शनिबार, वैशाख ८, २०८१
02:03 | ०६:४८

एनआरएनलाई राजदूतको सुझाव- ‘नागकिरता निरन्तरता भन्नोस्, कर्मभूमि नेपाल नै मान्नोस्’

नयाँ वर्षमा एनआरएनए स्कटल्याण्डको शुभकामना कार्यक्रम

नेपाली लिङ्क अप्रिल १४, २०२१

लन्डन । नेपाली नयाँ वर्षको अवसरमा बुधबार एनआरएनए यूके, स्कटल्याण्ड राज्य समन्वय परिषदले एक शुभकामना कार्यक्रम गरेको छ । सोही अवसरमा परिषदले बेलायतका लागि नवनियुक्त राजदूत लोकदर्शन रेग्मी र उपनियोग प्रमुख रोशन खनाललाई स्वागत गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत रेग्मीले गैरआवासीय नेपालीहरुको नेपाली नागरिकता निरन्तरताको माग पूरा हुने विश्वास व्यक्त गरे । ‘गैरआवासीय नेपालीले आफ्नो पहिलेकै नागरिकताको निरन्तरता खोजेका हुन् । नयाँ खोजेको जस्तो गरी दोहोरो नागरिकता नभनौं’, राजदूत रेग्मीले भने, ‘सबै मिलेर पहल गर्न सक्यौं भने नागरिकता निरन्तरताको व्यवस्था अवश्य हुनेछ ।’

उनले नेपाल सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि देश, विदेशका सबै नेपालीलाई आ-आफ्नो स्तरबाट योगदान गर्न आव्हान गरे ।

‘विदेशमा बस्ने तपाईंहरु सबैले देशको लागि सक्दो गरिरहनुभएकै छ । त्यसैको निरन्तरता अहिले राष्ट्रले अपेक्षा गरिरहेको छ’, राजदूतले थपे, ‘तर तपाईंहरुले नेपाललाई जन्मभूमि मात्र नभन्नोस्, आफ्नो काम र भूमिकाका हिसाबले कर्मभूमि पनि नेपाल नै मान्नुहोस् ।’

एनआरएनए स्कटल्याण्डले नेपाल तथा बेलायतमा सञ्चालन गरेका विभिन्न सिर्जनात्मक तथा परोपकारी कार्यक्रमहरुको उनले प्रसंशा गरे ।

त्यसअवसरमा उपनियोग प्रमुख रोशन खनालले स्कटल्याण्ड भौतिक हिसाबले टाढा रहेपनि दूतावासको सेवा वितरणमा पछि नपरोस् भन्नेतर्फ आफूहरु सचेत रहेको जनाइन् । स्कटल्याण्डवासी नेपालीका समस्या र आवश्यकताका सवालमा एनआरएनएसंग सहकार्य र समन्वय गर्दै अगाडि बढ्न दूतावास तत्पर रहेको उनले उल्लेख गरिन् ।

कार्यक्रमकी विशेष अतिथि एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले एनआरनए स्कटल्याण्डले सञ्चालन गरिरहेका गतिविधिहरु प्रसंशायोग्य रहेको बताइन् । एनआरएनए अभियानलाई स्कटल्याण्डका सबै नेपालीमाझ बिस्तार गर्नमा स्कटल्याण्ड राज्य समन्वय परिषदको महत्वपूर्ण भूमिका रहने धारणा उनको थियो ।

कार्यक्रममा एनआरएनए यूकेका  महासचिव फडिन्द्र भट्टराई, इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठ र वेल्स राज्य परिषद अध्यक्ष कृष्ण भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै, नेप्लिज हिमालयन एशोसिएसनका अध्यक्ष नवीन क्षेत्री र पूर्व उपाध्यक्ष माधव रेग्मी, नेपाल स्कटल्याण्ड एशोसिएसनका अध्यक्ष विजय डंगोल, साउथसाइड नेपाली कम्युनिटीका अध्यक्ष रामप्रसाद कंडेल, ग्लास्गो नेपाली एशोसिएसनका टंक सापकोटा, फाइफ नेपाली कम्युनिटी अध्यक्ष रामप्रसाद बगाले र उपाध्यक्ष श्यामकाजी श्रेष्ठ,  दियो क्लब यूकेका शिवकान्त खरेल, एनआरएनए यूकेको सल्लाहकार डा नारायणप्रसाद श्रेष्ठ लगायतले पनि शुभकामना दिएका थिए ।

त्यस अवसरमा विशेष अतिथिका रुपमा सहभागी कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य महाराजले विशेष प्रवचन दिएका थिए । एनआरएनए स्कटल्याण्डले सञ्चालन गरेको नेपाली भाषा कक्षाका विद्यार्थीहरु आभा सुवेदी र श्रृद्धि अर्यालले नेपाली गीत तथा नृत्य प्रस्तुत गरे ।

कार्यक्रमको अध्यक्षता गरेका एनआरएनए स्कटल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष छविलाल अर्यालले सहभागिताका लागि सबैप्रति आभार प्रकट गरे । कार्यक्रममा परिषदकी कोषाध्यक्ष शर्मिला भण्डारीले स्वागत मन्तव्य दिएकी थिइन् भने सञ्चालन सचिव दिवाकर पाण्डेले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू