मंगलबार, वैशाख ११, २०८१
14:22 | १९:०७

नयाँ वर्षमा बिसीसी यूकेमा पूजापाठ र दीप प्रज्वलन

पूर्ण गुरुङ अप्रिल १५, २०२१


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले धार्मिक पूजापाठ गर्दै नयाँ वर्ष मनाएको छ । बुधबार दिउँसो बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने आयू पूजा गरी वि.सं. २०७८ लाई स्वागत गरिएको हो ।

विश्वभर छरिएर रहेको सिंगो मानव जातिको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायूको कामना सहित गुम्बा परिसर भित्र आयोजना गरिएको आयूपूजामा गुम्बाका धर्म गुरु टुल्कु रिन्पोछे जिग्मे र खेन्पो कुन्ख्यापले धार्मिक पूजा पाठ गरेका थिए । त्यसअवसरमा खेन्पो कुन्ख्यापले आयूपूजाबारे जानकारी दिएका थिए ।

पूजामा १ सय ५० भन्दा बढी दीप प्रज्ज्वलन गरिएको थियो भने करिब ४२ जना भक्तजनहरुले गुरु दक्षिणा तथा च्यारिटीका लागि आर्थिक सहयोग समेत गरेका थिए ।

भर्चुअल (जुम) रुपमा सम्पन्न पूजा तथा दीप प्रज्वलन पश्चात शुभकामना आदानप्रदान गरिएको थियो । सो अवसरमा बिसीसी यूकेका अध्यक्ष धर्म तामाङ, संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पा, निवर्तमान अध्यक्ष नरेश गुरुङ, सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ, बिसीसी यूके आमा समूह अध्यक्ष उर्मिला गुरुङ, आमा समूह पूर्व अध्यक्ष ज्ञानुमाया गुरुङ लगायतले अहिलेको कोरोना महामारी र यसबाट सिर्जित असहज परिस्थितिहरुबाट चाँडै मुक्तिका साथै सबै प्राणीहरुमा सुख, शान्ति, समृद्धिको कामना गर्दै नयाँ वर्षको शुभकामना दिएका थिए ।

त्यस्तै, बिसीसी यूके आमा समूहकी उपाध्यक्ष जगना गुरुङ, लालकुमारी गुरुङ, जयन्ती गुरुङ, सुन्दरी तामाङ लगायतले गीत, कविता तथा मन्त्रमार्फत शुभकामना व्यक्त गरेका थिए ।

बिसीसी यूकेका अध्यक्ष धर्म तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव क्या. देव घले र आमा समूहकी सचिव शारदा गुरुङले संचालन गरेका थिए ।

आफ्नो भाषा, कला, धर्म र संस्कारको संरक्षण तथा सम्वद्र्धन गर्दै बौद्ध दर्शनलाई फैलाउने उद्धेश्यले स्थापना गरिएको बिसीसी यूकेले थुप्रै च्यारिटीमूलक कार्यहरु गर्दै आएको छ । नयाँ वर्ष आयुपूजाबाट बचत भएको रकम समेत च्यारिटीमूलक कार्यमा खर्च गरिने बिसीसी यूकेले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू