शनिबार, साउन १२, २०८१
02:18 | ०७:०३

राजकुमार फिलिपको अन्त्येष्टिमा ३० जना मात्रै सहभागी हुने

रासस-एएनआई अप्रिल ११, २०२१

लन्डन, २९ चैत– बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ ।

बेलायतको राजदरबार बकिङ्घमका प्रवक्ताले ९९ वर्षको उमेरमा स्वर्गारोहण भएका फिलिपको अप्रिल १७ मा अन्त्येष्टि गर्ने निर्णय भएको शनिबार जानकारी दिएका छन् ।

गत शुक्रबार नै उनको निधन भएपनि संवैधानिक प्रक्रियामार्फत अन्त्येष्टि गर्नु पर्ने भएकाले ढिला हुने भएको अधिकारीहरुले बताएका छन् ।

स्थानीय समय अनुसार अप्रिल १७ तारिख दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा उनको अन्त्येष्टि सुरु गरिने तय भएको छ ।

कोरोनाभाइरस महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने भएको छ भने अत्यावश्यक ठानिएका ३० जना व्यक्तिलाई मात्रै सहभागी गराइने छ ।

फिलिपको निधनमा देशभरी आठ दिन शोक मनाउने निर्णय भएको सरकारले जनाएको छ । शोक मनाउने समयमा देशभरी राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ भने राजदरबारमा पुरै झण्डा झुकाइने छ ।

उनको निधनपछि बेलायती पूर्व युवराज ह्यारी पनि केही समयका लागि दरबार फर्किने भएका छन् । राजपरिवारको सम्पूर्ण जिम्मेवारी त्यागेर अमेरिकामा बस्दै आएका ह्यारी आफ्नी श्रीमती मेघन बेगर नै बेलायत आउन लागेका हुन् ।

मेघन गर्भवती भएकाले यात्रा नगर्न चिकित्सकहरुले सुझाव दिएका थिए ।

दिवंगत फिलिपको सम्मानमा शनिबार देशभर सलामी दिइएको थियो । उनलाई श्रद्धान्जली दिन दरबारमा फूल नचढाउन पनि शाही अधिकारीहरुले आग्रह गरेका छन् । बरु उनको सम्झनामा सामाजिक कार्यमा योगदान गर्न शाही सदस्यहरुले प्रोत्साहन गरेका छन् ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घमले घोषणा गरेको थियो ।

सन् १९४७ मा एलिजावेथसँग बिहे गरेका राजकुमार फिलिपले बेलायती महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन बिताएको राजदरबारले जनाएको छ । उनीहरूको विवाह भएको पाँच वर्षपछि मात्र एलिजावेथ महारानी बनेकी थिइन् ।

‘द ड्यूक अफ एडिनबरा’को उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि निवासमा लगिएको थियो । राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनाति–पनातिनीहरू छन् । राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’ मा सन् १९२१ जुन १० मा जन्मिएका थिए । उनी हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा थिए ।

शोकको यस घडीमा विश्व समुदायले उनलाई लामो समय बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा कुशल नेतृत्व गरेका व्यक्तिका रुपमा स्मरण गरेका छन ।

बेलायतकी महारानीसँग सात दशकभन्दा लामो बैबाहिक जीवनसँगै विताएका राजकुमार फिलिपले पछिल्ला केही वर्ष यता उमेरका कारण राजपरिवार सदस्यका रूपमा औपचारिक जिम्मेवारी हेर्न छोडिदिएका थिए ।

उनले रोयल नेभी र बेलायतको इतिहासमा नै लामो समय दशकौँसम्म राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेकी महारानी एलिजावेथ द्वितीयको पतिका रूपमा विश्वभरबाट माया पाएका छन् । महारानीका पतिको रूपमा फिलिपलाई कुनै पनि संवैधानिक हैसियत त थिएन । तर राजसंस्थाको नजिक उनीभन्दा अरू कोही थिएन ।

लन्डनस्थित वेस्टमिन्स्टर एबीमा सन् १९४७ नोभेम्बर २० का दिन उनीहरूको विवाह भएको थियो । यसलाई बेलायती पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलले युद्धपछिको कठिन समयमा बेलायतमा देखिएको एउटा रङ्गीन चमकको रूपमा उल्लेख गरेका थिए ।

सन् १९५२ फेब्रुअरीमा फिलिप र एलिजाबेथ केन्या भ्रमणमा रहेको बेला बेलायतका राजा जर्ज छैटौँको निधन भएको थियो । त्यसपछि बेलायतकी महारानी बनेकी आफ्नी पत्नी एलिजावेथलाई राजकुमार फिलिपको जीवनपर्यन्त दरिलो साथ थियो ।

बेलायतकी महारानीका रूपमा आफ्नो राज्याभिषेकलगत्तै महारानी एलिजावेथद्वारा जारी गरिएको घोषणामा फिलिपलाई रानीपछिको दोस्रो हैसियत प्रदान गरिएको थियो । उनको विशेष रुचि युवाको कल्याण तथा वन्यजन्तु र प्रकृति संरक्षणमा थियो । फिलिपलाई प्रतिवद्ध र आत्मनिर्भर व्यक्तिका रूपमा हेरिन्थ्यो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू