शुक्रबार, वैशाख ७, २०८१
09:45 | १४:३०

दिल्लीमा निषेधाज्ञा जारी

रासस-सिन्ह्वा अप्रिल १५, २०२१

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्लीमा निषेधाज्ञा जारी गरिएको छ ।

कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिन थालेपछि दिल्ली प्रदेश सरकारले निषेधाज्ञा जारी गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

‘कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कफ्र्यु लगाउनुपर्ने निश्कर्षमा हामी पुगेका हौँ,’ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने । 

सरोकारवाला र विज्ञहरुसहितको उच्चस्तरीय बैठकपछि बिहीबार मुख्यमन्त्री केजरीवालले अप्रिय निर्णय गर्न प्रदेश सरकार बाध्य भएको उल्लेख गरे ।

गत बुधबार मात्रै दिल्लीमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका थिए । सरकारी अधिकारीहरूका अनुसार बुधबार दिल्लीमा एकैदिन १७ हजार २८२ जना संक्रमित भएका थिए भने १०४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।  

दिल्ली प्रदेशमा मात्रै अहिलेसम्म कोरोनाभाइरसबाट सात लाख ६७ हजार ४३८ जना संक्रमित भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । तीमध्ये ५० हजार ७३६ जना अझै पनि संक्रमित अवस्थामै रहेको जनाइएको छ । 

सरकारी अधिकारीहरुका अनुसार दिल्ली प्रदेशमा मात्रै कोरोनाका कारण अहिलेसम्म ११ हजार ५४० जनाको मृत्यु भएको छ । 

भारत देशभरी भने गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि कूल संक्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको छ । 

भारतको केन्द्रीय  स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार भारतमा कोरोना भाइरस संक्रमणको माहामारी शुरु भएयता एक दिनमा २ लाख भन्दा बढी संङ्क्रमित भएको बुधबार पहिलो पटक हो । 

यसअघि मंगलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका जनाइएको थियो । 

कोरोना संक्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख ७३ हजार नाघेको छ । 

पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुँदै आएका थिए भने बुधबार एकैदिनमा २ लाखभन्दा बढी संक्रमित भएका हुन् । यो तथ्यांकले भारतमा नयाँ संक्रमित दैनिक रूपमा बढ्दै गएको देखाएको छ । 

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ५० लाख भन्दा बढी व्यक्तिहरू खोप लगाइसकेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू