शनिबार, साउन १२, २०८१
05:40 | १०:२५

गैरआवासीय नेपाली ऐन छिट्टै लागू हुने सरकारी आश्वासन

नेपाली लिङ्क अप्रिल ११, २०२१

लन्डन । नेपाली नागरिकता निरन्तरता र प्रस्तावित गैर आवासीय नेपाली ऐनबारे सरकारी अधिकारीहरुसंग अन्तरक्रिया भएको छ । नेपाल सरकारले गैर आवासीय नागरिकता ऐन तयार गरि सम्बन्धनका लागि संसदमा दर्ता भइसकेको अवस्थामा प्रवासी नेपाली एकता मञ्च बेलायतले नेपाल सरकारका आधिकारिक ब्यक्तित्वसंग अन्तरक्रिया गरेको हो ।

आइतबार ११ अप्रिलमा सम्पन्न अन्तरक्रियामा 
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ, कानून न्याय तथा मानव अधिकार समितिका सभापति कृष्ण भक्त पोख्रेल, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव हेमराज शर्मा तथा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ प्रमुख अतिथी एवं विशेष अतिथीका रूपमा उपस्थित थिए ।

कार्यक्रममा गैर आवासीय नेपाली ऐन बनाउन शुरु देखि नै खटिरहेका पूर्व कानूनमन्त्री शेर बहादुर तामाङले गैर आवासीय नेपालीप्रति सम्मान व्यक्त गर्दै ऐनका लागि कुनै पनि बाधा नभएको बताए । उनले कहीं कतै बाधा भए सुझाव दिन अनुरोध पनि गरे ।

पछिल्लो समयमा सरकारकै तर्फबाट ऐन बनाउने काममा लागेका कानूनबिद कृष्ण भक्त पोख्रेलले पनि गैर आवासीय नागरिकलाई आर्थिक, सांस्कृतिक 
एवं सामाजिक अधिकार सहितको नागरिकता दिइएको स्मरण गरे ।

एनआरएनए केन्द्रिय महासचिव हेमराज शर्माले सांसदमा दर्ता भएको ऐनबारे बुंदागत रूपमा ब्याख्या गर्दै आफ्नो सुझाव दिए ।

त्यसैगरि, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले पर्वतारोही निर्मल पूर्जा र नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी गौरिका सिंहलाई सम्झंदै नेपालले पाठ सिक्नु पर्ने बताइन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले नेपाल सरकारले आगामी बजेट भाषणका बेला उक्त ऐन पारित गर्ने भएकाले गैर आवासीय नेपालीलाई आफ्ना धारणा तथा असन्तुष्टि भए शेरबहादुर तामाङ तथा कृष्ण भक्त पोख्रेललाई जानकारी दिन अनुरोध गर्दै सबै गैर आवासीयलाई ढुक्क रहन आग्रह गरे ।

कार्यक्रममा अमेरिका, जापान, हङकङ, इजरायल, 
अष्ट्रेलिया, यूएई, बेल्जियम, पोर्चुगल, अष्ट्रिया, डेन्मार्क, पोल्यान्ड, चेक रिपब्लिक आदि देशबाट पनि एनआरएनए राष्ट्रिय समिति अध्यक्ष एवम् प्रवासी नेपाली एकता मञ्चका प्रमुखहरु सहभागी थिए । उनीहरुले आआफ्ना सुझावहरु दिए । कार्यक्रममा बेलायतमा रहेका सामाजिक अगुवाहरुको पनि उपस्थिति थियो ।

प्रवासी एकता मञ्च बेलायतका अध्यक्ष भक्त गुरुङले अध्यक्षता गरेको सो कार्यक्रमका लागि महासचिव सुरेश जङ्ग साहले कार्यक्रमको रुपरेखा प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रमका संयोजक एवं उपमहासचिव डा मुकुन्द बस्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

‘एक पटकको नेपाली सदाका लागि नेपाली नागरिक’ भन्ने मुल नारा बोकेर हिंडेका गैरआवसीय नेपालीहरु प्रस्तावित ऐनले संशकित भइरहेका बेला कार्यक्रमले केही राहत दिएको आयोजकको दाबी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू