बिहीबार, वैशाख १३, २०८१
20:46 | ०१:३१

एनआरएनए यूके अनलाइन सदस्यताः एउटा नयां अध्यायको शुरुवात

फडिन्द्र भट्टराई अप्रिल १९, २०२१

पोहोर साल यही समयको सेरोफेरोसम्म भिडियो कन्फेरेन्समार्फत बैठक सभा सम्मेलन हुने कुराको सायदै प्रयोग हुने गरेको थियो । चाहे त्यो नेपाल बाट निम्त्याइएका अतिथीको सम्मान वा अन्तरक्रिया होस् अथवा कुनै बैठक वा च्यारिटी कार्यक्रम होस् । सभाकक्षको तय गरेपछि भौतिक रुपमै १०० औं माइलको यात्रा गरेर देशैभरिबाट सामाजिक अगुवाहरु भेला हुने र कार्यक्रम गर्ने सामान्य परम्परा जस्तै थियो । सन् २०२० मार्च महिनामा बेलायत देशव्यापी लकडाउनमा गएपछि परम्परागत रुपमा आयोजना हुने भेला र समारोहहरुको स्थान भर्चुअल कार्यक्रमहरुले लिनु पर्ने वाध्यकारी अवस्था सृजना भयो र त्यसले अहिलेसम्म नै निरन्तरता पाइरहेको छ ।

कोरोना कहरलाई सामना गर्ने सवालमा स्वास्थ्य सचेतना देखि सहयोग संकलनका महाअभियानहरु समेत ‘भर्चुअल’ रुपमा सम्पन्न हुंदै आए । भौतिक सहयोग वितरणमा जाने बाहेकका सबै जसो साना मसिना कार्यक्रम, बैठक देखि लिएर सयौं मान्छेको जमघट सहितका ठूलो स्केलका सभा सम्मेलनसम्म विद्युतीय माध्यम बाटै सम्पन्न हुंदै आएका छन् ।

वास्तवमा समाजसेवामा मात्रै नभएर व्यक्तिगत तथा पारिवारिक जमघट समेत ‘भर्चुअल’ रुपमा गरेर सुःख दुःख साट्ने माध्यमको सारथी पनि प्रविधि नै बन्न पुग्यो । समस्याले समाधान र वाध्यताले उपायको खोजी गर्छ भने जस्तै भौतिक कार्यक्रमको जमघटमै रमाउने बेलायतको नेपाली समुदाय पनि भर्चुअल माध्यमको भेटघाटमै अभ्यस्त बन्न पुग्यो ।

एनआरएनए यूकेको वर्तमान कार्यसमितिले सन् २०२० मार्च ८ मा आयोजना गरेको महिला दिवस कार्यक्रम नै अहिलेसम्मको अन्तिम भौतिक कार्यक्रम बन्यो । तर, यस बीचमा कोरोनाले आक्रान्त बनेको बेलायतको नेपाली समाजमा सूचना सचेतना र सहयोगका सबै हिसाबले प्रविधिकै प्रयोगद्वारा दर्जनौं कार्यक्रम लिएर आम समुदाय माझ जाने माध्यम भर्चुअल नै बन्न पुग्यो । एनआरएन यूकेका सबै बैठक सभा र सेमिनारहरु यो बीचमा भर्चुअल नै भए । कार्यसम्पादन परिणाम र प्रभावकारिताको हिसाबले प्रविधिको प्रयोग उपयोगी नै देखियो । एनआरएनए यूकेको संघसंस्था प्रतिनिधि सभाको सञ्चालनदेखि आइसीसीको विशेष महाधिवेशनसम्म प्रविधिकै प्रयोगले सफल सञ्चालन भएको अनुभव हामीले बटुल्न सकेको कुरा सत्य हो । एनआएनले मात्र होइन्, यहां क्रियाशील सबैजसो संघ संस्थाहरुको कार्यक्रम र जमघटको माध्यम पनि विकल्पहीन र वैकल्पिक रुपमा यही नै रह्यो ।

विशेषत यो समय धेरै प्रयोगमा आएको ‘जुम’ सिस्टमको उपयोगिता त्यसपूर्व धेरैको कानमा पनि सायदै परेको हुंदो हो भन्दा अतिशयुक्ति नहोला । भर्चुअल तरिकाले सभा सम्मेलन र कार्यक्रमहरु कसरी सफल 
सञ्चालन गर्न सकिएला भन्ने कुरा हामी सबैको मनमा थियो । तर प्रविधिको प्रयोग र अभ्यास संगै यो यति समयानुकुल र सरल देखियो कि वास्तवमा तुलनात्मक रुपमा धेरै खर्चिलो र यात्राभार घटाउने रुपमा यसको प्रयोग अनुकुल समयमा पनि बढ्दै जाने देखिएको छ । ‘सोसलाइजेसन’ को रुपमा भौतिक भेटघाटको अभावलाई त प्रविधिले प्रतिस्थापन गर्न सक्ने कुरा भएन तर सभा सम्मेलन, बैठक छलफलमार्फत गरिने नीतिनिर्माण देखि सहयोग संकलनका च्यारिटी कार्यक्रमहरुसम्मका लागि भर्चुअल तरिका प्रभावकारी देखिएको छ । सम्भवतः भविष्यको सहज समयमा पनि यस्तै प्रविधिको प्रयोग मार्फत अत्यावश्यक बाहेकका भौतिक कार्यक्रमका खर्च र झमेलाहरू कटौती हुंदै जाने कुराको आंकलन समेत गर्न सकिन्छ ।

स्मार्ट एनआरएनए
यसैबीचमा एनआरएनको अन्तर्राष्ट्रिय समितिले सबै 
राष्ट्रिय समितिहरुमा प्रयोग गर्ने उद्देश्यले स्मार्ट एनआरएनको अवधारणा अगाडि बढाएको छ । अनलाइनमार्फत सदस्यता आवेदन, व्यवस्थापन देखि लिएर अनलाइन निर्वाचन प्रणालीसम्म सञ्चालन गर्न सकिने बताइएको एमआइएस (मेम्बर्स इन्फरमेसन सिस्टम) प्रयोग दीर्घकालिन रुपमा व्यवस्थित परिपाटीको विकास र वर्तमानमा समयानुकुल हुने ठानेर धेरै राष्ट्रिय समन्वय परिषदहरुले यो प्रणालीलाई प्रयोगमा ल्याएका छन् । निर्वाचन लगायत यसका सबै पक्षको कार्यान्वयन भने यसको विश्वसनियता लगायतका कुराको परिक्षण र सफल अभिमुखीकरण जस्ता कुरामा निर्भर हुने छ ।

एनआरएन यूकेले पनि एमआइएस सिस्टमलाई प्रयोगमा ल्याएर गत अप्रिल १ तारिखदेखि सदस्यता आवेदन खुलाइसकेको छ । शुरुवातको प्रयोगलाई हेर्दा यो प्रविधि सरल र प्रभावकारी देखिएको छ । तथापि कुनै पनि प्रविधिको प्रयोग यसको अभ्यासमा भरपर्ने कुरा हो भने प्रकारान्तरमा आवश्यकता बमोजिम यसको परिमार्जन र सुधार समेत स्वाभाविक कुरा पनि हो । अहिले कम्प्युटर डेस्कटप र ल्यापटपमार्फत आवेदन दिन सकिने गरी सञ्चालनमा आएको यो अनलाइन प्रविधि मोबाईल ’एप’ समेत प्रयोगमा ल्याउने तयारी भइरहेको छ ।

अनलाइन सदस्यता किन ?
पहिलो कुरा त एनआरएनको संरचनागत परिवर्तनको जरो नै यसको कुशल सदस्यता व्यवस्थापन हो । विशेषत निर्वाचनमा अहिलेसम्म हामीले भोग्दै आएका अनेकौं उतारचढाव र कतिपय तिक्त अनुभवहरु सदस्यताको व्यवस्थापनसंगै जोडिएका थिए । उम्मेद्वारहरुको जोडबलमा झोलामा सदस्यता फर्म बटुलेर थुपारेका सदस्यताको भरमा निर्वाचन परिणामलाई निर्णायक बन्ने परिपाटीको जबसम्म अन्त्य हुंदैन तबसम्म तपाईं हामी सबैले चाहेको एनआरएन र कुशल नेतृत्व छनौट सम्भव छैन् भन्ने कुरा बुझ्न कुनै आइतबार कुर्नु पर्दैन । एनआरएनको सदस्यता लिने व्यक्ति स्वयं आफ्नो सदस्यताप्रति उत्तरदायी बन्नका लागि र जिम्मेवार सदस्यहरुको अभिमतका आधारमा नेतृत्व र त्यो नेतृत्वले समात्ने कार्यदिशा जस्ता कुराहरु यसमा निर्भर रहने छन् । निर्वाचन प्रयोजनको लागि मात्र सदस्यता बन्ने बनाउने स्थितिको न्यूनीकरण अहिलेको आवश्यकता हो । तसर्थ आजको एक्काईसौं शताब्दीमा एनआरएन जस्तो ठूलो संस्थाको अनलाइन व्यवस्थापन अत्यन्तै आधारभूत र आवश्यक कुरा हो भन्ने कुरामा दुईमत हुन नसक्ला भन्ने हाम्रो बुझाइ हो ।

एमआइएस सिस्टम नै किन ?
पहिलो कुरा त एनआरएन यूकेसंग हजारौं पाउण्ड खर्चिएर आफ्नै सिस्टम विकास गर्न सक्ने साधन र स्रोत नभएको कुरा छर्लंग नै छ । विगतमा पनि सिस्टम विकासको नाममा खर्चिएको स्रोत बेकामे सावित भइसकेको छ । अर्कोतर्फ एनआरएन आइसीसीले यो प्रविधिलाई सबै राष्ट्रिय समन्वय समितिहरुले प्रयोगमा ल्याउनु पर्ने अनिवार्य व्यवस्था अगाडि सारेको छ । यो सिस्टम बाहेकको कुनै तरिकाले सदस्यता प्रदान गरिए पनि पुनः सबै सदस्यहरुलाई यसै सिस्टममा प्रवेश नगराएसम्म मान्य नहुने कुरा आइसीसीले स्पष्ट पारिसकेको परिप्रेक्षमा यो हाम्रा लागि विकल्परहित स्थिति पनि हो । एउटा अधिनष्ट संस्थाको हिसाबले आइसीसी मातहतमा रहेर कार्यसम्पादन गर्नु हाम्रो वैधानिक दायित्वलाई आत्मसात गर्नु पर्ने हुन्छ । आइसीसीले अनिवार्य प्रावधानको रुपमा यो सिस्टम अगाडि नसारेको भए पनि अर्को कुनै सिस्टममार्फत आखिर अनलाइन सदस्यतामा जानु आजको अपरिहार्यता नै हो ।

विशेषत वर्तमानको विषम परिप्रेक्षमा भौतिक रुपमा अभियानहरु सञ्चालन गर्न असम्भव प्राय छ । यो अवस्थामा सबैभन्दा सरल र उत्तम उपाय भनेको अनलाइन सदस्यतालाई प्रयोगमा ल्याउनु नै हो । दीर्घकलिन रुपमा समेत एनआरएनको एउटा बलियो र पारदर्शी संरचना निर्माण गर्नका लागि अनलाइन प्रणालीको विकास अपरिहार्य जस्तै छ । यो बेलामा सदस्यताका कागजात जम्मा पारेर त्यसलाई फेरी सिस्टममा इन्ट्री गर्दा लाग्ने साधन र स्रोत अनावश्यक झमेला र खर्च हुन् । स्मरण रहोस् विगतका आइसीसी काठमाडौं अधिवेशन पूर्व सबै पंजीकृत सदस्यको विवरण पठाइसके मात्र अधिवेशनमा भाग लिने अधिकार प्राप्त हुंदै आएको छ । आइसीसी अन्तर्गतको सिस्टममा रहंदा पनि आफ्नो एनसीसीको सदस्यता सम्बन्धि सम्पूर्ण व्यवस्थापन र नियन्त्रण एनसीसीहरुमै निहित भने रहने छ ।

के छ अप्ठ्यारो ?
कम्प्युटर ‘लग इन’ गरेर आफ्नो सदस्यता फर्म भर्न र आवश्यक कागजात अपलोड गर्न सामान्यतया यो सरल प्रविधि नै छ । कम्प्युटरको प्रयोग गर्न नसक्ने अथवा अप्ठ्यारो हुनेहरुलाई मध्यनजर गरेर उहांहरुलाई सहयोग गर्न हामी सबै तत्पर हुनुपर्दछ । स्मरण रहोस् भौतिक फाराम भर्न समेत असहज हुने व्यक्तिहरु पनि हाम्रो समाजमा हुनुहुन्छ । अर्को तर्फ यसको प्रयोग संगै देखिएका कतिपय असहजताहरुलाई सहज र परिमार्जित बनाउंंदै पनि जानु पर्छ भन्ने कुरा यथार्थ नै हो ।

के छ फाइदा ?
छिटो छरितो र सरल रुपमा तुरुन्तै एनआरएनको सदस्य बन्न सकिने कुरालाई समयानुकूल आवश्यक परिवर्तनको रुपमा लिनु पर्दछ । सदस्यता स्वीकृत हुनासाथ डिजिटल परिचयपत्र समेत प्राप्त गर्न सकिने कुरा निकै सकारात्मक रुपमा लिनु उपयुक्त हुन्छ । एनआरएनको परिचयपत्र समयमा पाउन नसकेको र उपयोगी समेत नबन्ने गरेको गुनासो आइरहंदा एनआरएनको एउटा 
पंजीकृत सदस्यको हिसाबले आफ्नो प्रोफाइल सृजना गरेर आफ्नै मोबाइलमा आइडी कार्ड बोकेर राष्ट्रिय अन्तराष्ट्रिय यात्रामा पाइने छुट र सुविधाको प्रयोगमा यो निकै उपयोगी हुनेछ । भुक्तानीको हिसाबले पनि नगद प्रयोगलाई निरुत्साहित गर्दै सिधा बैंकमार्फत भुक्तानीले पारदर्शीताको सवालमा समाधानमुखी रहने छ । सदस्यता फर्म भरेर आइडीको फोटोकपी गर्न, फोटो खिच्न, प्रिन्ट गर्न दौडाहा गर्नुको सट्टा कम्युटरमा केही मिनेट समय दिएर अपलोड गर्नु कति सहज छ भन्ने कुरा हामी सबैले स्वीकार्नु पर्छ । प्राविधिक रुपमा कठिनाई हुनेलाई सिकाउनु र सघाउनु समेत हामी सबैको दायित्व हुन आउंछ ।

एउटा कुरा के स्मरण राखौं भने रितपूर्वक आवश्यक डकुमेन्टसहित आएको सदस्यता आवेदन अस्वीकार गर्ने अथवा रित वा कागजात नपुगेको आवेदन स्वीकार हुने कुरा कदापी हुन सक्दैन् । यो प्रविधिको प्रयोग गरेर कसैको हित वा अहितमा सिस्टमको दुरुपयोग हुन नसक्ने कुरामा पनि हामी प्रतिवद्ध छौं । अर्कोतर्फ सदस्यता आवेदनको चाप बढ्दै गर्दा प्रमाणीकरणका लागि टिम समेत बनाउनु पर्ने हुन्छ तसर्थ जवाफदेहीता र पारदर्शीताको हिसाबले पनि त्यो कसैले गर्न सक्ने छैन् ।

यसर्थ महामारीले निम्त्याएको प्रविधिको प्रयोगसंगै अन्ततोगत्वा अनलाइन सदस्यताको वर्तमान प्रावधानलाई आत्मसात गर्दै सम्भावित रुपमा अनलाइन भोटिंगसम्म जाने यो यात्रामा सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाई, दिदीबहिनीको पूर्ण सहयोग रहने कुरामा हामी विश्वस्त छौं ।

(लेखक एनआरएनए यूके महासचिव हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू