मंगलबार, चैत ६, २०८०
11:28 | १७:१३

सत्याग्रह प्रमुख संयोजकले भेटे राजदूत, गोर्खा मुद्धा पार लगाइ छोड्ने दृढता

नेपाली लिङ्क अप्रिल १५, २०२१

लन्डन । गोर्खा आन्दोलनको एक अग्रणी संगठन भूतपूर्व गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई र बेलायतका लागि नवनियुक्त राजदूत लोकदर्शनबीच छलफल भएको छ ।

मंगलबार संगठनकी महासचिव सइन्द्र केसी, दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र मिलिटरी एट्याची रत्नबहादुर गोदार समेतको सहभागितामा प्रमुख संयोजक राई र राजदूत रेग्मीबीच दूतावासमै २ घण्टा लामो छलफल भएको हो ।

राजदूतसंगको छलफल गोर्खा आन्दोलनलाई पार लगाउने दिशामा अब तय गर्नुपर्ने रणनीतिमा केन्द्रित रहेको प्रमुख संयोजक राईले जानकारी दिए । त्यसअवसरमा राजदूत रेग्मीले गोर्खाहरुको मुद्धा तार्किक निष्कर्षमा पुरयाउने आत्मविश्वाससहित दृढता समेत व्यक्त गरेको उनले सुनाए ।

छलफलको शुरुमा सत्याग्रहका प्रमुख संयोजक राईले गोर्खा आन्दोलनको विगतदेखि वर्तमानसम्मको सन्दर्भ र अवस्थाबारे राजदूतलाई अवगत गराएका थिए ।

‘मैले महामहिमसमक्ष आन्दोलनको शुरुदेखिकै सबै विकासक्रमहरुबारे सुनाएं । तत्कालीन अल पार्टी पार्लियामेन्टरी कमिटीकी अध्यक्ष ज्याकी डोयलको प्रतिवेदनदेखि त्यसयता सत्याग्रहले गर्दै आएका लबिङ तथा दबाबमुलक कार्यक्रमहरु हुंदै प्राविधिक संयन्त्रले पेश गरेको १३ बुंदे सिफारिशसम्मको विस्तृत जानकारी गराएको छु’, उनले भने ।

प्रमुख संयोजक राईले सन् १९४७ को त्रिपक्षीय सन्धि, १९६९ को भियना कन्भेसनदेखि संयुक्त राष्ट्रसंघको बडापत्रसम्मको सन्दर्भ जोड्दै गोर्खाहरुप्रतिको बेलायतको व्यवहार सधैं असमान, विभेदपूर्ण र मानवअधिकारविपरित रहँदै आएको उल्लेख गरेका थिए ।

आफूहरुको आन्दोलनप्रति बेलायत सरकारले उदासीनता कायम राखे आफूहरु कडा आन्दोलनमा जाने तयारीमा रहेको पनि उनले जानकारी गराएका थिए ।

त्यस अवसरमा राजदूत रेग्मीले गोर्खाहरुमाथिको विभेदलाई अस्वीकार्य भन्दै यसको अन्त्य गर्न सक्दो पहल गर्ने बताए ।

बेलायत सरकारसंग खुला रुपमा छलफल गरेर गोर्खाहरुमाथि भइरहेका कुनै पनि खालका विभेदपूर्ण व्यवहार तत्काल अन्त्य हुनुपर्ने पक्षमा स्पष्ट आवाज उठाउने प्रतिबद्धता उनले जनाएका थिए ।

गोर्खाको विषय हाम्रो प्रमुख प्राथमिकतामा छ । हामी नेपालका तर्फबाट स्पष्ट अडान राखेर यसलाई निष्कर्षमा पुर्याउन सक्छौं भन्ने मलाई विश्वास छ, राजदूतको भनाइ उदृत गर्दै राईले सुनाए ।

त्यसअवसरमा सत्याग्रहका प्रमुख संयोजक राईले गोर्खा आन्दोलनका क्रममा विकसित कयौं महत्वपूर्ण घट्नाक्रमहरुका एभिडेन्सहरु पनि राजदूतलाई उपलब्ध गराएका थिए ।

‘महामहिमज्यूसंग अत्यन्त उपलब्धिपूर्ण छलफल भएको छ । हाम्रो आन्दोलनको यथार्थ र वास्तविक धरातलबारे उहाँलाई बुझाउने मौका पाएं । अब निरन्तर रुपमा छलफल, समन्वय गर्दै गोर्खाहरुको समानअधिकार स्थापनाको आन्दोलनलाई निष्कर्ष दिलाउने योजना बनाएका छौं’, राईले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू