मंगलबार, चैत ६, २०८०
10:24 | १६:०९

नेपाली लिंक दोश्रो वर्षमा

नेपाली लिङ्क अप्रिल १४, २०२१

आज बैशाख १ गतेकै दिन गत वर्ष कोरोना महामारीले विश्व आतंकित हुन शुरु भएको थियो । शताब्दीयताकै घातक भाइरसले मानिसहरुमा सन्त्रासमात्र होइन्, उनीहरु धमाधम प्रियजन गुमाउन थालेका थिए । एकाएक विश्व लकडाउनको जञ्जालभित्र बांधिन हुन पुगेको थियो । व्यापार व्यवसाय ठप्प हुंदै थिए ।

यस्तो विषम परिस्थिति सायदै कसैको कल्पनामा थियो । हामी यही चुनौतिबीच नेपाली लिंक शुरु गर्न कस्सिएका थियौं । लाग्यो कठिन परिस्थिति सामना गर्न सक्नु नै महानता हो । हामीले लन्डनबाट शुरु गर्यौं नेपाली लिंक डटकम । आज यो समाचार पोर्टलले एक वर्ष पार गरेको छ ।

कठिन परिस्थितिसंग जुध्दै यसले स्थापनाको पहिलो वर्ष सफलतापूर्वक पार गर्न सकेकामा हामी दंग छौं । यही अवसरमा नेपाली लिंक परिवार समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं । यहांहरुको साथ समर्थन नभइ दिएको भए सायद यो पोर्टल कोरोनाले जस्तै शिथिल हुन सक्थ्यो । संकटको घडीमा पाठक र विज्ञापनदाताहरुबाट पाएको अथाह माया र निरन्तर सहयोग नै हामी अगाडि बढ्ने प्रेरक तत्व बन्यो । फलस्वरुप अहिले हामी लन्डनबाट सञ्चालित समाचार पोर्टलहरुमध्ये छोटो समयमै अग्रस्थानमा पुग्न सक्यौं भन्ने हाम्रो ठम्याइ छ ।

सहज छैन् बेलायतमा नेपाली पत्रकारिता । न यहां विज्ञापनका लागि बजार पर्याप्त छ, न जनशक्ति । चाहे जस्ता समाचार भेटिए पनि यदाकदा लेख्न विभिन्न कठिनाइ आइलाग्छन् । बेलायतको सानो नेपाली समुदायभित्रका विकृति, विसंगतिबारे ढुक्कसंग लेख्न पनि एकपटक सोच्नुपर्ने कतिपय अवस्थामा हामीले पत्रकारिताको धर्म निर्वाह गर्न कुनै कसर बांकी राखेनौं भन्ने लाग्छ ।

नेपाली लिंकको सम्पादकीय टीम

आचारसंहिता विपरित पत्रकारिता अभ्यास हाम्रो प्राथमिकतामा कहिल्यै परेन । मिसन पत्रकारिता वा सम्झौता सधैं शत्रु बने हाम्रा लागि । सन्तुलित, सत्य र तथ्यपरक समाचारको खोजीमा नै हामीले जोड दियौं । आमप्रचलनमा रहेको कपी पेष्ट पत्रकारिता हाम्रो कल्पनामा पनि रहेन । तस्बिर वा समाचार कतैबाट साभार गर्नु परे ‘क्रेडिट’ दिन हामीले कहिल्यै कन्जुस्याईं गरेनौं । हामी आफैं पनि पत्रकारितामा सिकारु हौं तर राम्रा कुरा अरुबाट अनुशरण गर्न वा सिक्न कहिल्यै हिच्किचाहट मानेनौं ।

विश्वव्यापी पत्रकारिताको आधारभूत मुल्य मान्यता अंगालेर हामी कठिन अवस्थामा पनि बामे सरिरह्यौं र भविष्यमा पनि लम्किरहनेछौं ।

हाम्रो सफलताको श्रेय तपाईंहरु नै हो । यहांहरुको रचनात्मक सुझाव सल्लाह र सद्भावको हामी सधैं भोको छौं । समाचार वा लेखनका कुनै विषयवस्तु भए हामीलाई अवगत गराउनुस्, ति अवश्य समेटिने छ ।

एकपटक फेरि यहांहरु सबैप्रति आभार व्यक्त गर्दै व्यवसायिक पत्रकारितामा हाम्रो पाइला अझ तेजसंग अगाडि बढ्ने प्रण गर्दछौं ।अन्त्यमा नेपाली नयां वर्ष-२०७८ को अवसरमा नेपाली लिंक समस्त पाठक र देश विदेशमा रहनुभएका नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू