनआरएनएमा पहिलो पटक उपाध्यक्ष हुँदा (२०१७-१९) बक्सिङ शो सहित च्यारिटी डिनर, नेपालका अपांगहरुको सहयोगार्थ कार्यक्रम तथा ‘भ्वाइस अफ नेपाल’ कन्सर्ट सफलतापूर्वक सम्पन्न गरे ।  

गत वर्ष कोरोना संक्रमणबाट भूतपूर्व गोर्खा परिवारलाई जोगाउन उनले मास्क, स्यानिटाइजर लगायत स्वास्थ्य सामग्री समेत निशुल्क वितरण गरेका थिए ।

‘बेलायतको गोर्खा समुदाय लगायत सबै जात, जाति र समुदायको हित सुरक्षित गर्नुका साथै नेपाली समुदायलाई सशक्त र एकजुट बनाउनु मेरो एक मात्र लक्ष्य हो’- उनले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू