शनिबार, साउन १२, २०८१
06:16 | ११:०१

नेपाली लिंक छोटो समयमै ‘सशक्त र विश्वसनीय’

गोपी सापकोटा अप्रिल १४, २०२१

समय थाहै नपाइकन बित्छ । नेपाली लिंक शुरु भएको पनि एक वर्ष भइसकेछ । यो अनलाइनले एक वर्ष पुरा गरेको थाहा पाउंदा खुशी लागेको छ । नेपाली लिंकलाई हार्दिक बधाई छ ।

बितेको एक वर्ष कसैका लागि पनि सजिलो भएन । सांच्चै भन्ने हो भने गएको एक वर्ष कोरोनालाई चिन्दै, कोरोनाबाट भाग्दै, लुक्दै, जोगिंदै र कोरोनासंग लड्दै बित्यो । कोरोनासंगको लडाईंमा कतिले ज्यान पनि गुमाउनु पर्यो । नेपाली लिंकका पत्रकारहरुले ती घटनाहरुलाई नजिकबाट हेर्दै, तिनै मृत्युलाई समाचार बनाइरहनु पर्यो । त्यो सांच्चिकै सजिलो थिएन । तर, पनि पत्रिकाले त्यो कुरालाई निरन्तरता दिइरह्यो । त्यसो त त्यो पत्रकारिताको धर्म नै थियो । नेपाली लिंकले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो धर्म निभाइरह्यो । त्यही निरन्तरताले नै यो अनलाइन पत्रिकालाई एक सशक्त र विश्वसनीय समाचार माध्यमको रुपमा स्थापित गरायो ।

बितेको एक वर्षमा नेपाली लिंकले विशेषतः बेलायतका मुख्य समाचार र बेलायतका नेपाली गतिविधिहरुलाई प्राथमिकताकासाथ प्रकाशित गरेको पाएं । पत्रिकाले बेलायतको ब्रेक्जिटको समाचारलाई राम्रोसंग समेटेको थियो ।

त्यसो त बेलायतबाट अरु केही अनलाइनहरु पनि नचलेका होइनन्, तर समाचारको गुणस्तर, समाचारमा प्रयोग भएको भाषाको स्तर र समग्र प्रस्तुतिले नेपाली लिंकलाई अरुभन्दा माथि पुरयाएको म एकजना नियमित पाठकको बुझाइ छ ।

गएको एक वर्षलाई फर्केर हेर्दा नेपाली लिंकले कोरोनाका समाचारहरुलाई प्राथमिकताको रुपमा छापेको पाइयो । बेलायतमा रहेका नेपालीहरुमा भएको कोरोना संक्रमण र मृत्युबारे जानकारी पाउन मैले नेपाली लिंक नै हेर्ने गर्थें ।

अहिले त परिस्थिति बदलिएको छ । समाचारमा खोपको कुराले प्राथमिकता पाउन थालेको छ । त्यो सन्दर्भमा पनि यो अनलाइनले ती समाचारहरुलाई समय र पाठकको रुचि अनुसार छाप्ने गरेको छ ।

त्यस्तै गैरआवासीय नेपालीको नागरिकता सम्बन्धी विषयका समाचारहरुलाई पनि नेपाली लिंकले प्राथमिकताका साथ छाप्ने गरेको छ । विदेशमा बस्ने धेरै नेपालीहरुका लागि त्यो एउटा गम्भीर चासोको विषय हो । त्यसैले ती विषयहरुमा लेखिएका समाचारहरु लोकप्रिय पनि भएका छन् ।

बेलायतमा नेपालीहरु सम्वद्ध भएका राजनैतिक, सामाजिक, धार्मिक र साहित्यिक संघसंस्थाहरुले गरेका कामहरुको समाचारलाई पनि नेपाली लिंकले खोजी खोजी छाप्ने गरेको पाएं । त्यस्ता समाचारहरुको प्रकाशनले समाजसेवामा लागेका मानिसहरुलाई प्रोत्साहित गर्ने गर्दछ, त्यो प्रशंसनीय कार्य हो ।

नेपाली लिंकको अर्को एउटा विशेषता पनि छ । कुनै पनि नकारात्मक कुराको बारेमा समाचार प्रस्तुत गर्दा समाचारको उद्देश्य यथार्थलाई पर्दाफास गर्नुका साथै ती विषयहरुमा सुधार आओस् भन्ने भित्री मनसाय रहेको देखिन्छ । त्यसले नेपाली लिंकका पत्रकारहरुले सामाजिक जिम्मेवारी महशुस गरेर समाचार बनाउने गरेको देखिन्छ । त्यो सोच प्रशंसनीय छ ।

नेपाली लिंकले छाप्ने समाचारहरु आफ्नो प्रष्ट दृष्टिकोणसहित छापिएका हुन्छन् । सामान्यतयाः अनलाइन पत्रिकाहरुले आफूसंग आएका समाचारहरुमा धेरै भर पर्ने गरेको पाइन्छ । तर नेपाली लिंकले समाचार खोज्छ, निकाल्छ र छाप्छ । त्यस्तै विचारात्मक लेखहरु पनि खोजेर छाप्ने गर्दछ । बेलायतका लेखकहरुलाई लेख्नका लागि घचघचाइरहन्छ ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीको समयमा नेपाली लिंकले राजदूतावासका गतिविधिहरुलाई निरन्तर रुपमा छाप्दै आएको थियो । त्यस्तै कला, साहित्य, संगीत र खेलकुद सम्बन्धी समाचारहरुलाई पनि पत्रिकाले उत्तिकै महत्वका साथ प्रकाशित गरेको थियो । त्यस्ता समाचारहरुले प्रवासमा बस्नेहरुमा एउटा सद्भावको वातावरण सिर्जना गरेको थियो ।

मलाई यो अनलाइन पत्रिकाको अर्को मन परेको पक्ष भनेको ले–आउट हो । यसको ले–आउट स्पष्ट छ, आकर्षक छ । त्यस्तै यसमा प्रकाशित हुने लेख र अन्तरवार्ता पनि समय सान्दर्भिक र विचारपरक छन् ।

अन्तमा नेपाली लिंकका प्रधान सम्पादक नवीन पोखरेल, सम्पादक ध्रुवराज अर्याल र मल्टिमिडिया सम्पादक नरेन्द्र बस्नेतलाई पत्रिकाको वाषिकोत्सवको उपलक्ष्यमा हार्दिक बधाई छ । आगामी दिनमा नेपाली लिंक अझै राम्रो हुंदै जाओस् र यसको चर्चा फैलिइरहोस् भन्ने शुभकामना दिन चाहन्छु । तपाईंहरु पत्रकारिताको विश्वव्यापी मान्यता अंगालेर सत्थ तथ्य र सन्तुलित समाचार प्रकाशन गर्नु होला भन्ने मेरो सुझाव छ ।

अहिले बेलायतमा पत्रकार भन्दै अनलाइन दर्ता गर्ने र आफू अनुकुल मिसन पत्रकारिता गर्ने प्रवृत्ति फस्टाएको छ । यस्तो अभ्यासबाट तपाईंहरु टाढै रहनुभए यसको प्रगति अझ उचो हुनेछ ।

(सापकोटा लन्डनस्थित एकजना चर्चित साहित्यकार हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू