शनिबार, साउन १२, २०८१
06:25 | ११:१०

महामारीमा पुर्‍याएको योगदानले जीत रानाभाटलाई दिलायो बीबीसी रेडियोको कदर

नेपाली लिङ्क अप्रिल १३, २०२१
लन्डन । रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी (आरजीएनएस) अध्यक्ष एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले कोरोना महामारीका बेला स्थानीय समुदायमा पुरयाएको योगदान बीबीसी रेडियो लन्डनबाट कदर भएको छ ।
लकडाउनको पहिलो वर्ष पूरा भएको सन्दर्भमा बीबीसी रेडियोको ‘मेक अ डिफरेन्स् हिरो’ नामक शोका लागि उनी मनोनयनमा परेका हुन् ।
ग्रीनवीच बरो काउन्सिल र स्थानीय सांसदको संयुक्त सिफारिशमा शोका लागि मनोनित रानाभाटसँग बीबीसी रेडियोले मंगलबार साँझ अन्तर्वाता समेत प्रकाशित गरेको थियो ।
महामारीका बेला नेपाली समुदायमा संचालित विभिन्न राहत तथा सहयोग कार्यक्रममा पुर्याएको योगदानको कदरस्वरूप आफू ‘मेक अ डिफरेन्स् हिरो’ शोको मनोनयनमा परेको रानाभाटले सुनाए । उक्त शोका लागि हरेक बरोबाट एकएक अभियन्ता छनोट हुँदा ग्रीनवीचबाट आफू परेको उनले जानकारी दिए ।
लकडाउनका बेला एनआरएनए यूकेको हेल्पडेस्क संयोजकका रुपमा खटिएका उनले आरजीएनएसको कोभिड १९ तथा जनगणना सचेतना अभियानको पनि संयोजककै रुपमा भूमिका निभाएका छन् ।
नेपाली वेल्फेयर सोसाइटीमार्फत् नेपालका २२ जिल्लाका २ हजार परिवारलाई राहत वितरण गर्ने अभियानमा पनि उनको सक्रिय संलग्नता थियो ।
आरजीएनएसका नवनिर्वाचित अध्यक्ष रानाभाट एनआरएनए यूकेमा सचिव छन् । सन् २००६ मा बेलायत आएका उनले पछिल्लो ६ वर्षदेखि साउथ इष्ट लन्डनका ग्रीनवीच र बेक्सली बरोसँग पनि निकट रहेर सक्रियतापूर्वक सामाजिक काम गर्दै आएका छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू