मंगलबार, चैत ६, २०८०
04:43 | १०:२८

स्कटल्यान्डमा ४३ वर्षीय कार्की मृत भेटिए

नेपाली लिङ्क अप्रिल १६, २०२१

लन्डन । स्कटल्याण्डमा बस्दै आएका एक नेपाली मृत अवस्थामा फेला परेका छन् ।

स्कटल्याण्डको एडिनबरामा परिवारसहित बस्दै आएका ४३ वर्षका राजेश कार्की सोमबार बेलुका मृत अवस्थामा फेला परेको स्थानीय नेपाल स्कटल्याण्ड एशोसिएसन अध्यक्ष विजय डंगोलले नेपाली लिंकलाई जानकारी दिए । 

डंगोलका अनुसार मृतक कार्कीले हालै मात्र किनेको नयाँ घरमा उनी मृत भेटिएका हुन् जहाँ नयाँ वर्षको साइतमा गत बुधबार सर्ने उनको योजना थियो । 

‘घर सर्नुअघि आवश्यक सरसफाइका लागि श्रीमती र साथीभाइसंगै सोमबार नयाँ घर जानुभएको रहेछ । ५ बजेसम्म सबै मिलेर सफाइ गरेपछि उहाँकी श्रीमती खाना पकाउन भन्दै घरतिर लाग्नुभएछ, अरु साथीहरु पनि निस्किनुभएछ’, अध्यक्ष डंगोलले भने, ‘पछि श्रीमतीले फोन गर्दा नलागेपछि ७ बजेतिर नयाँ घरमै आएर हेर्दा मृत भेटिनुभएछ ।’

नयाँ घरमा ट्वाइलेटको भुइंमा थपक्क बसेको अवस्थामा मृत भेटिएका कार्कीको घाँटीमा काटेको घाउ देखिएको र घरभित्र रगत पनि पाइएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै स्थानीय नेपालीले बताए । 

प्रहरीले उनको रहस्मय मृत्युबारे अनुसन्धान गरिरहेको छ । पोस्टमार्टम रिपोर्टले हृदयघात देखाएको नेपाल स्कटल्यान्ड एशोसिएसनका अध्यक्ष विजय डंगोलले जानकारी दिएका छन् । घाँटीमा काटेको हुनु, थपक्क बसेको अवस्थामा शव भेटिनु र घरमा रगत देखिनु जस्ता आधारले यसअघि स्थानीय नेपालीहरुले भने हत्या नै भएको हो कि भन्ने आशंका व्यक्त गरेका थिए । 

काठमाडौं घर भएका कार्की श्रीमती, एक छोरा र दुई छोरीका साथ स्कटल्याण्ड एडिनबरामा बस्दै आएका थिए । उनले बंगलादेशी मूलका साथीसंगको पार्टनरसिपमा रेष्टुरेन्ट चलाउँदै आएका थिए । 

कार्कीको असमायिक निधनले स्कटल्यान्डका नेपाली शोकमग्न बनेका छन् । ‘नयाँ वर्षकै संघारमा अपत्यारिलो ढंगबाट भएको निधनले यहाँको सिंगो नेपाली समुदाय शोकमा डुबेको छ । उहाँको सरल र मिलनसार स्वभाव हामी सबैले सम्झिरहेका छौं’, एनआरएनए स्कटल्यान्ड सचिव दिवाकर पाण्डेले भने, ‘उहाँको निधनबारे सत्य तथ्य पत्ता लगाउन हामी कुनै कसर बांकी छोड्ने छैनौं ।’

नेपाल स्कटल्यान्ड एशोसिएसन अध्यक्ष विजय डंगोलले पनि कार्कीको असामयिक निधनमा दु:ख व्यक्त गर्दै अफ्टेरो घडीमा परिवारलाई आवश्यक साथ, सहयोगका लागि समुदाय तत्पर र तयार रहेको जनाएका छन् ।  

अपडेट: सोमबार मृत अवस्थामा फेला परेका कार्कीको मृत्‍यु हृदयघातले भएको रिपोर्ट आएको छ । पोस्टमार्टम रिपोर्टले हृदयघात देखाएको नेपाल स्कटल्यान्ड एशोसिएसनका अध्यक्ष विजय डंगोलले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू